१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार १२:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

तुर्माखाँद गाउँपालिकाले लागू गर्‍यो स्थानीय पाठ्यक्रम ‘राइनचिन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १२:o४:oo

अछामको तुर्माखाँद गाउँपालिकाले ‘राइनचिन’ नामक स्थानीय पाठ्यक्रम लागू गरेको छ । आधारभूत तहका कक्षा एकदेखि आठसम्ममा राइनचिन पढाउन सुरु गरिएको हो । यहाँका आठ वडाका ५२ वटै सामुदायिक विद्यालयमा आइतबारदेखि नै शिक्षकहरूले करिकुलमका आधारमा पठनपाठन सुरु गरेको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताए । उनका अनुसार पाठ्यक्रम मस्यौदा निर्माण समितिले अन्तिम रूप दिएपछि सरोकारवालाहरूबीच सार्वजनिक गरेर राइनचिन विद्यालयमा पठाइएको छ ।

तुर्माखाँदले आफ्नो पाठ्यक्रममा गाउँपालिकाभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र, जडीबुटी, पर्यटकीय स्थल, चाडपर्व, स्थानीय पेसा, व्यवसाय र प्रविधि, सामाजिक मूल्यमान्यता र कुरीतिहरू आदि विषयवस्तुहरू समावेश गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीमबहादुर चलाउनेले बताए ।

पाठ्यक्रम लागू गरिएपश्चात् अब पाठ्यपुस्तक निर्माणको तयारी थालिनेछ । त्यसका लागि यही आर्थिक वर्षमा बजेट विनियोजन गरेर आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने अध्यक्ष बिसीको भनाइ छ । उनका अनुसार सबै कक्षालाई एकैपटक नसके पनि क्रमशः सबै कक्षाहरूलाई पाठ्यपुस्तक वितरण गरिने लक्ष्य छ । यसपछिको पहिलो शैक्षिक सत्रमा कक्षा एकलाई पुस्तक वितरण गर्ने योजना रहेको अध्यक्ष बिसीले बताए । 

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यका साथ लागू गरिएको स्थानीय पाठ्यक्रम राइनचिनको एक एकाइमा म, हामी र हाम्रो गाउँपालिका, दुईमा स्थानीय जातजाति, भाषा, वेशभूषा, चाडपर्व कला र संस्कृति, तीनमा स्थानीय पेसा व्यवसाय र प्रविधि, चारमा धार्मिक तथा पर्यटकीय स्थल र ऐतिहासिक व्यक्तित्वहरू, पाँचमा स्वास्थ्य सरसफाइ तथा खेलकुद, ६ मा सामाजिक मूल्य–मान्यता र कुरीतिहरू, सातमा प्रकोप वातावरण तथा विपद् र वातावरणीय संरक्षण, आठमा कृषि, नौमा सहकारी, १० मा स्थानीय पूर्वाधारहरू र एकाइ ११ मा प्राकृतिक स्रोतहरूबारे विषय सूची रहेका छन् । 

सामुदायिकमा पढाउने अभियानले गति लियो 
यो गाउँपालिकामा सार्वजनिक पद धारण गरेकाका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम छ । गएको पुस १२ गतेको कार्यपालिका बैठकले नीति नै पास गरेर यस्तो निर्णय गरेको थियो । जसको प्रभाव अहिले समुदायस्तरमै परेको छ ।

निर्णयपश्चातको पहिलो शैक्षिक सत्रमै अध्यक्ष डम्बर बिसी र उपाध्यक्ष विमला शाहीसहित ७० प्रतिशतभन्दा बढी सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा भर्ना भएका छन् । यो नियम लागू भएपछि पढाइकै लागि जिल्लाबाहिरका सुविधासम्पन्न सहरमा पुगेका विद्यार्थी पनि गाउँकै विद्यालय फर्किएका छन् ।

सामुदायिक विद्यालयप्रति घट्दो जनविश्वास बढाएर तुर्माखाँद गाउँपालिकालाई देशकै नमुना शैक्षिक हब बनाउने लक्ष्यसहित यस्तो महत्त्वाकांक्षी योजना ल्याएपछि सबैका सन्तानले समान शिक्षा पाउने र सामुदायिक विद्यालयको समेत गुणस्तर बढ्ने विश्वासका साथ जनप्रतिनिधि, नेता, शिक्षक, कर्मचारीलगायत सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना छोराछोरीलाई गाउँकै विद्यालयमा फर्काएर पढाउन थालेको कालिकेश्वरी मावि तुर्माखाँदका प्रधानाध्यापक मनिराम बुढाले बताए । 

तर, केही जनप्रतिनिधि र कर्मचारीहरूले नै विभिन्न समस्या देखाउँदै आफ्ना बालबालिका फर्काउन नमानेको भन्दै उनीहरूको आलोचना भइरहेको छ । गाउँपालिकाकै तथ्यांकअनुसार अहिले पनि दुईजना कार्यपालिका सदस्य, ६ जना गाउँ सभाका सदस्य, १० जना कर्मचारी, ७८ जना शिक्षक, ४१ जना विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र १९ जना शिक्षक–अभिभावक संघका पदाधिकारीले आफ्ना छोराछोरीहरूलाई जिल्लाबाहिरका सुविधासम्पन्न सहरमा पढाइरहेका छन् । 

बिरामी भएर नियमित डाक्टरको निगरानीमा बस्नुपर्ने वा अन्य कुनै विशेष खाले समस्या भएकाबाहेक अन्य सबैलाई यही असार १५ अघि गाउँपालिकाका सामुदायिक विद्यालयमा फर्काउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष बिसीले बताए । यदि स्थानीय सरकारको निर्णयप्रति अटेरी गरे तलब सुविधालगायत सबै सरकारी सुविधामा रोक लगाइने अध्यक्ष बिसीको भनाइ छ । 
 

ad
ad
ad
ad