१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ कार्तिक १४ बुधबार २o:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद

साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार २o:४५:oo

घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेश लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिप–०२४  को च्याम्पियन बनेको छ। 

बुधबार दशरथ रंगशालामा १५ हजार तीन सय ७३ समर्थक उपस्थित रहँदा दोस्रो हाफमा तीन गोल भए। पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। 

बंगलादेशका लागि ५२औँ मिनेटमा मनिका चक्माले गोल गरेकी हुन्। नेपाली डिफेन्डरले गल्ती गरेपछि बंगलादेशले अग्रता बनाउन सफल भएको हो। ५६औँ मिनेटमा अमिशा कार्कीले १–१ को बराबरी गोल गरेकी हुन्। प्रीति राईले निकालेको थ्रु बलमा गोलकिपर रुक्मा चक्मालाई बिट गर्दै  अमिशाले बराबरी गोल गरेकी हुन्।

८१औँ मिनेटमा बंगलादेशले २–१ को अग्रता बनायो। रितु पुर्ना चक्माले दर्शनीय गोल गरिन्। उनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर अन्जिलाले रोक्ने प्रयास गरे पनि सफल भइनन्। 

पहिलो हाफामा दुवै टोलीको एक-एक प्रहार पोलमा लागेको थियो। दोस्रो हाफमा कप्तान अञ्जिला तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गर्दै गोल टारेका थिइन्। ६८औँ मिनेटमा मारिया मान्डाले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहारलाई अन्जिलाले बाहिर फ्याँकेकी थिइन्। 

यसअघि अमिशा कार्कीले १०औँ मिनेटमा गरेको प्रहार बारमा लागेर फर्किएको थियो। दोस्रो मिनेटमै सबिना खातुनले हानेको प्रहार पनि बारमा लागेर फर्किएको थियो। 

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध सेमिफाइनल खेलेको पहिलो रोजाइमा एक परिवर्तन गरेका थिए। फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरू लिम्बूलाई मौका दिएका छन्। रेखाले भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेंलो कार्ड ब्यहोरेका कारण फाइनल गुमाएकी हुन्। प्रशिक्षक तामाङले अन्य खेलाडी भने यथावत राखेका थिए। अग्रपंक्तिको जिम्मेवारी भने साबित्रा भण्डारीलाई दिएका थिए। फाइनल खेलमा घाइते दुई खेलाडी दीपा शाही र हिराकुमारी भुजेल सँगै रातो कार्ड पाएकी रेखा पौडेलको उपस्थिति रहेन। 

नेपालले भारतलाई पेनाल्टी सुट आउटमा ४–२ तथा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए। 

सन् २०२२ मा नेपाललाई दशरथ रंगशालामा हराउँदै बंगलादेश पहिलोपटक उपाधि जित्न सफल भएको थियो। योसँगै नेपाल लगातार १२औँपटक फाइनलमा पुगेर उपाधिविहीन भएको छ।