खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा स्थानीय कृषक मारमा परेका छन् । वषौँदेखि बाँझो रहेको जग्गामा कृषकहरूले मुख्य आम्दानीको स्रोतका रूपमा अलैँची खेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा–भित्तामा खेती गर्न सकिने र आम्दानी पनि राम्रो हुने भएपछि कृषकहरू अलैँची खेतीतर्फ आकर्षित भएको कृषि ज्ञानकेन्द्र लमजुङले जनाएको छ ।
हावापानीको दृष्टिकोणले लमजुङमा अलैँचीको सम्भावना निकै राम्रो भए पनि मौसम प्रतिकूल हुँदा अपेक्षित उत्पादन हुन नसकेको उनको भनाइ छ । अलैँची कृषक लालसिंह तामाङले यस वर्ष मूल्यमा वृद्धि भएको भए पनि उत्पादनमा कमी आउने बताए । ‘हामी मूल्य बढ्नुपर्छ भनेर चिन्तित थियाँै, तर बढेर पनि उत्पादन घट्दा फाइदा भएन,’ उनले भने ।
जिल्लाको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यावसायिक अलैँची खेती हुने गरेको छ । यस्तै, अलैँची टिप्ने सिजन सुरु भएसँगै लमजुङका लेकाली क्षेत्रका किसान अलैँची टिप्न व्यस्त छन् । किसानले भदौ लागेसँगै सात सयदेखि १२ सय मिटर उचाइसम्मको जमिनमा लगाइएको अलैँची टिप्ने गर्छन् । अघिल्लो वर्षमा प्रतिकिलो पाँच सयको हाराहारीमा रहेको अलैँचीको मूल्य यस वर्ष प्रतिकिलो दुई हजारसम्म पुगेको छ ।
दशकअघि प्रतिकिलो दुई हजारभन्दा बढी रुपैयाँ मूल्य रहेको अलैँची गत वर्षसम्म आइपुग्दा प्रतिकिलो पाँच सयमा कारोबार भएको थियो । उच्च लेकमा लगाइएको अलैँची बिक्री हुने समय अझै बाँकी रहेका कारण मूल्य अझै बढ्न सक्ने अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष सोम तामाङ बताउँछन् । लामो समय खडेरी भएका कारण तल्लो क्षेत्रमा उत्पादनमा कमी आएको उनको भनाइ छ । गत वर्ष ४० किलो अलैँची उत्पादन गरे तापनि यस वर्ष उत्पादन नै नभएको उनको भनाइ छ ।
जिल्लाबाट गत आर्थिक वर्षमा मात्रै दुई सय ५१ टन अलैँची बिक्री भएको थियो । जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको भए पनि तीन सय ७५ हेक्टर क्षेत्रफलमा लगाइएको अलैँचीबाट मात्रै उत्पादन भएको थियो ।