१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असोज ३० बुधबार १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जमा महिलावादी इतिहाससम्बन्धी फोटो प्रदर्शनी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १५:o८:oo

वीरगन्जमा आगामी कातिक २ देखि ४ गतेसम्म नेपालको महिलावादी इतिहाससम्बन्धी फोटो प्रदर्शनी हुने भएको छ। नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा ‘सार्वजनिक जीवनमा महिला : महिलावादी स्मृतिको एक पहल’ विषयक देशव्यापी फोटो प्रदर्शनी हुन लागेको हो।

बुधबार वीरगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर देशव्यापी फोटो प्रदर्शनीअन्तर्गत पहिलो चरणमा वीरगन्जको बिर्तास्थित त्रिजुद्ध माविपरिसरमा तीन दिनसम्म प्रदर्शनी चल्ने आयोजक संस्थाका प्रमुख संकलनकर्ता शिखर भट्टराईले जानकारी दिए।

उनका अनुसार फोटो प्रदर्शनीमा विभिन्न कार्यशाला, छलफल र सामुदायिक संवादहरू आयोजना गरिनेछ। फोटो प्रदर्शनीमा निःशुल्क प्रवेश दिइने बताइएको छ। प्रदर्शनीको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु रहेको आयोजकले जनाएको छ।

साथै ग्रामीण र सहरी क्षेत्रका महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्नु पनि यसको उद्देश्य रहेको नेपाल पिक्चर लाइब्रेरीका प्रमुख अनुसन्धानकर्ता दिवशराज केसीले बताए। पहिलो चरणमै वीरगन्जपछि जनकपुरमा कातिक ८ देखि १० गतेसम्म प्रदर्शनी गरिने उनले बताए।

उनका अनुसार दोस्रो चरणमा बर्दिया र नेपालगन्जमा, तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पामा, चौथो चरणमा दाङ र रोल्पा, पाँचौँ चरणमा इलाम र झापा, छैटौँ चरणमा विराटनगर, धरान र भोजपुर तथा सातौँ चरणमा बुटवल, भरतपुर र हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिनेछ।