Skip This
दाङमा बाढीले एकजना बेपत्ता, रुखमा चढेका दुईजनाकाे उद्धार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १२:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा बाढीले एकजना बेपत्ता, रुखमा चढेका दुईजनाकाे उद्धार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १२:१२:oo

राप्ती नदीमा आएको बाढीमा परी दाङमा एकजना बेपत्ता भएका छन् भने दुईजनाको उद्धार गरिएको छ।

दाङको लमही नगरपालिका वडा नं ७ हस्नापुरमा फसेका राजपुर गाउँपालिका–२ का किसानहरू बाढीमा फसेका थिए। लमहीबाट फर्किने क्रममा बाढीले बगाएका राजपुर गाउँपालिका वडा नं २ निवासी ४८ वर्षीय  तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको हो। उनीहरूसँगै गएका १८ वर्षीय राजकुमार यादव बेपत्ता भएका प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार तीनजनासँगै रहे पनि एकजनालाई बाढीले बगाएको हो भने दुईजना सिमलको रुखमा चढेका थिए। नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुईजनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए।

लगातारको वर्षाले दाङ जलमग्न भएको छ। दाङको राप्ती नदी र बबई नदीसहित अन्य खोलाहरूमा पानीको बहाव उच्च भएको छ। देउखुरीस्थित राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरुवा र कालापानीलगायत गाउँमा बाढी पस्न थालेको छ। बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

वर्षाले इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ। कार्यालयको सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ। नियमित वर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ।

दाङमा बर्षाको मापन खतरास्तरभन्दा माथि 
दाङमा वर्षाको मापन खतराको स्तरभन्दा माथि पुगेको छ। दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार एक सय मिलिमिटरभन्दा माथि वर्षा भएमा खतरा मानिन्छ। दाङका सबै क्षेत्रमा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

शनिबार बिहानसम्म घोराहीमा १८३.८, लमहीमा १८१.८, लालमटियामा १४९.४, गंगदीमा ११६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै गंगादीमा ११६.४, कोइलाबासमा ६५.२, अम्बापुरमा १९, रातामाटामा १०.६, बगासोती ५१.६ मिलिमिटिर वर्षा भएको छ। खतराको स्तरभन्दा माथि वर्षा भएकाले सचेत रहन अनुरोध गरिएको छ।

दाङ–सल्यान सडक अवरुद्ध
लगातारको भारी वर्षाले दाङ–सल्यान सडक खण्ड अवरुद्ध भएको छ। विभिन्न ठाउँमा सडकमा क्षति भएपछि सवारी आवतजावतमा समेत समस्या भएको छ। 

सल्यानको कपुरकोटनजिकै लेदोसहितको पहिरो झर्दा अबरुद्ध भएको छ। त्यस्तै, कपुरकोट–५ को अरिगांले फेदीनजिकै पनि पहिरो गएको छ। 
जसले गर्दा सबै सवारीसाधनहरूलाई आवतजावतमा समस्या हुने गरेको छ। पहिरो खस्ने क्रम जारी छ।

घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत सेवारखोलामा बनाइएको डाइभर्सन बगेको छ। भारी वर्षाले गर्दा आएको बाढीले शनिबार बिहान डाइभर्सन बगाएको हो। डाइभर्सन बगाउँदा आवतजावत ठप्प भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरूमा अनुरोध गरेको छ। सेवारखोलामा हाल पुल निर्माणको काम अधुरो रहेकाले पनि सोही ठाउँमा आवातजावतमा निकै समस्या हुने गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए। घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा चार लेनको पक्की पुल निर्माणको काम अधुरो छ। जुन खोलामा पुल नहुँदा यात्रुहरूले बर्सेनि सास्ती भोग्नुपरेको छ।