१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २४ शनिबार
  • Tuesday, 12 November, 2024
२o८१ कार्तिक २४ शनिबार १९:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सभापति लामिछानेविरुद्धको कारबाही निकृष्ट कृत्य : रास्वपा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २४ शनिबार १९:o५:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्धको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै भर्त्सना गरेको छ। केन्द्रीय समितिको आज बसेको बैठकले सभापति लामिछानेविरुद्धको कारबाही सत्तारूढ राजनीतिक दलहरूको रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन षड्यन्त्र भएको ठहर गरेकाे छ। 

केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरू 

१. सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भर्त्सना गर्दछ। यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ।

संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नं. ४४९ मा सहकारी संस्थाबाट गोरखा मिडिया प्रा.लि.मा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए तापनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न हो भन्ने प्रस्ट देखिन्छ।

कुनै वेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्दत छन्। राज्यको यस्तो स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासनविपरीत छ। रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह गर्दछ। तसर्थ, रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आमनेपाली जनतामा हार्दिक आह्वान गर्ने।

२. मिति २०८० माघमा राष्ट्रिय स्वतन्त्र पार्टीले तयार पारी सम्माननीय प्रधानमन्त्रीसमेतलाई बुझाइएको सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय र योजना विषयक प्रतिवेदनका सिफारिसहरूलाई आधार मान्दै सहकारी, लघुवित्त एवं मिटरब्याजपीडितहरूको सरोकारसम्बन्धी तृणमूल अभियानलाई गति दिन १ महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरूले आआफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाएर पीडितहरूको सरोकारबमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरूको अगुवाइ गर्ने।

३. आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध आमजनसमुदायमा जागृति फैलाउने अभियान सञ्चालन गर्ने।