हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार आआफ्ना खेलमा एफसी मल्टिभिजन र गोर्खा ब्वाइज क्लब विजयी भएका छन्। गोर्खा ब्वाइजले पिप्ले युवा क्लब र मल्टिभिजनले सानोपोखरा क्लबलाई हराएको हो।
गोर्खा ब्वाइजले पिप्ले युवा क्लबलाई २–१ गोल अन्तरले हरायो। उसको जितका लागि प्रताप थोकर र प्रशान्त देउलाले एक-एक गोल गरे। पिप्लेका सम्पूर्ण नगरकोटीले पेनाल्टीमार्फत गोल गरे पनि खेललाई हारबाट जोगाउन सकेनन्।
बुधबार नै भएको अर्को खेलमा एफसी मल्टिभिजनले जित निकालेको छ। मल्टिभिजनले सानोपोखरा क्लबलाई ८–१ को फराकिलो गोल अन्तरले हराएको हो। मल्टिभिजनका लागि रामकृष्ण राउत र अखिलेश कार्कीले ह्याट्रिक गर्दा सुमन लो र जेनिस थपलियाले समान एक-एक गोल गरे।
वर्षा बाधक बन्दा बुधबार हुने भनिएका ४ मध्ये दुई खेल स्थगित भएका छन्। लिगअन्तर्गत बुधबार हटिया स्पोर्टस् एकेडमी र न्यू कम्बाइन क्लब तथा एफसी नामटार र पदमपोखरी युथ क्लबबिचको खेल वर्षाका कारण स्थगित भएको हो।
लिग सुरु भएदेखि नै पटक-पटक बाधक बनेको वर्षाका अहिलेसम्म पाँचवटा खेल स्थगित भैसकेको छन्। २८ टिम सहभागी प्रतियोगितामा हेटौँडा- ११ स्थित सिमलटार मैदान र हेटौँडा- ६ गौरीटार रंगशालामा गरेर प्रत्येक दिन चार खेलहरु भइरहेको छ।