कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन्। आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा बोल्दै उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुनेसमेत उल्लेख गरे।
उनले भने, 'केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकार भएको कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साँच्चै राम्रो काम गर्नुभएको छ। मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानुहुनेछ।'
प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाव दिएर सहयोग गरिरहेको बताउँदै देउवाले भने, 'विश्वका जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरूले सरकारको आलोचना गर्नु स्वाभाविक हो।'
आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढंगले सरकारले ध्यान दिने देउवाको भनाइ थियो। सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पूरापुर सहयोग रहने उनले बताए। विपक्षीबाट आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्नेमा देउवाको जोड थियो।
संयुक्त सरकार बनेपछि पार्टीपंक्ति पनि खुसी रहेको बताउँदै उनले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेस लाग्ने र सहमतिअनुसार नै सरकार सञ्चालन हुने उल्लेख गरे। भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसमा डोजर लगाएको सन्दर्भमा सभापति देउवाले भने, 'भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानुपर्ने उहाँको पनि दायित्व हो, भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नुभएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्न पनि पाइँदैन।'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कांग्रसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गरिरहेको बताए। उनले भने, 'कांग्रेस, एमालेको संयुक्त सरकार छ, तसर्थ हामी सहकार्यमा छौँ, तर वडा तहदेखि पालिका, प्रदेश र केन्द्रीय सरकारमा रहेका सबैले एमालेभन्दा राम्रो काम कसरी गर्ने भनेर काम र प्रगतिमा प्रतिस्पर्धा भइरहेको छ, त्यसैले सबै जनप्रतिनिधिदेखि मन्त्रीसम्मले राम्रो काम गरेर देखाउनुपर्छ।'