१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
पवन तिमिल्सिना काठमाडाैं
अजित अधिकारी काठमाडाैं
२o८१ भदौ २४ सोमबार o७:१६:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँको तयारीमा जुटे सरकारी संयन्त्र

७ असोजबाट सुपथ मूल्य पसल, असोज पहिलो साताबाट अग्रिम टिकट बुकिङ, दोस्रो सातादेखि सुकिला नोट, उपत्यकाका तीनवटै जिल्लाका प्रहरीको समन्वयमा सुरक्षा योजना, सडकका खाल्डाखुल्डी पुर्न यातायातमन्त्रीको निर्देशन

Read Time : > 4 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o७:१६:oo

नजिकिँदै गरेको दसैँ–तिहारमा हुन सक्ने मूल्यवृद्धिलाई नियन्त्रण गर्नेदेखि सुरक्षित यात्राका लागि सडक मर्मतसम्मका गृहकार्यमा सरकारी संयन्त्र जुटेका छन् । आइतबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य वस्तुको सहज उपलब्धता र मूल्य नियन्त्रण गर्न सार्वजनिक संस्थान परिचालन गरी ७ असोजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको छ । वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले बजारभाउभन्दा केही सस्तो हुने सुपथ पसल सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

‘दसैँ–तिहारजस्ता पर्वमा हुन सक्ने मूल्यवृद्धिलाई नियन्त्रण गर्न सार्वजनिक संस्थान परिचालन गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने । मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले दैनिक उपभोग्य खाद्यान्न, खसी, बोका र च्यांग्रा तथा दुधजन्य पदार्थ छुट मूल्यमा बिक्री गर्नेछन् ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार दिउँसो सरोकारवालासँग दसैँ–तिहारमा मर्मत गर्नुपर्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न निर्देशन दिँदै मन्त्री दाहालले सवारी नियम उल्लंघनलाई नियन्त्रण गर्ने, दुर्घटना भएमा तत्काल उद्धारको व्यवस्थासमेत गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि आइतबार दिउँसो नै दसैँमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्र्दै जतिसक्दो छिटो सार्वजनिक बसको टिकट बुकिङ खुला गर्न छलफल गरेका छन् । घटस्थापनाको कम्तीमा एक हप्ताअघि नै अग्रिम टिकट बुकिङ खुलाउने प्रयत्न थालिएको उनले जानकारी दिए ।

राष्ट्र बैंकले यो वर्ष नयाँ नोट जारी नगरे पनि मौज्दातमा रहेका सुकिला नोट प्रवाह गर्ने जानकारी दिएको छ । केन्द्रीय बैंकले असोज दोस्रो सातादेखि सुकिला नोट जारी गर्ने तयारी गरेको सहायक सूचना अधिकारी डा. भागवत आचार्यले  जानकारी दिए । गत वर्षजस्तै यसपटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले सुकिला नोट सटहीको सुविधा हुनेछ ।

प्रहरी र ट्राफिकले एकीकृत सुरक्षा योजना बनाइरहेको बताएका छन् । दसैँ–तिहारमा लुटपाटदेखि सुडक दुर्घटनाका घटना बढ्ने भएकाले नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी कार्यालय र ट्राफिकको समन्वयमा सुरक्षा योजना बनाउन छलफल भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्व खड्काले जानकारी दिए ।

 प्रभावकारी अनुगमन गर्ने दाबी
प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले दसैँ–तिहारका लागि तुलनात्मक रूपमा ठुलो संख्यामा कर्मचारी खटाएर बजार अनुगमनको रणनीति बनाएको छ । वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले अहिलेको अनुगमन शैलीभन्दा प्रभावकारी हुने गरी चाडपर्वमा टोली परिचालन हुने बताए । 

‘अहिले पनि अनुगमन त भइरहेको छ, तर प्रभावकारी नभएको गुनासो छ । त्यसैले यसलाई सम्बोधन गरी अलि ठुलो टोली धेरै ठाउँमा परिचालन गर्ने गरी गृहकार्य भइरहेको छ,’ उनले भने । विभागले अहिले दैनिक अनुगमन गरे पनि प्रभावकारी देखिन सकेको छैन ।

 आइतबार मात्रै उपत्यकाका १४ पसलमा अनुगमन गरेर दुईवटालाई पाँच–पाँच हजार रुपैयाँ जरिवाना र अन्य दर्ता कागजात माग गर्ने तथा सुधारको निर्देशन दिइएको विभागले जनाएको छ । चाडपर्वलक्षित अनुगमन मूल्य र गुणस्तर नियन्त्रणका लागि हुने सचिव बुर्लाकोटीले जानकारी दिए । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले उपभोक्तामैत्री अनुगमनको अभावमा बजारमा मूल्यवृद्धि बढिरहेको बताए । ‘झारा टार्ने हिसाबले विभागका कर्मचारी दैनिक अनुगमनमा खटेर १०–१२ वटा पसल हेरेर फर्किने गरेका छन् । वर्षौँदेखि चलिरहेको यस्तो अनुगमनले मूल्य, गुणस्तर र कार्टेलिङ नियन्त्रणमा कुनै प्रभाव पार्न सकेको छैन,’ उनले भने ।

 खाद्यान्न र खसी–बोकाको मूल्यमा करिब चार करोड रुपैयाँबराबरको छुट दिइने
दसैँ–तिहार र छठसम्म सञ्चालन हुने सुपथ पसलबाट उपभोक्तालाई छुटमा खाद्यान्न उपलब्ध गराउन सरकारले तीन करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चामल, दाल, तेल कर्णालीको गेडागुडी, खसी–बोका र च्यांग्रामा छुट दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई शोधभर्नाका लागि तीन करोड रुपैयाँ विनियोजन भएको छ ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले सुपथ पसलमा सबै खाद्यान्नमा छुट दिइने, तर कुनमा कति मूल्य छुट राख्ने भन्ने तय भइनसकेको जानकारी दिइन् । विगतमा बजार मूल्यको तुलनामा चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तेल र चिउरा प्रतिकिलो पाँच रुपैयाँ, कर्णालीको सिमी, गेडागुडी, दाल, चिनो, कागुनो र उवा प्रतिकिलो १० रुपैयाँ तथा जिउँदो खसी–बोका र च्यांग्रामा १० रुपैयाँ प्रतिकिलो छुट दिइएको र यो वर्ष पनि सोही छुट मूल्यलाई निरन्तरता दिने तयारी भएको उनको भनाइ छ ।

कम्पनीले जिउँदो खसी–बोका र च्यांग्रा खरिदका लागि चार करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको न्यौपानेले जानकारी दिइन् । मुस्ताङबाट च्यांग्रा तथा हेटौँडा, दाङ, सल्यानलगायतबाट खसी–बोका ल्याउने गरिएको छ । त्यस्तै, साल्ट टे«डिङ कर्पोरेसनका सहायक महाप्रबन्धक कुमारराज भण्डारीले सबै प्रकारका खाद्यान्न छुट मूल्यमा उपलब्ध गराउने गरी गृहकार्य भइरहेको बताए । साल्ट ट्रेडिङलाई छुट मूल्यमा खाद्यान्न बिक्री गरेबापत शोधभर्नाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

नयाँ होइन, सुकिला नोट
राष्ट्र बैंकले असोज दोस्रो सातादेखि सुकिला नोट पठाउने भएको छ । नयाँ नोटको साटो सुकिलो नोट बजारमा पठाउने लागिएको केन्द्रीय बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए । ‘असोजको दोस्रो सातादेखि नै दसैँलक्षित सुकिला नोटको सटही सुरु गर्ने तयारी छ,’ उनले भने ।  

उनका अनुसार प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म सुकिला नोट साट्न पाइनेछ । साना दरका धेरै नोटको छपाइ र व्यवस्थापनमा बर्सेनि दुई अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेकाले यसपालि मितव्ययिता अपनाउन खोजिएको उनले बताए । ‘वाणिज्य बैंकहरूका काउन्टरमा गएर अहिले पनि सुकिला नोट साट्न पाइन्छ । तर, दसैँलक्षित नै गरेर भने असोजको दोस्रो साताबाट वितरण थालिनेछ । हामी चाँडै नै सार्वजनिक सूचना जारी गर्दै छौँ,’ उनले भने । 

 यो वर्ष चिनी पर्याप्त नपाइने संकेत
सुपथ पसलमा यसपटक चिनीको उपलब्लधता नहुने देखिएको छ । असोज, कात्तिक र मंसिरमा प्रतिमहिना ३० हजार टनका दरले चिनीको खपत हुन्छ, तर साल्ट टे«डिङसँग सुपथ पसलमा बिक्रीका लागि १६ सय टन मात्रै मौज्दात रहेको सहायक महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए । ‘हामीसँग भएको न्यून परिमाणबारे मन्त्रालयलाई जानकारी गराएका छौँ,’ उनले भने, ‘के–कस्तो निर्देशन आउँछ, त्यहीअनुसारको कार्यायोजना बनाउनेछौँ ।’ साल्ट टे«डिङले विगतमा पाँच रुपैयाँ प्रतिकिलो छुट दिएर चाडपर्वमा चिनी बिक्री गर्दै आएको थियो, जसकारण मूल्य नियन्त्रण हुने गरेको थियो । यसपटक भने सरकारी निकायसँग नभएको मौकामा चिनीको भाउ बढ्ने जोखिम छ ।

असोज पहिलो साताबाटै अग्रिम टिकट
यातायात व्यवस्था विभागले असोज पहिलो साताबाट सार्वजनिक बसको अग्रिम टिकट खुलाउन व्यवसायीसँग छलफल थालेको छ । आइतबार दिउँसो छलफल भए पनि अग्रिम टिकट खुलाउने मिति नटुंगिएको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । ‘घटस्थापनाको कम्तीमा एक साताअघिबाटै अग्रिम टिकट खुलाउनुपर्छ भनेर पहल थालिरहेका छौँ,’ उनले भने, ‘आइतबार दिउँसो पनि बैठक बसेका थियौँ । तर, मितिको टुंगो लागेन । अब अर्को बैठकबाट निर्णय गर्नेछौँ ।’

दसैँमा करिब १० लाखले उपत्यका छाडेर घर जाने भएकाले सार्वजनिक बसको टिकट बुकिङमा सास्ती हुने गरेको छ । त्यसैले सरकारको समन्वयमा व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गर्दै आएका छन् ।

 प्रहरीले एकीकृत सुरक्षा योजना बनाउँदै
दसैँ–तिहारमा चोरी, लुटपाट तथा सडक दुर्घटना बढ्ने हुँदा नियन्त्रणका लागि प्रहरीले एकीकृत सुरक्षा योजना बनाउन थालेको छ । विगतमा प्रहरीले उपत्यकाका प्रमुख चोक तथा प्रमुख राजमार्गमा बुथ नै राखेर सुरक्षा प्रदान गर्दै आएको थियो । यसपटक पनि  तीनवटै जिल्ला प्रहरी कार्यालय र ट्राफिकले समन्वय गरी एकीकृत सुरक्षा योजना तयार गर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्व खड्काले जानकारी दिए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँअगाडि उपत्यकासहित देशभरका प्रमुख सडकका खाल्डाखुल्डी मर्मत गर्न निर्देशन दिएका छन् । चाडपर्वमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न उनले निर्देशन दिएका हुन् ।  आइतबार दिउँसो मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै मन्त्री दाहालले सवारी नियम उल्लंघनलाई नियन्त्रण गर्न र दुर्घटनामा पर्नेलाई उद्धार गरी अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न प्रहरीलाई पनि निर्देशन दिएका छन् ।