सन् १९९३ मा ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालले ११ खेलमा भाग लिएको थियो । समापनको अघिल्लो दिनसम्म नेपाल स्वर्णविहीन थियो । नेपालले अन्तिम दिन एक मात्र स्वर्ण पुरुष फुटबलबाट हात पार्यो । बंगबन्धु राष्ट्रिय रंगशालामा भारतलाई सडनडेथमा पराजित गर्दै नेपालले स्वर्ण जित्दा कप्तान थिए, राजुकाजी शाक्य । साफ इतिहासमा खेलाडी, कप्तान र प्रशिक्षकका रूपमा स्वर्ण जित्ने उनी एक्ला फुटबलर हुन् । सन् १९८४ मा काठमाडौंमै भएको पहिलो साफ र सन् २०१६ को १२औँँ सागमा राष्ट्रलाई स्वर्ण दिलाउँदा शाक्यले क्रमशः खेलाडी र प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । तीमध्ये शाक्यले छैटौँ साफमा नेपालले हात पारेको स्वर्ण पदक जित्दाको स्मरण नयाँ पत्रिकाका रमेश सुवेदीलाई सुनाए :
छैटौँ दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालको फुटबल टोली बलियो थियो । गोलरक्षकदेखि फिनिसिङसम्म खेल्ने सबै खेलाडी एकसेएक थिए । यद्यपि, साफ खेलका लागि हामीले राम्रोसँग अभ्यास गर्न पाएनौँ । तर, टिम सेट हुँदा नेपाल धेरै स्वर्णको दाबेदार थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हामीबाट स्वर्ण पदकको आशा गरेको थियो । एन्फाले फुटबल टोलीलाई ढाकाको राम्रो होटेलमा राख्यो । मलाई लाग्छ, हामी बसेको होटेल ढाकाकै राम्रो पाँचतारे थियो ।
साफमा सहभागी अन्य टोलीका खेलाडीले यस्तो सुविधा पाएकोजस्तो लाग्दैन । एन्फाका पदाधिकारीको मानसिकता नै नेपालले फुटबलमा स्वर्णबाहेक अन्य पदक लिएर फर्कंदैन भन्ने थियो । उनीहरू हामीमाथि ढुक्क थिए । प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश माल्दिभ्ससँग रोकियो । माल्दिभ्सले पनि हामीलाई गोलरहित बराबरीमा रोक्यो । त्यसवेला नेपाली फुटबल टोली समूह ‘ए’मा थियो । आयोजकले समूहको शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान राखेको थियो । हाम्रो समूहमा नेपाल र बंगलादेशमध्ये एक टोली अन्तिम दुईमा पुग्ने निश्चित थियो ।
बंगलादेश पराजित हुँदा रंगशालामा ढुंगामुढा
एक किसिमले त्यो खेल सेमिफाइनलजस्तो थियो । यी दुवै टोलीका खेलाडीले एक–आपसमा प्रतिस्पर्धा गर्दा गर् या मर्को स्थितिमा देखिए । फाइनल पुग्न दुवैलाई जित्नैपर्ने दबाब थियो । यो एक किसिमले सेमिफाइनलजस्तै थियो । जित्ने टोली फाइनलमा पुग्ने थियो । रंगशाला घरेलु समर्थकले भरिएको थियो । नेपाललाई समर्थन गर्न त्यति धेरै दर्शक थिएनन् । त्यहाँ रहेका मेडिकल पढेका विद्यार्थीले हाम्रो सपोर्ट गर्न आएका थिए । प्रतिस्पर्धामा वसन्त गुरुङको गोलमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लियो । त्यही एक मात्र गोलमा हामी फाइनल पुग्यौँ । बंगलादेशले स्वर्ण जित्न धेरै लगानी र मिहिनेत गरेको थियो, त्यसको अनुपातमा हाम्रो केही पनि थिएन । तैपनि, नेपालसँग पराजित भएका बंगलादेशका खेलाडी निराश बने ।
हारपछि बंगलादेशका खेलाडीलाई मैदानमै पिट्न घरेलु समर्थक नै आएका थिए । उनीहरूले बंगलादेशी खेलाडीको नाराबाजी गरे । रंगशालाभित्र नै बंगलादेशी समर्थकले ढुंगामुढा सुरु गरेका थिए । रिसले चुर घरेलु समर्थकले फाइनल पुगेका हामीलाई बाहिर निस्कन दिएनन् । नेपाली खेलाडीलाई सुरक्षाकर्मीले बाहिर निकालेको थियो । खेल सकिएको एक घण्टापछि हामीलाई बल्ल आयोजकले होटेल पुर्याएको थियो ।
राति एक बजे बैठक
अर्को पोलबाट स्वर्ण दाबेदार भारत फाइनलमा पुगेको थियो । फाइनल हुनु एक दिनअगाडि प्रतियोगितामा नेपालबाट सहभागी अन्य खेलले एउटा पनि स्वर्ण जित्न सकेनन् । अर्थात्, अब छैटौँ साफ खेलमा नेपाल स्वर्णविहीन हुनबाट जोगिन फुटबलमाथि आशा भयो । फुटबलले पनि स्वर्ण नजित्दा नेपाल पहिलोपटक कांस्य र रजतका साथ घर फर्कनुपर्ने अवस्था आएको थियो । खेलाडीका रूपमा हामीले त्यसलाई त्यति धेरै दबाबका रूपमा लिएनौँ । जसरी पनि स्वर्ण जित्नुपर्छ भनी दबाब लिँदा खेल बिग्रिन्छ । यो सबैलाई थाहा थियो । मलगायत अन्य खेलाडीले दबाब लिएनौँ ।
हामीले अफिसियल दबाबमा भएको पायौँ । उहाँहरूको एउटै चिन्ता नेपाल स्वर्णविहीन हुने भयो । यसले फाइनलको मध्यराति एक बजे नै होटेलमा नेपाली खेलकुदको सम्बन्धित निकायका अफिसियलले मिटिङ राखे । सो मिटिङमा कप्तानका रूपमा म सहभागी भएँ । झन्डै राति १२–१ बजे बैठकमा बोलाइएको थियो । प्रशिक्षक, कप्तान, अफिसियलको बैठक बस्यौँ । ‘हामीले स्वर्ण पदक जित्न सकेका छैनौँ । एक खेल जिते, नेपालको सान उच्च हुनेछ, यतिवेला नेपाललाई स्वर्ण पदकको महत्व छ,’ अफिसियलले टिम मिटिङमा बोल्नुभएको थियो, ‘स्वर्ण जित्दा खेलाडीले नसोचेको रकम र कप्तानले गोर्खा दक्षिणबाहु पाउनेछन् ।’ सो मिटिङमा मैले उहाँहरूलाई भनेँ, ‘तपाईंहरू ढुक्कका साथ फर्कनुस् । नेपालले भोलि स्वर्ण पदक नै जित्नेछ । हामी रजतका साथ घर फर्कदैनौँ ।’ त्यसपछि उहाँहरू फर्कनुभयो ।
फाइनलमा बंगालीको समर्थन नेपाललाई
मिटिङबाट फर्केपछि मेरो मनमा लागेको एउटा प्रश्न थियो । अफिसियललाई स्वर्ण जित्छ भनियो । तर, फाइनलमा केही तलमाथि भयो भने मुख कसरी देखाउने चिन्ता लाग्यो । अगाडिसम्म दबाब नलिएका कप्तानले दुई सय प्रतिशत स्वर्ण जित्ने दाबी बैठकमा गरिसके । अब कसरी स्वर्ण जित्ने भन्ने प्रश्न थियो । उल्टै म आफूले दबाबको सामना गरेँ । यो कुरा मैले खेलाडी साथीलाई भनेको थिइनँ । साथीलाई बैठकबारे जानकारी गराएँ । हामीमाथि सिंगो नेपालले आशा गरेको छ । अब फाइनलमा भारतलाई हराएर स्वर्ण जित्नुपर्छ भन्ने आत्मविश्वास दिलाएँ । खेलाडी सबै तयार थिए । स्वर्ण भिन्डतमा नेपाल र भारत भए पनि समर्थक धेरै आएका थिए । अचम्मको पक्ष के रह्यो भने फाइनलमा हामीलाई समर्थन गर्न बंगाली थिए । सेमिफाइनमा उपद्रो मच्चाएका बंगालीले फाइनलमा भारतलाई हराउन नेपालको समर्थन गर्न आएका रहेछन् ।
भारतविरुद्ध सधैँ यस्तो हुन्छ नै । त्यसवेला हामी बंगलादेशी लिगमा पनि आबद्ध थियौँ । यसकारण उनीहरूको हल्का भाषा बुझ्ने भइसकेका थियौँ । हाम्रो समर्थनमा बंगालीको निकै हुटिङ आएको थियो । भारतको समर्थन गर्ने खासै कोही रंगशालामा थिएनन् । रंगशालाको चारैतिर नेपाल, नेपाल भनेर हुटिङ गरेको सुनिन्थ्यो । त्यो समयमा खेलाडी निकै बलिया थिए । शारीरिक रूपमा सबै खेलाडी राम्रा थिए । राष्ट्रका लागि सबै खेलाडीको सोच एकै हुन्थ्यो । नुनको सोझो गर्ने भनेझैँ क्लब र राष्ट्रका लागि सधैँ राम्रो गर्ने बानी थियो । खेल स्पिडले जित्ने हो । व्यक्तिगत रूपमा सबै खेलाडी राम्रा थिए । उमेश प्रधान, वसन्त, देवनारायण चौधरी, गोलरक्षक उपेन्द्रमान सिंह, राजेश थापा, राजेश मानन्धर, जीवन लामा, ज्ञानु शेरचन, सूर्यमान, दीपक अमात्य एक सय एक खेलाडी थियौैँ ।
भारतको लगातार अग्रता
मैदानमा भारतविरुद्ध खेल्दा खेलाडीको अनुहार झुकेको थिएन । सबै पूर्ण रूपमा तयार थिए । नेपाल र भारतबीचको खेल सुरु भयो । भारतले सुरुवातमै दबाब बनाउँदै गोल गर्यो । गोलले हामीसँगै बंगाली समर्थक निराश भए । तर, उमेश प्रधानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । १–१ को बराबरीपछि खेल रोमाञ्चक बन्यो । फेरि भारतले गोल गर्दै २–१ को अग्रता बनायो ।
खेलमा दुईपटक पछाडि परेको अवस्थामा समेत हामीले कुनै हतार गरेनौँ । दोस्रो हाफमा एउटा निर्णायक मोड आयो । खेल पनि सकिन लागेको थियो । त्यहीवेला भारतको पोस्टअगाडि एउटा फ्रिकिक नेपालले पायो । नेपालका म्याराडोना भनी चिनिने मणि शाहले फ्रिकिक प्रहार गर्नुभएको थियो । उनले यस्तो फ्रिकिक प्रहार गर्नुभयो कि भारतीय गोलरक्षकले छेक्ने कुनै अवसर नै पाएनन् । फ्रिकिक गोलसँगै नेपालले भारतलाई फेरि २–२ को बराबरीमा रोक्यो । ९० मिनेट र अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटका लागि नाम दिएका थियौँ । पेनाल्टीमा समेत भारतले अग्रता बनायो । नेपालको लगातार दुई पेनाल्टी खेर गयो । यसपछि गोलरक्षक उपेन्द्रमानले दुई पेनाल्टी बचाउँदा नतिजा हाम्रो नियन्त्रणमा आएको थियो । सेडनडेथमा भारतीय खेलाडीको प्रहार बाहिरिएको थियो । नेपालले आफ्नो पालोमा गोल गर्दा स्वर्ण पक्का थियो । नेपालबाट प्रहार गर्न वसन्त गुरुङ भाइको नाम थियो । हामीले बाहिरबाट उसलाई ‘भाइ कुनामा च्यापेर हान’ भन्यौँ । उसले हामीले भनेको सुन्यो कि ! कुना च्यापेरै प्रहार गरेपछि गोल भयो । त्यसपछि के चाहियो र, नेपालले फाइनलसँगै स्वर्ण जित्यो । फुटबलले छैटौँ साफमा नेपाललाई स्वर्णविहीन हुनबाट रोक्यो ।
खेल्दाभन्दा खुसियाली मनाउँदा थाकियो
मैदानमा थाकेको भान नै भएन । तर, स्वर्ण जितेको खुसियालीपछि थकित भएँ । सबै खेलाडी ट्रयाकमा दगुर्दा बढी थाकेका थियौँ । बंगाली समर्थकबीच हामी नेपालको झन्डा फहराउँदै ट्रयाकमा कुदेका थियौँ । नेपाल, नेपाल भन्ने आवाज आइरह्यो । डाक्टर पढ्न गएका विद्यार्थी टन्नै थिए । उनीहरूले हामीलाई नेपालको झन्डा दिएका थिए । उनीहरूसँग निकै रमाइलो भएको थियो । खेल जितेपछि राजदूतावासमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फोन गरेर बधाई दिनुभयो । ढाकामा नेपालका लागि पहिलो स्वर्ण पदक जितेपछि सरकारले खेलाडीको भव्य स्वागत गरेको थियो । दुई रसियन जिपमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला हुँदै दशरथ रंगशालासम्म विजयी र्याली गरिएको थियो । त्यसवेलाको अवस्था नै त्यस्तै थियो ।