Skip This
गुल्मीका मुख्य सडक अवरुद्ध, लुम्पेकमा पहिरोले घर भत्कियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीका मुख्य सडक अवरुद्ध, लुम्पेकमा पहिरोले घर भत्कियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १२:२३:oo

गुल्मीमा लगातारको वर्षाले मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका विभिन्न क्षेत्र अवरुद्ध छन्।

रुरुक्षेत्र र गुल्मीदरबार गाउँपालिका क्षेत्रमा पहिरो तथा इस्मा र मालिकाका क्षेत्रमा खोलाको बहाव बढेपछि सडक अबरुद्ध भएका हुन्। जसका कारण बिहानैबाट सवारीसाधन गुड्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोख्रेलले जानकारी दिए।

त्यस्तै, रिडी–रुद्रवेणी–वामी सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाने र उल्लीखोला तथा नादेवा क्षेत्रमा खोला बढेका कारण सडक पूर्ण रूपमा बन्द भएको पोख्रेलले बताए। सडक अवरुद्ध हुँदा लामो तथा छिटो दूरीका सवारीसाधन अलपत्र छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी बिरामी र अत्यावश्यक कामले हिँडेकाहरू प्रभावित भएका छन्।

अधिकांश ठाउँमा सुरक्षाकर्मी परिचालन भए पनि वर्षात् नरोकिएकाले सडक सुचारु गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए। त्यस्तै, कालिगण्डकी करिडोर पनि तीन दिनदेखि अवरुद्ध छ।

यता पहिरोले सत्यवती गाउँपालिका–३ का ३५ वर्षीय रेशम पुलामीको घर पुरेर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। पुलामीसहित जोखिममा रहेका परिवारलाई केही पर छिमेकीको घरमा राखिएको वडा नं ३ का वडाध्यक्ष जितु तरामुले जानकारी दिए।

०७६ सालमा गाउँपालिकाको वडा नं ३ र ४ मा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको थियो। बस्ती नै धाँजा फाटेकाले स्थानीय वर्षातमा अझै ढुक्कले निदाउँदैनन्।

वर्षातकै कारण छत्रकोट गाउँपालिका– १, २ र सत्यवती गाउँपालिकाको विभिन्न क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवासमेत ठप्प भएको छ। अबिरल वर्षाका कारण पहिरोले गुल्मीदरबार गाउँपालिका–४ को बिरबास बजारनजिकैको ११ केभिए प्रसारण लाइनको दुईवटा पोल ढलेकाले विद्युत अवरुद्ध भएको बिरबास सबस्टेसनले जनाएको छ।