१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार १३:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ अवधिभर सुदूरपश्चिममा सवारी दुर्घटनाबाट १३ जनाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १३:२४:oo

सुदूरपश्चिम प्रदेशभरि दसैँको अवधिमा भएका सवारीसाधन दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार यही १५ देखि ३० असोजसम्मको अवधिमा २१ वटा दुर्घटना भएका छन् । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् ।

कैलालीमा यो अवधिमा भएका १६ वटा सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाउनुका साथै २६ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी ट्राफिक प्रहरी निरीक्षक सुरजबहादुर खड्काले जानकारी दिए । त्यस्तै, कञ्चनपुर र बझाङमा एक–एकजनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । कञ्चनपुरमा ६ जना घाइते भएका छन् ।

डडेल्धुरामा भएका दुईवटा दुर्घटनामा पाँचजनाले ज्यान गुमाउनुका साथै १४ जना घाइते भएका ट्राफिक प्रहरी निरीक्षक खड्काले जानकारी दिए । डडेल्धुरामा मंगलबार राति रात्रिबस दुर्घटना हुँदा एकै घरका तीनसहित पाँचजनाको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । प्रदेशका अन्य जिल्लामा भने यो अवधिमा दुर्घटना भएको रेकर्ड छैन ।

‘मोटरसाइकल दुर्घटनाको संख्या धेरै छ, तराईका क्षेत्रमा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना बढेका छन्,’ उनले भने, ‘तीव्र गतिसँगै मादक पदार्थ खाएर सवारी चलाउनु, यात्रुले बाटो काट्दा ध्यान नदिनु, चालकको लापरबाही दुर्घटनाको प्रमुख कारणको रूपमा देखिएका छन् ।’  

क्षमताभन्दा बढी यात्रु र सामान राख्ने, यात्रु तान्ने प्रतिस्पर्धाले तीव्र गतिमा सवारी चलाउनेजस्ता कारणले चाडपर्वको समयमा ठुला दुर्घटना हुने गरेका छन् । यसपटक ट्राफिक नियमको पालनामा कडाइ गरिएकाले डडेल्धुराबाहेक अन्य क्षेत्रमा दसैँको अवधिमा ठुला सवारी दुर्घटना नभएको ट्राफिक प्रहरीको दाबी छ । चाडबाडलाई लक्षित गरेर रणनीतिक कार्ययोजना बनाएर कडाइ गरेकाले विगतको तुलनामा दुर्घटनामा कमी आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले दाबी गरे।