१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार o६:o३:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग: किसानको जवाफ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o६:o३:oo

बाजिराव पेसवा मराठा सेनाका प्रधानसेनापति थिए । एकपटक कुनै युद्धमा विजयी भएर उनी आफ्नो सेनासहित राजधानी फर्किरहेका थिए । बाटामा उनको सेना थाकेर अघि बढ्नै नसक्ने अवस्थामा पुग्यो । उनीहरू एक स्थानमा रोकिए । उनीहरूसित खानेकुरा पर्याप्त थिएन । बाजिरावले आफ्नानिकट सहयोगी सैन्य अधिकारीलाई बोलाएर भने– तिमी केही सिपाही लिएर नजिकको कुनै खेतमा जाऊ र त्यहाँ खान मिल्ने जुन अन्न भेट्छौ, त्यो काटेर यहाँ ल्याऊ । 

बाजिरावका सहयोगी केही सैनिक साथमा लिएर नजिकैको गाउँमा पुगे । त्यहाँको खेतमा आलु खन्ने समय भएको थियो । उनी त्यही खेततिर अघि बढे । उनलाई देखेर खेती निरीक्षण गर्न आएका सरकारी अधिकारी सम्झेर एक किसान पनि खेतमा पुगे । उनी पुग्दानपुग्दै ती सैन्य अधिकारीले सिपाहीलाई आलु खनेर जम्मा पार्ने आदेश दिए । उनको आदेश सुन्नासाथ ती किसान बडो धर्मसंकटमा परे ।

किसानले हात जोडेर भने– हजुर, यो खेतको आलु नखन्नुहोस् । म तपाईंलाई अर्को खेत देखाउँछु, त्यहाँबाट जति मन लाग्छ, त्यति नै आलु लानुहोला । किसानको अनुरोध सुनेर ती सैनिक अधिकारी आफ्ना सिपाहीलाई लिएर उनको पछि लागे । केही पर पुगेपछि किसानले एउटा खेतको आलु देखाउँदै भने– सरकार, तपाईंलाई जति चाहिन्छ, त्यति यहाँबाट लान सक्नुहुन्छ । सैनिक अधिकारीले रिसाउँदै भने– यो खेत त निकै सानो छ । यति सानो खेतबाट कति आलु लानु ? त्यति ठूलो खेतको साटो यति सानो खेतमा किन ल्यायौ तिमीले ? किसानले नम्रतापूर्वक भने– हजुर, त्यो अरू नै कसैको खेत थियो । मेरै अगाडि अर्काको खेतको आलु खनेको कसरी हेर्न सक्थेँ म ? यो चाहिँ मेरो आफ्नै खेत हो, त्यसैले हजुरले यहाँबाट जति चाहिन्छ, त्यति आलु लान सक्नुहुन्छ । 

किसानको महानता देखेर सैनिक अधिकारीको रिस शान्त भयो । उनले त्यहाँको आलु नखनी सीधै बाजिरावकहाँ पुगेर सबै कुरा बताए । त्यो सुनेर बाजिरावले आफ्नो गल्ती सुधार्दै किसानलाई पैसा तिरेर मात्र आलु खनेर ल्याए ।