चाडपर्वलक्षित सुपथ पसलबाट ४७ करोडको कारोबार

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

चाडपर्वमा हुन सक्ने कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न सञ्चालन गरिएको सुपथ पसलमा सामान्य अवधिको तुलनामा तीन–चार गुणा बढी बिक्री भएको संस्थानहरूको दाबी 

- साल्ट ट्रेडिङद्वारा सात करोड ४८ लाखको कारोबार, तेल र चिनी धेरै बिक्री
- खाद्य कम्पनीद्वारा ४० करोडको खाद्यान्न बिक्री गर्दा डेढ करोड छुट

चाडपर्वमा खाद्यान्न खरिदमा उपभोक्तालाई सहुलियत दिने गरी सञ्चालन गरिएको सुपथ पसलमा ४७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

देशभर सुपथ पसल सञ्चालन गरेका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारसम्म सो कारोबार गरेका हुन् । साल्ट ट्रेडिङले सात करोड ४८ लाख र खाद्य कम्पनीले ४० करोड रुपैयाँबराबरको खाद्यान्न बिक्री गरेको जनाएका छन् । खाद्य कम्पनीले ३ असोजदेखि सुरु गरेको सुपथ पसल १ माघसम्म सञ्चालन गर्ने जनाएको छ भने साल्ट ट्रेडिङले छठसम्मका लागि ७ असोजदेखि सुपथ पसल सुरु गरेको थियो ।

साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले अन्य समयको तुलनामा सुपथ पसलमा उपभोक्ताको उत्साहजनक उपस्थिति दिएको बताए । ‘सुपथ पसलमा छुटसहित खाद्यान्न बिक्री गरिएकाले तुलनात्मक रूपमा धेरै कारोबार भयो,’ उनले भने, ‘साल्ट ट्रेडिङले देशभर ३८ भन्दा बढी स्थानमा राखेको सुपथ पसलबाट तेल र चिनीको बिक्री धेरै भयो ।’ उनका अनुसार अन्य दैनिक उपभोग्य वस्तुहरूको बिक्री पनि सामान्य अवधिको तुलनामा तीन–चार गुणा बढी भएको छ ।

खाद्य कम्पनीकी बिक्री प्रबन्धक अम्बिका पौडेलले छठसम्मको कारोबारबाट एक करोड ५५ लाख रुपैयाँबराबरको छुट मूल्यका खाद्यान्न बिक्री गरेको जानकारी दिइन् । सबैभन्दा धेरै ३० हजार क्विन्टल चामल बिक्री भइसकेको उनले जानकारी दिइन् । खाद्यले ५० हजार क्विन्टल चामल सुपथ मूल्यमा बिक्री गर्ने लक्ष्य राखेको छ । त्यस्तै, सात हजार पाँच सय लिटर तेल र एक हजार किलो दाल तथा गेडागुडी बिक्री भएको उनले बताइन् । खाद्य कम्पनीले ६३ स्थानमा सुपथ पसल सञ्चालन गरेको छ ।

पाँच करोडभन्दा बढी मूल्यका खसी–बोका र च्यांग्रा बिक्री भएको उनले जानकारी दिइन् । कम्पनीले तीन सय च्यांग्रा र १५ सय खसी–बोका ल्याएर बिक्री गरेको जनाएको छ । प्रतिकिलो १० रुपैयाँ छुट दिएर जिउँदो खसी–बोका प्रतिकिलो ६ सय ६० रुपैयाँ र च्यांग्रा प्रतिकिलो १२ सय २० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । 

चाडपर्वमा छुट मूल्यमा खाद्यान्न बिक्री गर्न सरकारले साल्ट ट्रेडिङलाई ८० लाख र खाद्य कम्पनीलाई तीन करोड रुपैयाँ अनुदान छुट्याएको थियो । सुपथ पसलमा चामल प्रतिकेजी पाँच रुपैयाँ तथा तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णालीको सिमी–गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको थियो । चिनीमा पनि प्रतिकिलो पाँच रुपैयाँ छुट राखिएको थियो ।

चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गर्दा कृत्रिम मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुग्ने गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘सरकारले बर्सेनि चाडपर्वको अवसर पारेर सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने गरेको छ । उपभोक्ता हितका दृष्टिकोणले यो सकारात्मक कदम हो,’ उनले भने, ‘आगामी वर्षमा पनि यो कामले निरन्तरता पाउनुपर्छ ।’
 

सुझावित समाचार