नेपाल लाइफ इन्स्योरेन्सले तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्डस् २०२४ सम्पन्न गरेको छ । ११ देखि १३ साउनसम्म चलेको कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न गरेको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने एक सय ९१ एजेन्सी तथा एजेन्सी म्यानेजर र कम्पनीका कर्मचारी उपस्थित थिए ।
कार्यक्रममा भर्चुअल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले आव ०८०/८१ मा व्यवसायीले गरेको उत्कृष्ट प्रदर्शनका लागि धन्यवाद दिँदै प्रतिकूल आर्थिक अवस्थामा पनि टिमवर्क, लगनशीलता र सकारात्मक प्रयासले आफ्नो मार्केट सेयरलाई थप वृद्धि गर्न सफल भएकामा बधाईसमेत दिएका थिए ।
त्यस्तै, सञ्चालक विमलप्रसाद ढकालले आर्थिक मन्दीबीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधीकरणतर्फ अग्रसर रहेको कुरा बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गत आवको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष ०८१/८२ मा सेल्स रणनीतिका बारेमा जानकारी गराएका थिए । उनले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथी रहेको र उनीहरूकै अथक मिहिनेत र परिश्रमले कम्पनी सफल भएको तथा आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको धारणा राखे ।
कार्यक्रममा एजेन्सी म्यानेजरतर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट एक सय ४१ अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानका साथसाथै ३० जनालाई सम्राट् पदक, २२ जनालाई रत्न पदक र एक सय ३७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो ।
त्यस्तै, एजेन्सी म्यानेजरतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र वसन्ती शर्मा तथा व्यक्तिगत कोडतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुसी भट्ट, भीमा पन्थी र अर्बिन राजवंशीलाई अवार्डका साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।