Skip This
पृथ्वी माविमा कांग्रेस र एमाले प्यानलसहित चुनावमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १३:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पृथ्वी माविमा कांग्रेस र एमाले प्यानलसहित चुनावमा

मतगणनामा विवाद निम्तिएपछि मतपेटिका सदरमुकाम झिकाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १३:o८:oo

गुल्मीको मदाने गाउँपालिका– ६ पुर्कोट दहमा रहेको पृथ्वी माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य चयनका लागि कांग्रेस र एमालेले प्यानल नै खडा गरेर चुनाव गरेका छन्। शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालयलाई दलीय राजनीतिमुक्त बनाउने घोषणा गरेका वेला गुल्मीमा भने प्यानल नै खडा गरेर चुनाव भएको हो।

विद्यालय व्यवस्थापन समितिका चार सदस्यका लागि भएको चुनावमा नौजना उम्मेदवार छन्। कांग्रेसबाट कुमारविक्रम थापा, टीकाबहादुर कुँवर, कृष्णकुमारी श्रेष्ठ, कमला विक र विष्णुमाया विक उम्मेदवार छन्। एमालेबाट माया बिसी (केसी) र चित्रा कुँवर छन्। वसन्त कुँवर र विकास श्रेष्ठ कांग्रेसकै भए पनि फरक मतसहित उम्मेदवारी दिएका छन्। कांग्रेस समर्थक उम्मेदवार धेरै भएकाले पार्टीभित्रै विवाद छ भने एमालेले वसन्त र विकासलाई समर्थन गरेर अगाडि बढाएको हो।

कांग्रेस मदाने गाउँ कार्यसमिति सभापति महेन्द्रबहादुर कुँवरले विद्यालयजस्तो क्षेत्रमा राजनीतिक आग्रह वा पूर्वाग्रह राखेर अहिलेको स्थिति आएको र दुःखद भएको बताए। ‘सहमतिमै नेतृत्व राम्रो हुन्थ्यो। सहमतिको प्रयास भए पनि पार्टीका जिम्मेवार नेताकै कारण सम्भव देखिएन,’ उनले भने।

एमाले मदाने गाउँ कमिटी अध्यक्ष प्रेम केसीले भने विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा पार्टीको कुनै संलग्नता नरहेको दाबी गरे। ‘सहमति गठनमा निर्वाचनको स्थिति आएपछि उम्मेदवारले आ–आफ्नै एजेन्डा बोकेर मैदान गए। पार्टीको कुनै संलग्नता छैन,’ उनको दाबी छ।

यहाँ १९ असारमा चुनाव भएको थियो। तर, मतगणनामा पनि विवाद निम्तिएको छ। विवाद समाधानका लागि सदरमुकामस्थित शिक्षा विकास तथा समन्वय एकाइले मतपेटिका झिकाएको छ। व्यवस्थापन समितिका पदाधिकारी चयनअघि सदस्य छनोट गरिन्छ। खुला दुई र महिला दुई गरी चार सदस्यका लागि नौजना चुनावी मैदानमा छन्।

७५ मतगणना भएपछि सदर र बदर मतमा विवाद सिर्जना भएकोे मतदान अधिकृत अमर केसीले जानकारी दिए। चुनावमा चार सय २० मत खसेको थियो।

निर्वाचित चारसहित एक वडा प्रतिनिधि, एक सदस्यसचिव, एक शिक्षक प्रतिनिधि र दुईजना वडा शिक्षा समितिले मनोनीत गरी नौजनाको विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था छ। शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले उम्मेदवार र स्थानीय सरोकारवालासँग समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको र शनिबार मतगणना हुने बताए।