१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
तस्बिर : अल जजिरा
२o८१ कार्तिक १ बिहीबार १३:४३:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा एक हप्तामा चार सय प्यालेस्टिनी मारिए, सयौँ घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १३:४३:oo

गाजामा एक हप्तामा करिब चार सय प्यालेस्टिनीको मृत्यु हुनुका साथै करिब एक हजार पाँच सय घाइते भएका मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसंघका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएकी छिन्।

गाजाको मानवीय अवस्थाबारे राष्ट्रसंघीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताइन्। 

अल अक्सा अस्पतालनजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउँदै महिला तथा बालबालिकासहित धेरै व्यक्तिले कठिन जीवनको सामना गरिरहेको उनले उल्लेख गरेकी छिन्।

यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उनले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजारभन्दा बढी मानिस जबलिया क्षेत्रबाट विस्थापित भएको उल्लेख गरेकी छिन्।

उनले अक्टोबरको सुरुदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको जानकारी गराइन्। गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उनको भनाइ थियो। पटकपटकका मिसन अवरुद्ध हुँदा, अभावबिच बाँचिरहेका गाजावासीलाई मानवीय सहायताको अझ बढी खाँचो भएको उनले बताइन्।

गाजाको पीडालाई शब्दमा वर्णन गर्न नसकिने बताउँदै अधिकारीले अन्तर्राष्ट्रिय कानुनलाई सम्मान गरी सबै सदस्य राष्ट्रहरूले सहायतालाई सुनिश्चित गर्नुपर्ने जनाएका छन्। बैठकका लागि अनुरोध गर्ने अल्जेरियाका प्रतिनिधिले गाजाको विनाशकारी मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। 

मंगलबार गाजामा सहायताका ट्रकहरू आएको भए पनि घेराबन्दीका कारण जबलिया पुग्न असफल भएको उल्लेख गर्दै उनले मानवीय सहायताका सामग्रीको अभाव सिर्जना गर्ने सैन्य घेराबन्दी अस्वीकार्य मात्र नभई युद्ध अपराध भएको बताए। 

राष्ट्रसंघमा प्यालेस्टाइनका लागि स्थायी पर्यवेक्षक रियाद मन्सुरले गाजामा भइरहेको आक्रमणको विकल्प मौनता र निष्क्रियता नभएको धारणा राखे। प्यालेस्टिनी र लेबनानी जनताले इजरायलको दण्डहीनताको मूल्य चुकाउन बाध्य भएको उल्लेख गर्दै गाजामा घेराबन्दी, भोकमरी र बम विस्फोटमा परेका चार लाख  प्यालेस्टिनीलाई अधीनमा राखिनु युद्ध नभई अपराध भएकाले यसलाई रोक्नुपर्ने उनले बताए।

मन्सुरले सुरक्षा परिषद्लाई चार्टर र कानुनद्वारा प्रदान गरिएका उपकरणद्वारा कानुनविपीत काम गर्नेहरूसँग लड्न आह्वान गर्दै यो काम गर्ने समय भएकाले अरू केही पनि वहाना आत्मसमर्पण भएको उल्लेख गरे। 

यसै सन्दर्भमा टिप्पणी गर्दै इजरायलका प्रतिनिधिले आफ्नो देशविरुद्धको आक्रमणको विस्तृत विवरण दिँदै १०१ जना मानिसलाई हमासले यातना दिएको र  सुरक्षा परिषद्का सदस्यहरूले बन्धकबारे थोरै मात्र उल्लेख गरेको बताए। इजरायल र मानवीय साझेदारले गाजामा भरपूर मानवीय सहायता ल्याउँदा पनि  हमासले सहायता ‘कब्जा’ गरी मानवीय अवस्थालाई दयनीय बनाएको उनको दाबी छ।