Skip This
कर्णालीमा सात दिनदेखि हवाई तथा सडक यातायात अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
मुगुको रारा विमानस्थल
२o८१ असार २४ सोमबार १८:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीमा सात दिनदेखि हवाई तथा सडक यातायात अवरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १८:o१:oo

सात दिन यता मुगु र हुम्लासहित साविककाे कर्णालीमा सडक र हवाई सेवा दुवै अवरुद्ध छ। लगातारको वर्षाका कारण मुगुको रारा विमानस्थल र हुम्लाको सिमिकोट विमानस्थलबाट हवाई उडान अवरुद्ध भएका छन्। कर्णाली राजमार्ग र करिडोरको ठाउँठाउँमा बाढीपहिरोका कारण सडक यातायातसमेत ठप्प छ।

सडक र हवाई दुवै सेवा बन्द भएपछि साबिकका कर्णालीवासीहरू ‘मौसमी नाकाबन्दी’मा परेका छन्। विकल्प नहुँदा नागरिकको अत्यावश्यक कामसमेत छुटेका छन्।

छायानाथ रारा नगरपालिका– ११ का नौलासिंह नेपाली अत्यावश्यक कामले सुर्खेत जानुपर्ने भए पनि जान नसकेको बताउँछ्न्। यस क्षेत्रका धेरैको गत शनिबारको शिक्षक सेवा आयोगको परीक्षासमेत छुटेको छ। छायानाथ रारा– १० तल्लेख गाउँका मोहन शाही गाडी र विमान दुवै नचल्दा आफ्नो परीक्षा छुटेको बताउँछन्।

परीक्षा मात्र होइन, यातायातका कुनै साधन नचल्दा अस्पताल जाने बिरामी र कार्यालय कामले प्रदेश तथा संघीय राजधानी जाने कर्मचारीसमेत जिल्लामै रोकिनुपरेको छ।

लगातारको वर्षाका कारण मालबाहक गाडीहरू पनि बीच बाटोमै अलपत्र परेकाे मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा बताउँछ्न्। ‘यस्तै वर्षाले हवाईदेखि सडक अवरुद्ध लम्बिने हो भने छिट्टै बजारमा दैनिक उपभोग्य वस्तुहरूको समेत अभाव हुन सक्छ,’ उनले भने।

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिसीका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने गगने खोला, एसमोड, झाम्ला खोला, दही खोला, हुल्म र दैलेखको पातरखोलालगायत दर्जन बढी स्थानमा बाढीपहिरो र लेदो बग्दा सडक अवरुद्ध भएको छ। यी स्थानमा पहिरो पन्छाउन कार्यालयले एक्साभेटर तयारी अबस्थामा राखेको छ। ‘पहिरो र लेदो पन्छाउँदै गयो, पुनः पहिरो आउने अनि नयाँ ठाउँहरूमा पहिरो खसिरहेको अवस्था छ,’ जिसीले भने।

‘सडक अवरुद्ध भए पनि मौसममा सुधार भए हवाई सेवा नियमित हुने थियो, तर सुधार नहुँदा रारा विमानस्थल र सिमिकोट विमानस्थलबाट एक सातादेखि जहाजले उडान भर्न सकेका छैनन्,’ रारा नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख कृष्ण रिजालले बताए।

प्रमुख रिजालका अनुसार उडान बन्द भएपछि मुगुबाट नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट माथितिर आउने यात्रु विमानस्थलमै रोकिनुपर्ने अवस्था छ।