मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Thursday, 26 December, 2024
२o८१ कार्तिक २३ शुक्रबार ११:५९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

ट्रम्पको पुनरागमनले विश्व अर्थतन्त्रमा हलचल

रुसमा उत्साह, चीनमा निराशा, नयाँ उचाइमा डलर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार ११:५९:oo

अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ट ट्रम्पको विजयले विश्व अर्थतन्त्र तरंगित भएको छ । पुँजीपति ट्रम्पको पुनरागमलाई अमेरिकासँगै युरोप र एसियाका सेयर बजारले सकारात्मक प्रतिक्रिया दिएका छन् । कच्चा तेलको र सुनको भाउ भने खस्किएको छ । 

ट्रम्प ‘संरक्षणवादी नीति’ अख्तियार गर्छन् । उनले पहिलो कार्यकालमा सुरुवात गरेको ‘ट्यारिफ वार’ले विश्व व्यापार संगठनका प्रावधानलाई भत्काउने काम गरेको थियो । अमेरिकी कम्पनीहरूको रक्षा गर्ने नाममा अघिल्लो कार्यकालमा ट्रम्पले विभिन्न मुलुक विशेष गरी चीनसँग व्यापार युद्ध (ट्रेड वार) नै सुरु गरे । तर, नयाँ अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनलाई विश्वका इक्विटी बजारहरूले स्वागत गरेका छन् ।

ट्रम्पको पुनरागमनमा सबैभन्दा उत्साही बिटक्वाइन देखिन्छ । राष्ट्रपतिमा ट्रम्पको पुनरागमन निश्चित भएपछि ८ प्रतिशतले बढ्दा बिटक्वाइनको मूल्यले नयाँ कीर्तिमान कायम गर्न पुग्यो । बिटक्वाइनको मूल्य एकै दिन ६६ सय डलरभन्दा बढीले वृद्धि भएर ७६ हजार डलरनजिक पुगेको छ । अन्य क्रिप्टोमा पनि लगानीकर्ताको मनोबल उच्च देखिएको छ ।

अमेरिकालाई ‘विश्वको बिटक्वाइन महाशक्ति’ बनाउने ट्रम्पले बाचा पनि गरेका छन् । उनी विभिन्न क्रिप्टो कम्पनीमाथि कानुनी कारबाही चलाएको नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष गारी गेन्सलरप्रति खुसी छैनन् । उनले चुनावी अभियानका क्रममा गारीलाई बर्खास्त गर्ने बताइसकेका छन् । अघिल्लो महिना मात्रै आफ्नो प्रशासनले डिजिटल मुद्राअनुकूल नियमनको वातावरण मिलाउने र बाइडेन प्रशासनको क्रिप्टोमाथिको युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए । बिटक्वाइनमा ट्रम्पका चुनावी अभियन्ता इलोन मस्कको ठुलो लगानी छ । मस्क र उनको कम्पनी टेस्लाले सन् २०२१ मा बिटक्वाइनमा डेढ अर्ब अमेरिकी डलर लगानी गरेको थियो । 

अमेरिकाको सेयर बजारमा ‘स्मल–क्याप (थोरै पुँजी) कम्पनीहरूको कारोबार हुने ‘इन्डेक्सरसेल २००० इन्डेक्स’ले सबैभन्दा सकारात्मक प्रतिक्रिया जनाएको छ । यो इन्डेक्स ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो, जुन यसको दुई वर्षयताको सबैभन्दा ठूलो एक दिवसीय वृद्धि हो ।

‘हाम्रो प्लेटफर्मले असाधारण प्रतिक्रिया साक्षात्कार गरेको छ । दैनिक कारोबारको भोल्युममा सात गुणाले वृद्धि भयो । साइनअप गर्नेको संख्या ३० प्रतिशतले वृद्धि हुँदा दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा ५० प्रतिशतको उछाल देखियो । यसले ट्रम्पको जितप्रति लगानीकर्ताको उत्साहलाई नै प्रतिबिम्बित गर्छ,’ इकोनोमिक्स टाइम्सले अमेरिकी बजारमा भारतीय लगानीकर्तालाई सघाउने ‘इन्भेस्टमेन्ट प्लेटफर्म ‘भेस्टेड फाइनान्स’का सिइयो भिराम साहलाई उद्धृत गर्दै भनेको छ । ट्रम्पले आयातीत मालवस्तुमा उच्च महसुल लगाउँदा घरेलु कम्पनीहरू लाभान्वित हुने अपेक्षामा ‘स्मल क्याप’का लगानीकर्ता उत्साहित देखिएका हुन् ।

एसएन्डपी ५०० इन्डेक्समा २.५३ प्रतिशतको वृद्धि हुँदा एसएन्डपी ५०० बैंक इन्डेक्स सबैभन्दा बढी १०.६८ प्रतिशतले उचालिएको छ । अमेरिकाका ठुला कर्पोरेट क्षेत्र वेल्स फर्गाे, सिटी ग्रुप, बैंक अफ अमेरिकाले प्रि–मार्केट ट्रेडिङमा ८ प्रतिशतको वृद्धि साक्षात्कार गरे भने जेपिमोर्गान र मोर्गान स्ट्यान्लेको सेयरमा ७ प्रतिशतको वृद्धि भयो । डाउ जोन्स इन्डस्ट्रियल एभरेज ३.५७ प्रतिशत, एसएन्डपी साढे २ प्रतिशतभन्दा बढेर नास्डाक कम्पोजिट इन्डेक्स २.९५ प्रतिशतले बढेको छ ।

कति धनी छन् ट्रम्प ?

अमेरिकी पुँजीपति ट्रम्प फेरि एकपटक ह्वाइट हाउस प्रवेश गर्दै छन् । फोर्ब्स बिलिनियर रिपोर्टका अनुसार ट्रम्पसँग करिब ६.६ अर्ब डलरबराबरको सम्पत्ति छ । पहिलोपटक राष्ट्रपति निर्वाचन लड्ने घोषणा गर्दा सन् २०१६ मा ट्रम्पसँग ४.५ अर्ब डलर सम्पत्ति थियो ।

रुसमा उत्साह, चीनमा निराशा
युरोपेली बजार सामान्य रूपमा सकारात्मक देखिए । एसियाली मुलुक जापानको बेन्चमार्क निकेई २२५ इन्डेक्स (२.६ प्रतिशत)ले वृद्धि भयो । चिनियाँ इक्विटी बजारले भने भयमिश्रित प्रतिक्रिया जनाएको छ । मुख्यभूमि चीनको सांघाई कम्पोजिटमा ०.१ प्रतिशतको गिरावट देखियो भने हङकङको हाङसेङ २.६ प्रतिशतले नकारात्मक रह्यो । चीनको सबैभन्दा ठूलो इभी निर्माता बिवाइडीको सेयर मूल्य ३.६ प्रतिशतले घटेको छ ।  

रुसी एसेस्ट मार्केटले भने सकारात्मक प्रतिक्रिया जनाएको छ । ट्रम्पले रुसमाथिको अमेरिकी प्रतिबन्ध खुकुले बनाउने विश्वास रुसी लगानीकर्तामा बलियो देखिन्छ । ‘मस्को स्टक एक्सचेन्ज (एमओइएक्स) ३.३ प्रतिशतले वृद्धि भएको छ । युरोपका सेयर बजारहरूमा भन्दा मस्को स्टक एक्सचेन्जमा बढी उत्साह देखिन्छ । 

अमेरिकाको प्रमुख व्यापार साझेदार जर्मनीको बजारमा पनि निराशा नै बढी देखियो । जर्मनीका प्रतिष्ठित कार निर्माता पोर्से, बिएमडब्लू, मर्सिडिज र फक्सवागनको सेयर मूल्यमा क्रमश ६.५ प्रतिशत, ६.४ प्रतिशत, ५ प्रतिशत र ४.९ प्रतिशतको गिरावट आयो ।  

नयाँ उचाइमा डलर
ट्रम्पको जितपछिको कारोबारमा डलरको विनिमय दर पाउन्ड, युरो एवं जापानी ऐनलगायत अन्य मुद्राहरूको तुलनामा १.६५ प्रतिशतले बलियो भएको छ । डलरको तुलनामा पाउन्ड १.१६ प्रतिशतले खस्कियो भने युरो १.८९ प्रतिशतले कमजोर भयो । कोभिड–१९ महामारीको समय सन् २०२० को मार्चमा सुरक्षित बजार खोज्दै लगानीकर्ता डलरतर्फ झुम्मिँदाजस्तै ट्रम्पको जित सुनिश्चित भएपछि पनि युरोमा हतास देखियो ।