Skip This
राजनीतिक संस्कृतिको विकृतीकरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
परशुराम रम्तेल
२o८१ कार्तिक ३० शुक्रबार o९:११:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीतिक संस्कृतिको विकृतीकरण

Read Time : > 5 मिनेट
परशुराम रम्तेल
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार o९:११:oo

नेपाली समाजमा अराजकता, द्वेष, ईष्या, असामाजिक र अवाञ्छित क्रियाकलापमा बढोत्तरी भएको देखिनु राजनीतिक संस्कृतिको भ्रष्टीकरण हो

राजनीतिसँग सम्बन्धित विषयको सांस्कृतिक पक्षलाई राजनीतिक संस्कृति भन्ने गरिन्छ । समाजमा विद्यमान विचार, दृष्टिकोण, सिद्धान्त, भावना, आचरण, रुचि, संस्कार, चाडपर्व, मूल्य–मान्यता आदि सबैको कुल योगबाट संस्कृति निर्माण हुन्छ । कुनै पनि समाजको संस्कृति त्यस समाजको समग्र पक्षसँग अन्तरसम्बन्धित र अन्तरघुलित हुँदै विकास हुन्छ । राजनीतिक संस्कृति सामाजिक संस्कृतिको अभिन्न अंग हो । आल्मन्ड र पावेलले राजनीतिक संस्कृतिको सवालमा राजनीतिक संस्कार राजनीतिक व्यवस्थाभित्रका व्यक्तिहरूको राजनीतिप्रतिको मनोवृत्ति र उन्मुखीकरण हो भनेका छन् । यतिवेला नेपालको राजनीतिक संस्कृति तीव्र गतिमा विकृतीकरणको दिशामा अघि बढिरहेको छ । नेपालको राजनीतिमा नैतिकता र मूल्य–मान्यता तथा असल संस्कार र संस्कृतिको खडेरी पर्दै गएको सन्दर्भमा राजनीतिक संस्कृतिबारे बहस गर्नु सान्दर्भिक देखिन्छ । 

हरेक समाजमा स्थापित भई विकास हुने संस्कृति त्यस समाजको सामाजिक–आर्थिक संरचनाको प्रतिबिम्ब हो । मानव जातिले भौतिक र मानसिक श्रमबाट निर्मित सबै खालका मूल्य–मान्यता र संस्कार संस्कृतिभित्र पर्छन् । सामान्य संस्कृति समाजको सामाजिक र आर्थिक अवस्थाको प्रतिबिम्ब हो भने राजनीतिक संस्कृति पनि सामाजिक संस्कृतिकै प्रतिबिम्ब हो । राजनीतिक संस्कार र संस्कृतिको सम्बन्ध मानवचेतना, सामाजिक परिवेशसहितको संस्कृति र राजनीतिक प्रणालीसँग हुन्छ । नेपाली समाजको सन्दर्भमा धेरै लामो समयदेखि सामन्तवादी राज्यप्रणाली र संस्कृतिको राज हुँदै आएको हुनाले सिंगो राजनीतिक, आर्थिक र सामाजिक प्रणालीभित्र पनि सामन्तवादी संस्कार र संस्कृति हाबी हुन पुगेको देखिन्छ । परिणामतः हाल नेपाली समाजमा अराजकता, द्वेष, ईष्र्या, असामाजिक र अवाञ्छित क्रियाकलापमा बढोत्तरी हुँदै गएको छ । त्यसैगरी नीतिहरूको पनि सर्वोत्तम नीतिका रूपमा रहेको राजनीतिमा पनि बेथिति, अराजकता, भ्रष्टाचार, अनैतिकता, विकृति, विसंगति, अव्यवस्था आदि झ्यांगिँदै गएको छ । त्यसकारण, नेपालको राजनीतिक संस्कृतिलाई नसपारी सामाजिक विकृति, विभेद र विसंगतिको अन्त्य असम्भव छ । 

सामन्तवादी संस्कृतिकै निरन्तरता : नेपाली समाजमा लामो समयदेखि सामन्ती संस्कृतिको बोलवाला रहँदै आयो । वर्गीय समाजमा संस्कृति पनि वर्गीय हुने गर्छ । शासनसत्तामा जुन वर्गको नेतृत्व र राज्यसंयन्त्र छ, त्यही वर्ग र समुदायको संस्कृति स्थापित हुन्छ । सामन्ती संस्कृतिले सामन्तवर्गको स्वार्थ र हितलाई, शासक वर्ग र समुदायको स्वार्थलाई केन्द्रमा राखेर त्यहीअनुरूप मूल्य–मान्यता, संस्कार, प्रचलन र संस्कृति निर्माण गर्छ । सरल भाषामा भन्नुपर्दा ‘म खाऊँ, मै लाऊँ र सुखसयल वा मोज गरौँ’ भन्ने संस्कृति नै सामन्तवादी संस्कृति हो । यसले श्रमजीवी जनता र उत्पीडित समुदायको मूल्य–मान्यतालाई कहिल्यै प्राथमिकतामा राख्दैन । समूह वा समुदाय प्रधान नभएर व्यक्ति प्रधान, शासकवर्ग प्रधान, शासकीय परिवारवरिपरि सुख, सुविधा, सेवा लिनु–दिनु र जनतालाई बेवास्ता गर्नु यसको मुख्य विशेषता रहन्छ । नेपालमा लामो संघर्षबाट, राजनीतिक दल र जनताको संयुक्त आन्दोलनबाट सामन्तवादी राज्य प्रणाली अन्त्य गरियो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश पनि गर्‍यो । तर, संस्कृतिको क्षेत्रमा भने अझै पनि सामन्तवादी संस्कृतिकै निरन्तरता देखिन्छ । मुलुकमा संघीयता र गणतन्त्र आए पनि एकातिर यो राम्रोसँग संस्थागत हुन सकिरहेको छैन भने अर्कातिर सांस्कृतिक रूपमा राम्रो राजनीतिक संस्कृतिको विकास पनि हुन सकेको छैन । जनवादी संस्कृति त परै जाओस्, पुँजीवादी संस्कृतिको पनि विकास हुन सकेन । 

विगतकै शासन प्रणालीमा जस्तै आफ्नो परिवार, नातागोता, इष्टमित्र, आफ्नै गुट वा स्वार्थ समूह, चाकरी, चाप्लुसी, लेनदेन, भनसुनजस्ता पुरानै संस्कृतिमा रमाउने, घुम्ने र त्यसैमा लिप्त हुने स्थिति अहिले पनि देखिन्छ । राजनीतिक दलहरूले राजकीय पदहरूमा मनोनयन गर्दा आफ्नै गुटका, आफ्नै नातेदार, आफैँलाई राम्रो मान्ने, भनेको मान्ने, स्वकीय सचिव बनाउँदा आफ्नै परिवारका, मन्त्री वा सांसद बनाउँदा पनि त्यही प्रवृत्ति दोहोर्‍याउने गरेको देखिन्छ । यो कुनै पनि हिसाबले राजनीतिक संस्कृति हुन सक्दैन । राजनीतिक संस्कृतिले सबै वर्ग, जाति, लिंग र समुदायलाई सम्मान गर्छ, विभेद गर्दैन, सबैलाई समान अवसर प्रदान गर्छ । समानुपातिक सहभागिता सुनिश्चित गर्छ । तर, अहिले जुन पार्टी वा व्यक्ति सत्ता या सरकारमा गए पनि वा शक्तिमा पुगे पनि पुरानै खालका प्रवृत्ति व्यक्तिवादी, सत्तावादी, नातावादी, आर्थिक चलखेल, नश्लवादी र विभेदकारीजस्ता गलत संस्कृति हाबी हुन पुगेको देखिन्छ । यसो हुनुको मुख्य कारण एकातिर राजनीतिक दल र तिनका नेतृत्व पंक्तिमा लोकतान्त्रीकरण वा जनवादीकरण नहुनु हो भने अर्कातिर कार्यकर्ता पंक्ति र जनस्तरसम्मै दास मनोवृत्ति हाबी हुनु हो । विगतमा कांग्रेसको तुलनामा कम्युनिस्टमा यो प्रवृत्तिमा केही कमी देखिए पनि पछिल्लो चरणमा यस्ता क्रियाकलापमा दुवै शक्ति एक–अर्काबिच चिन्न नसकिने गरी उछिनपाछिनमा लागेको देखिन्छ । त्यसकारण यो गलत प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष आवश्यक छ ।

राम्राभन्दा पनि हाम्रा रोज्ने संस्कृति : सभ्य र सुसंस्कृति समाज निर्माणका लागि हाम्राभन्दा पनि राम्रा मानिसको आवश्यकता पर्छ । राम्रो, असल, अनुशासित, दक्ष, विज्ञता प्राप्त जनशक्ति उत्पादन र उचित विन्यासबाटै समाज र देशको विकास सम्भव हुन्छ । हाम्रो देशमा पछिल्लो चरणमा ‘व्यवस्था त परिवर्तन भयो । तर, अवस्था उस्तै छ’ भन्ने उक्ति बारम्बार सुनिन्छ । जुन राजनीतिक दलको सरकार आए पनि वा जो कार्यकारी प्रधानमन्त्री भए पनि राजनीतिक संस्कार र संस्कृति कमजोर भएका कारण भनाइ र गराइबिच ठुलो अन्तराल रहँदै आएको छ । पछिल्लो चरणमा राजनीतिमा लाग्नेहरू, राजनीतिक पार्टीमा आबद्ध हुने नेता वा कार्यकर्ता पंक्ति खत्तम हुन्छन्, भ्रष्ट हुन्छन्, बेइमान हुन्छन्, यिनैले देशलाई बर्बाद पारेका हुन् जस्ता गलत भाष्य निर्माण गरिन खोजिँदै छ । वास्तवमा हरेक देशमा धेरै र महत्वपूर्ण निर्णय राजनीतिक प्रणाली र प्रक्रियाबाटै हुने गर्छन् । हरेक राजनीतिक पार्टीमा राम्रा मान्छे पनि हुन्छन् र खराब मान्छे पनि हुने गर्छन् । समाजमा पनि राम्रा र खराब दुवैथरी मानिस हुने गर्छन् । कुनै राजनीतिक पार्टीमा नलागेका मानिस पनि दुवैथरी हुने गर्छन् । त्यसकारण सबैथरी प्रवृत्ति भएकालाई एउटै डालामा हालेर सत्तोसराप वा प्रशंसा गर्नुभन्दा पनि असल र इमानदार प्रवृत्तिलाई प्रोत्साहित गर्दै पुरस्कृत गर्ने तथा खराब र बेइमान प्रवृत्तिलाई निरुत्साहित गर्दै दण्डित गर्ने नीति र कानुन राज्य र राजनीतिक दलहरूले अवलम्बन गर्नुपर्छ । 

राजनीति र राजनीतिक प्रक्रियाले नै व्यक्ति, समाज, कानुन, आर्थिक प्रणाली, संस्कार र संस्कृति आदि सबैलाई निर्धारण गर्दै दिशानिर्देश गर्ने हुनाले राजनीतिक प्रणाली र राजनीतिक संस्कृतिमा रूपान्तरण अत्यावश्यक हुन्छ । समाजलाई विशुद्ध, सुसंस्कृत, सामाजिक, सहिष्णु, सहयोगी, समतामूलक, भ्रष्टाचारमुक्त, शिक्षित, सभ्य, विकसित र विभेदरहित बनाउन पनि राजनीतिक संस्कृतिलाई नै समृद्ध बनाउन जरुरी छ । व्यक्ति, समाज र राजनीतिक संस्कृतिबिच अभिन्न र अन्योन्याश्रित सम्बन्ध हुन्छ । व्यक्ति वा संस्कृति मात्रै सभ्य भएर पुग्दैन, सिंगो समाज र राजनीतिक संस्कृति सभ्य र विकसित नभई राज्यको पूर्ण विकास असम्भव हुन्छ । तसर्थ, राज्यले कडा कानुन बनाएर र राजनीतिक दल र गैरराजनीतिक संघ, संस्थाले सुसंस्कृत नीति र आचारसंहिताको विकास गरी प्रभावकारी कार्यान्वयन गरेर मात्रै हाम्रा भन्दा पनि राम्रालाई छनोट, प्रोत्साहित र विकास गर्ने संस्कृतिको निर्माण हुन सक्छ ।  

संकीर्ण राजनीतिक संस्कृति : नेपालको राजनीतिक संस्कृति निकै कमजोर र संकीर्ण छ । राजनीतिक संस्कृतिलाई आनुभविक विश्वास, अभिरुचि, सामाजिक संस्कृति, मूल्य–मान्यता आदि विभिन्न तत्वले प्रभाव पार्छन् । निकै लामो समयदेखि नेपाली समाज सामन्तवादी संस्कृतिबाट अभ्यस्त हुँदै आएको हुनाले पनि हाम्रो संस्कृति असाध्यै संकीर्ण छ । समाजको सांस्कृतिक पक्षको प्रत्यक्ष र सर्वव्यापी प्रभाव राजनीतिक संस्कृतिमा परेका कारण नेताहरू जतिसुकै ठुला भए पनि तिनको बोलीचाली र व्यवहारमा संकीर्णता, असहिष्णुता, गालीगलोज, लाञ्छना, घोचपेचजस्ता अराजनीतिक र अराजक अभिव्यक्ति आउँछन् । देशका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक पार्टीका अध्यक्ष वा सभापति, मन्त्री, मुख्यसचिव वा जतिसुकै जिम्मेवार पदमा आसिन भएका व्यक्तिले पनि सजिलै अर्को आफूसरहको जिम्मेवार व्यक्तिलाई असामाजिक, अराजनीतिक र असभ्य तरिकाबाट अभिव्यक्ति दिनु भनेको राजनीतिक संस्कृतिको अभाव हुनु हो । त्यसैगरी, एउटै अपराध वा मुद्दामा आफ्नो दल वा आफ्नो नजिकका वा गठबन्धन वा स्वार्थ समूहमा रहेका मानिसलाई उन्मुक्ति दिनु र अर्को दल वा आफ्नो मन नपरेका, स्वार्थ समूहमा रहेकालाई मुद्दा लगाउनु पनि विकृत संस्कृतिकै उपज हो । आफूलाई मुलुककै वैकल्पिक शक्ति हुँ भन्ने, सुशासनको नारा दिने तर आफ्नो पार्टीका नेतामाथि कुनै बेथिति र विकृति–विसंगतिको विषय उठ्यो वा मुद्दा पर्‍यो भने सडक वा न्यायालयअगाडि नाराजुलुसमा उत्रनु पनि राजनीतिक विकृतिकै भद्दा स्वरूप हो । यी तमाम विकृति र विसंगति नेपाली समाजमा विद्यमान छन्, यो सबै खराब प्रवृत्तिलाई राजनीतिक बेथिति र हरेक क्षेत्रमा भ्रष्टाचार गर्ने संस्कृतिकै कारण राजनीतिक संस्कृति दिनानुदिन नाजुक हुँदै गएको छ । त्यसकारण राजनीतिक प्रणालीभित्रको राजनीतिक संस्कृतिको रूपान्तरण आजको प्रमुख एजेन्डा बन्न आवश्यक देखिन्छ । 

सकारात्मक राजनीतिक संस्कृतिको विकास : राजनीतिले नै देश र समाजलाई दिशानिर्देश गर्ने हुनाले राजनीतिक संस्कृतिमा विकास र समृद्धीकरण गर्न जरुरी देखिन्छ । हरेक विषयलाई सकारात्मक ढंगले सोच्नु, ग्रहण गर्नु र सोहीअनुसारको व्यवहार गर्नाले समाजलाई अग्रगमन र विकासको दिशामा लैजान सकिन्छ । हामीले जहिले पनि सकारात्मक सम्भावनाको खोजी गरिरहनुपर्छ । ‘हाम्रो देश खत्तम छ, राजनीतिक पार्टीहरू खत्तम छन्, नेताहरू खत्तम छन्, देशमा केही गर्न सकिँदैन, त्यसकारण विदेश जानुपर्छ’ भन्ने लहर अहिले युवापुस्तामा चलेको छ । राष्ट्रियता, आत्मनिर्भरता, रोजगारी सिर्जना र विकास निर्माण वा समग्र देश निर्माण जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि हाम्रो देश नेपाललाई हामी सबै नेपाली मिलेर नै बनाउने हो । राजनीतिक पार्टीका केही नेता खराब र भ्रष्ट होलान् । तर, सबै नेता उस्तै छैनन्, समाजमा सबै मानिस खराब छैनन् र सबै असल पनि छैनन् । त्यसकारण नकारात्मक सोच र प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष गर्दै सकारात्मक सोच र पक्षलाई ग्रहण गर्दै विकृतीकरणको दिशामा अघि बढिरहेको राजनीतिक संस्कृतिलाई रूपान्तरणको दिशामा लैजान आवश्यक छ । युवापुस्ता समाजको सबैभन्दा अग्रगामी सोच भएका मजबुत शक्ति हुन् । समाजको परिवर्तन र रूपान्तरणमा प्रभाव पार्ने तत्वहरूको सूक्ष्म ढंगले अध्ययन गर्दै मुख्यतः सबै राजनीतिक पार्टीमा क्रियाशील युवापुस्ताले विशेष पहलकदमी लिएर राजनीतिमा झ्यांगिँदै गएको राजनीतिक विकृतीकरण र भ्रष्टीकरणविरुद्ध एकताबद्ध जेहाद छेड्दै सकारात्मक र विकसित राजनीतिक संस्कृतिको विकास गर्न पहलकदमी लिन अत्यावश्यक भएको छ । 

(रम्तेल संविधानसभा सदस्य तथा अनुसन्धाता हुन्)