भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकर मंगलबार ‘सांघाई सहयोग संगठन (एससिओ)’ शिखर सम्मेलनका लागि पाकिस्तान पुगेका छन् । करिब एक दशकमा आफ्नो प्रतिद्वन्द्वी छिमेकी मुलुकको भ्रमण गर्ने उनी भारतका पहिलो विदेशमन्त्री हुन् । विदेश मन्त्रालयका एक अधिकारीका अनुसार जयशंकरको विमान पाकिस्तानको समयअनुसार अपराह्न ३:३० बजेतिर राजधानी इस्लामाबादनजिकैको विमानस्थलमा अवतरण गरेको थियो ।
सरकारी टेलिभिजनले उनलाई फूलको गुच्छा प्रदान गरिरहेको देखाएको छ, तर स्वागत टोलीमा पाकिस्तान सरकारका कुनै शीर्ष मन्त्री संलग्न थिएनन् । आणविक शक्ति सम्पन्न भारत र पाकिस्तान स्थापनाकालदेखिका कट्टर प्रतिद्वन्द्वी हुन् । दुई मुलुकबिच सन् १९४७ को स्थापनायता तीनवटा युद्ध र अनेकौँ साना झडप भएका छन् । सन् २०१९ मा भारत प्रशासित कस्मिरको सीमित स्वायत्तता खारेज गरेपछि सम्बन्ध विशेषगरी कटु बनेका छन् । भारत र पाकिस्तान दुवैले कस्मिर आफ्नो भएको दाबी गर्छन् र एक–अर्कालाई त्यहाँ उग्रवाद भड्काएको आरोप लगाउँछन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसै महिना जयशंकरको भ्रमणको एजेन्डा मुख्यतः एससिओको कार्यतालिकाअनुसार अघि बढ्ने बताए । त्यसअन्तर्गत व्यापार, मानवीय र सामाजिक मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम रहेको बताएका छन् । भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराज सन् २०१५ मा अफगानिस्तानसम्बन्धी शिखर सम्मेलनका लागि पाकिस्तान भ्रमण गर्ने अन्तिम व्यक्ति थिइन् । मोदीले सोही वर्ष आफ्नो पहिलो कार्यकालको पद सम्हालेको केही समयपछि नै पाकिस्तानको आकस्मिक भ्रमण गरेका थिए ।
भ्रमणले सम्बन्धमा सुधारको सानो आशा जगाएको थियो । पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारी गतवर्ष गोवामा भएको एससिओ बैठकमा भाग लिन गएका थिए, जुन सन् २०१६ पछि पाकिस्तानी विदेशमन्त्रीको पहिलो भारत भ्रमण थियो । बैठकमा बिलावल र जयशंकरबिच मौखिक विवाद भएको थियो ।
एससिओ चीन र रुसले स्थापना गरेको १० मुलुकको समूह हो । विश्व जनसंख्याको ४० प्रतिशत र कुल गार्हस्थ उत्पादनको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने संगठनलाई चीन र रुस मध्यएसियाली मुलुकसँग आफ्नो सम्बन्ध गहिरो बनाउन र क्षेत्रमा प्रभाव विस्तार गर्न प्रयोग गर्ने प्रयासमा देखिन्छन् ।