१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार २३:१७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार

पाँच वर्षपछि रुसमा मोदी–सी वार्ता

चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतमा मोदीसँग भेटेपछि उनीहरूको पहिलोपटक भेट, आपसी विश्वास र साझेदारी बढाउने सहमति 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार २३:१७:oo

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच पाँच वर्षपछि बुधबार द्विपक्षीय वार्ता भएको छ । पाँच वर्षअघि सीले नेपालको राजकीय भ्रमण गर्नुपूर्व मोदी र सीबिच भारतको तमिलनाडु राज्यस्थित महावलीपुरम्मा (२४ असोज २०७६)मा पछिल्लो भेट भएको थियो । 

मोदीसँग भेटवार्ताको भोलिपल्ट (२५ असोजमा) नेपाल आएका सी २६ असोजमा स्वदेश फर्केका थिए । पाँच वर्षपछि रुसको कजान सहरमा भएको भेटमा दुवै नेताले आपसी विश्वास र साझेदारी अभिवृद्धि गर्ने र सीमा विवाद समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

दुवै देशका कार्यकारी प्रमुखले नयाँदिल्ली र बेइजिङबिच स्थिर र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धले दुई देशबिच मात्र नभएर विश्वको समृद्धि र शान्तिमा सकारात्मक प्रभाव पार्नेमा जोड दिएका छन् । दुई देशका सैनिकबिच १ असार ०७७ मा लद्दाख क्षेत्रको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि शीर्ष नेताबिच औपचारिक वार्ता हुनसकेको थिएन । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ् यीबिच २७ भदौमा भएको वार्तापछि सीमाक्षेत्रमा तनाव कम गर्न, १ असार ०७७ भन्दा पहिलाको अवस्थामा सैनिक फर्काउन दुवै पक्ष तयार भएको थियो । सोमबार भारतीय विदेशसचिव विक्रम मिश्रीले सीमाक्षेत्रमा तनाव कम गर्न र संयुक्त गस्ती गर्न दुवै पक्ष सहमत भएको सार्वजनिक गरेका थिए । मंगलबार चिनियाँ विदेश मन्त्रालयले पनि उक्त सहमति भएको पुष्टि गर्दै सहमति कार्यान्वयन गर्ने वचनबद्धता जनाएको थियो । 

यही पृष्ठभूमिमा मोदी र सीबिच ५० मिनेट कुराकानी भएको थियो । ब्रिक्स मुलुकहरूको शिखर सम्मेलनमा सहभागी हुने क्रममा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘सीमामा शान्ति र स्थिरता कायम राख्नु हाम्रो प्राथमिकता हुनुपर्छ । पारस्परिक विश्वास,सम्मान संवेदनशीलता हाम्रो सम्बन्धको आधार बन्नुपर्छ ।’ 

भेटमा चिनियाँ राष्ट्रपति सीले भने, ‘दुवै देशले आफ्ना मतभेदलाई प्रभावकारी ढंगबाट सम्हाल्नुपर्छ र हामीले विकासको सपना साकार पार्न सञ्चार र पारस्परिक सहयोगलाई बलियो बनाउनुपर्छ । भारत र चीनले स्थिर सम्बन्ध कायम गर्न मिलेर काम गर्नुपर्छ जसले दुवै देशको विकास लक्ष्य हासिल गर्न मद्दत गर्न सक्छ ।’

शीर्ष नेताको वार्तामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर, विदेशसचिव विक्रम मिश्रीलगायतका अधिकारी थिए भने चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ् यीलगायतका उच्च अधिकारी सहभागी थिए । बैठकपछि भारतीय विदेशसचिव मिश्रीले पत्रकारहरूलाई दिएको जानकारीअनुसार दुई नेताले भारत–चीन सीमासम्बन्धी विशेष प्रतिनिधिहरूको बैठक शीघ्र आयोजना गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । सीमाक्षेत्रमा उत्पन्न समस्या समाधानका लागि भएको सहमतिलाई दुवै नेताले स्वागत गरेका छन् भने सीमाक्षेत्रमा शान्ति कायम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

दुवै नेताको निर्णयअनुसार अब भारत चीन सीमा समाधानका लागि दुवै देशका विशेष प्रतिनिधिबिच छिट्टै वार्ता हुनेछ । ‘दुवै नेताले सीमाक्षेत्रमा शान्ति र शान्तिको व्यवस्थापनको निरीक्षण गर्न र सीमा प्रश्नको निष्पक्ष, व्यावहारिक र पारस्परिक स्वीकार्य समाधान खोज्न भारत–चीन सीमासम्बन्धी विशेष प्रतिनिधिहरूको बैठक शीघ्र राख्नुपर्नेमा सहमत भए’ बैठकपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘द्विपक्षीय सम्बन्धलाई स्थिर र पुनर्निर्माण गर्न परराष्ट्रमन्त्री र अन्य अधिकारीहरूको स्तरमा सम्बन्धित वार्ता संयन्त्रको पनि उपयोग गरिनेछ ।’

दुई नेताहरूले दुई छिमेकीहरू र विश्वका दुई ठुला राष्ट्रहरूको रूपमा भारत र चीनबिच स्थिर, मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध क्षेत्रीय र विश्वशान्ति एवं समृद्धिका लागि आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरूले बहुधु्रवीय एसिया र बहुध्रुवीय विश्वका लागि दुई देशको स्थिर र सहज सम्बन्ध जरुरी रहेकोमो जोड दिएका छन् । 

‘पारस्परिक विश्वास, पारस्परिक सम्मान र पारस्परिक संवेदनशीलताले भारत–चीन द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गर्नेछ’ भेटपछि भारतीय प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘भारत–चीन सम्बन्ध हाम्रा देशका जनता एवं क्षेत्रीय र विश्वव्यापी शान्ति तथा स्थायित्वका लागि महŒवपूर्ण छ । पारस्परिक विश्वास, आपसी सम्मान र पारस्परिक संवेदनशीलताले द्विपक्षीय सम्बन्धलाई निर्देशित गर्नेछ,’ मोदीले भने । 

सीले पनि भिन्नता र असहमतिलाई प्रभावकारी रूपमा सम्हालेर आपसी सञ्चार र सहयोगमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ‘दुवै पक्षले हाम्रो अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्न, विकासोन्मुख देशहरूको बल र एकतालाई बढावा दिन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा वहुध्रुवीकरण र लोकतन्त्रलाई प्रवद्र्धन गर्न योगदान पु¥याउन उदाहरण प्रस्तुत गर्नु महŒवपूर्ण छ,’ चिनियाँ राष्ट्रपतिको भनाइ छ ।