१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
इजरायली सेनाको आक्रमणपछिको पूर्वी लेबनान
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार १८:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाजा र लेबनानमा हिंसा रोक्न आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १८:१२:oo

नागरिक अगुवाहरूले प्यालेस्टिनी र लेबनानी नागरिकको जीवनरक्षा गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। इजरायलले नृशंस नरसंहार र जातीय सफाया गरेको भन्दै नागरिक अगुवाले बुधबार त्यसको विरोधमा संयुक्त प्रेस वक्तव्य जारी गरी द्वन्द्वरत सबै पक्षहरूलाई आक्रमण रोकेर तुरुन्तै युद्धविराम गर्न र संवादबाट समस्याको दिगो समाधान निकाल्न आह्वान गरेका हुन्।

संयुक्त वक्तव्यमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय ब्युरो प्रमुख राजेश नेपाली, नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्मा, नेकपा बहुमतका कार्यालय सदस्य दीपक चलाउने, राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक लोकनारायण सुवेदी, प्रगतिशील रूपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठ, वामपन्थका प्रमुख सम्पादक डा. महेश मास्के, सामाजिक उत्तरदायित्वको लागि चिकित्सक नेपालका अध्यक्ष डा. गणेश गुरुङ, पिपुल्स हेल्थ मुभमेन्टका संयोजक डा. शरद वन्त, बृहत् नागरिक आन्दोलनका डा. सञ्जीव उप्रेती, सामाजिक अनुसन्धानकर्ता मीना पौडेल, प्यालेस्टिनी सोलिडारिटी फोरम नेपालका उषा तितिक्षु र प्रगतिशील रूपान्तरण आन्दोलनका उपसंयोजक ज्योतिलाल वनले हस्ताक्षर गरेका छन्।

वक्तव्यमा इजरायल सरकारले हजारौँ निर्दोष प्यालेस्टिनी र लेबनानी सर्वसाधारण जनताको ज्यान लिएको र लाखौँलाई नियतपूर्वक आफ्नो जन्मभूमिबाट लखेटेको घटनाबाट नेपाली जनता अत्यन्त आक्रोशित र दुःखित भएको उल्लेख छ। ‘हामी यस राज्य नियोजित हिंसाको घोर निन्दा एवं भर्त्सना गर्दछौँ,’ वक्तव्यमा भनिएको छ। वक्तव्यमा अमेरिकाको उक्साहट र पृष्ठपोषणमा प्यालेस्टिनी जनतालाई आफ्नै भूमिबाट विस्थापित गराइरहेको इजरायलले लेबनानमाथिसमेत आक्रमण गर्दा द्वन्द्व पूरै पश्चिम एसियामा फैलने चिन्ता गरिएको छ।

‘प्यालेस्टिनी तथा लेबनानी जनताको भूअखण्डता र सार्वभौम अधिकारको सम्मान गर्दै र उनीहरूको न्यायपूर्ण आवाजप्रति गहिरो ऐक्यबद्धता जनाउँदै हामी इजरायलले गरेको क्रुर र बर्बर युद्ध तुरुन्त बन्द गर्न माग गर्दछौँ,’ वक्तव्यमा भनिएको छ, ‘इजरायलको यो बर्बरतापूर्ण हिंसाविरुद्ध प्यालेस्टिनी तथा लेबनानी जनताका पक्षमा देशको मत अभिव्यक्त गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।’

द्वन्द्वका कारण गत वर्षयता ५ लाखभन्दा ज्यादा इजरायलीहरू आफैँले इजरायल छोडेको भन्दै वक्तव्यमा यस्तो वेला आफ्नो जीवनमाथि खेलबाड हुने गरी मृत्युको धरापजस्तो भएको इजरायल, गाजा र लेबनानमा नजान नेपाली नागरिकलाई अपिल गरिएको छ। युद्ध चलिरहुञ्जेल श्रमको सिलसिलामा इजरायल र लेबनान गएका नेपाली जीवनरक्षाको लागि बेलैमा उनीहरूलाई नेपाल फर्काउने कदम चाल्न तथा तुरुन्तै पठाउन लागेको नेपाली श्रमिकलाई निश्चित समय रोक्न पनि सरकारसँग माग गरिएको छ।

वक्तव्यमा विपिन जोशीलाई यथाशीघ्र नेपाल फर्काउनका लागि कूटनीतिक-राजनीतिक सम्बन्धका सबै उपाय अपनाउन सरकारलाई आग्रह गरिएको छ । साथै, राष्ट्रसंघीय शान्ति सेनामाथि इजरायलले थालेको आक्रमण तुरुन्त रोक्न पनि माग गरिएको छ । ‘न्याय र शान्तिको पक्षमा उठेको विश्वव्यापी आवाज, अन्तर्राष्ट्रिय नियम मर्यादाको उल्लंघन गर्ने, युद्ध अपराध गर्ने तथा गाजा क्षेत्रमा चरम मानवीय संकट सिर्जना गर्ने इजरायलको अन्ध यहुदीवादी सरकारलाई सशक्त कारबाही गर्न विश्व समुदायलाई आह्वान गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।

नागरिक अगुवाहरूले इजरायल सरकारलाई अविलम्ब सम्पूर्ण आक्रामक गतिविधि, नृशंस नरसंहार र जातीय सफायाका गतिविधि रोक्न, राष्ट्रसंघलाई पुनर्निर्माण र मानवीय सहायताका कार्य गर्न दिन, विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो बासस्थानमा फर्किन दिन पनि माग गरेका छन् । ‘साथै द्वन्द्वरत सबै पक्षहरूलाई आक्रमण रोकेर तुरुन्तै युद्धविराम गर्न र संवादबाट समस्याको दिगो समाधान निकाल्न आह्वान गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।