१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ६ बिहीबार १९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फ्लोर क्रस गरेर सांसद पद गुमाएका फणिन्द्र देवकोटा सर्वोच्चमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १९:१६:oo

फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर पद गुमाएपछि फणिन्द्र देवकोटा सर्वोच्च अदालत गएका छन्।

ह्विप उल्लंघन गर्दै कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही गरेको थियो। नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चिह्न लिएर गोरखा २ (१)बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

माओवादीको चिह्न लिएर चुनाव लडे पनि निर्वाचन आयोगमा पेस गरेका आफ्ना सबै आधिकारिक दस्ताबेजमा नेपाल समाजवादी पार्टीलाई प्रतिनिधित्व गर्ने उल्लेख गरेको दाबी गर्दै देवकोटाले प्रदेश सभाको सबै कामकारबाही रद्द गर्न माग गर्दै रिट दायर गरेका हुन्।

रिटमा प्रदेश सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सभा सचिवालय, माओवादी गण्डकी प्रदेश संसदीय दल, माओवादी केन्द्र गण्डकी प्रदेश समिति, माओवादी केन्द्र केन्द्रीय कार्यालय  र निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।

देवकोटाले जेठ ३२ गते बसेको प्रदेश सभाको छैटाैँ अधिवेशनको १२औं बैठकका सबै कामकारबाही बदर गरी आफूलाई प्रदेश सभा सदस्यको हैसियतले काम गर्न दिने गरी परमादेशको आदेश माग गरेका छन्।

‘मूल कानुन संविधानले गरेको प्रस्ट व्यवस्थाविपरीत अधिकारविहीन दलद्वारा अवैध र क्षेत्राधिकारविहीन आदेशद्वारा अर्को दलको प्रदेश सभा सदस्यलार्य निष्कासन गर्ने अख्तियारी राख्न सक्ने अवस्था रहँदैन,’ रिटमा भनिएको छ। देवकोटाको रिटमा असार ९ गतेको पेसी तोकिएको छ।