Skip This
पहिरोले ठेउलेखोला जलविद्युतको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले ठेउलेखोला जलविद्युतको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १६:५५:oo

अविरल वर्षसँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिकामा रहेको ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ। जैमिनी नगरपालिकाको वडा नं १ र ४ को बीच भई बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो।

कुस्मिसेरा–सुर्कवा–ब्याडथला सडकखण्डमा आएको पहिरोलेले उक्त बाँधमा क्षति पुर्‍याएको हो। पहिरोका कारण बाँध पूर्ण रूपमा पुरिएको र विद्युत् उत्पादनको काम पनि पूर्ण रूपमा बन्द भएको बाराही हाइड्रोपावरका प्रशासन प्रमुख लीलानाथ पौडेलले जानकारी दिए। १.५ मेगावट विद्युत् उत्पादन हुने उक्त आयोजनालाई पुन सञ्चालन हुन केही समय लाग्ने पौडेलले बताए।

पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुस्मिसेरादेखि सर्कुवा, जैदी, अर्जेवा, बिनामारे, ब्याडथला जाने सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए। ‘जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द अवस्थामा रहेका छन्,’ उपप्रमख शर्माले भने, ‘यसै वर्ष स्तरवृद्धि गरेर कालेपत्रे र ढलान गरेको कुस्मिसेरा–सर्कुवा–ब्याडथला सडक खण्डमा गएको पहिरोका कारण जलविद्युतमा पनि क्षति पुर्‍याएको छ।

वर्षा जारी रहेकाले उक्त सडक सञ्चालन गर्ने अवस्था छैन। जैमिनी नगरपालिकाको केन्द्रबाट जाने अधिकांश सडकहरू पहिरोका कारण अवरुद्ध रहेको उनले बताए। शर्माका अनुसार कालिगण्डकी करिडोर सडक खण्डको बिनामारेमा सडकमाथिबाट आएको लेदोका कारण करिडोरसमेत अवरुद्ध छ।

गलकोटदेखि हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। त्यसैगरी, बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने सडक खण्डको बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले जानकारी दिए। 

तस्बिर सौजन्यः जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा