Skip This
युक्रेनी बाल अस्पतालमा रुसी आक्रमण, २० भन्दा बढी मानिस मारिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
रासस किभ
२o८१ असार २४ सोमबार १६:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनी बाल अस्पतालमा रुसी आक्रमण, २० भन्दा बढी मानिस मारिए

Read Time : < 1 मिनेट
रासस, किभ
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १६:१३:oo

रुसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ। उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ। त्यसैगरी, मध्ययुक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएका नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर बिल्कुलले बताए।

केही महिनायता किभमा भएको यो सबैभन्दा ठूलो बमबारी हो। युक्रेनी वायु सेनाका अनुसार दिनदहाडै गरिएको आक्रमणमा रुसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन्। किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकाले यसलाई रोक्न गाह्रो हुन्छ। विस्फोटका कारण सहरका भवनहरू हल्लिएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताए। किभ सहर प्रशासनले केही क्षेत्रमा क्षेप्यास्त्रबाट भग्नावशेष खसेको र आगो लाग्न थालेको जनाएको छ। किभका धेरै इलाकाहरूबाट धुवाँको बाक्लो मुस्लो उठेको थियो।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मलले सहरका सडकमा धेरै मानिस भेला भइरहेका वेला आक्रमण भएको बताएका छन्। किभका मेयर भिटाली क्लिट्स्कोले आक्रमणको परिणामबारे आधिकारिक आकलन भइरहेको बताए।

युक्रेनको मध्यनिप्रोपेत्रोभ्स्क क्षेत्रमा पनि स्थानीय अधिकारीहरूले विस्फोटको खबर दिएका छन्। युक्रेनलाई गठबन्धनको अटुट समर्थनबारे कसरी आश्वस्त पार्ने र दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्वबाट युक्रेन कसरी गुज्रन सक्छ भन्ने आशा जगाउने उद्देश्यका साथ वासिङ्टनमा हुने नेटोको तीनदिने शिखर सम्मेलनको पूर्वसन्ध्यामा यो आक्रमण भएको हो।