Skip This
सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार २o:५३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार २o:५३:oo

कवि सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक भएको छ। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक कार्यक्रमका बिचका उपसभामुख इन्दिरा रानामगर, कवि श्रवण मुकारुङ, प्रा.डा. विन्दु शर्मा, प्रा.डा. गणेश खनियाँ र कवि रानाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे। 

लोकार्पण कार्यक्रममा बोल्दै रानाका कविताहरूले आफूलाई असाध्यै छोएको मुकारुङले बताए। उनले भने, ‘सुरजले कवितामार्फत भन्ने कुराहरूमा व्यंग्य चेत असाध्यै शक्तिशाली छ। सँगै लिम्बुवानको कुरा पनि आएको छ, यो असाध्यै राम्रो कुरा हो।’ 

उनले एउटा राम्रो कवि हुनलाई सबै मान्छेका कथाव्यथा लेख्नुपर्ने बताए। यसमा सुरज सफल भएको मुकारुङको भनाइ थियो। त्यस्तै प्रा.डा. शर्माले रानाको कवितामा मौकिलता भएको उल्लेख गरिन्। 

उनले भनिन्, ‘उहाँका कवितामा मिथक छ, संस्कृति छ, समाज छ। उनका कविताहरूले तर्कहरूको श्रृंखला प्रस्तुत गरेर पाठकलाई घत पार्ने गर्छन्।’

अर्का प्रा.डा. गणेश खनियाँले रानाका कवितामा पहिचानको मुद्दा सशक्त भएर आएको बताए। उनले भने, ‘यो कवितासंग्रहमा लिम्बू-किराँत मिथहरू छन्। दार्शनिक रूपबाट पनि कविताहरूको उठान भएको छ। लैंगिक चेत पनि छ।’

एक दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय रहेका रानाको यो पहिलो कवितासंग्रह हो। यस संग्रहमा ‘ओ बाहुनी’, ‘प्रहरी चौकीमा सोल्टा’, ‘लेस्बियन छाया’, ‘म ब्रह्माण्ड’, ‘जब कविता निस्कन्छ जुलुसमा’ गरी पाँच खण्डमा ४४ कविताहरूलाई विभाजन गरिएको छ। यो कवितासंग्रह सांग्रिला पब्लिकेसनले बजारमा ल्याएको हो।