१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Tuesday, 25 June, 2024
२o८१ असार २ आइतबार १७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चुलाचुलीको सामुदायिक वनमा रैथाने प्रजातिका एक हजार बिरुवा रोपियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १७:१४:oo

चुरे दिवसका अवसरमा इलामको चुलाचुलीमा रहेको कमल सामुदायिक वनमा वृक्षरोपण गरिएको छ।

चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनको संयुक्त आयोजनामा कमल खोला किनारको बाँझो जमिनमा चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुनलगायत रैथाने प्रजातिका एक हजार बिरुवा रोपिएको हो।

सबडिभिजन वन कार्यालय चुलाचुली, सबडिभिजन वन कार्यालय बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी, उदयपुरले सहयोग गरेको यो कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरुवा उपलब्ध गराएको हो।

‘तराईमा नेपालका आधा जनसंख्या छ, जसले सारा नेपालका लागि अन्न उत्पादन गर्छन्। तराई जोगिएन भने मानिसको जीवन तथा जीविका जोखिममा पर्छ। त्यसैले चुरे क्षेत्र जोगाउने हाम्रो प्रतिबद्धता छ,’ चुरे उत्थानशील आयोजनाका राष्ट्रिय निर्देशक नवराज पुडासैनीले भने।

पछिल्लो समयमा वनविनाश, नदीजन्य पदार्थको उत्खननलगायतका मानवीय गतिविधिका कारणले चुरे क्षेत्रको वातावरण खस्किरहेको र बाढीपहिरो आउने, पानीका मूल सुक्ने, नदी कटानले घर भत्काउने र खेतलाई बन्जर बनाउनेजस्ता समस्या बढ्दै गइरहेको स्थानीयवासीको गुनासो छ।

‘पहिले चुरे क्षेत्रमा पानी थियो। अहिले १०० फिटभन्दा गहिरो बोरिङ गर्दा पनि पानी पाइँदैन। अब हामीले वृक्षरोपण गरेर यो क्षेत्रलाई पहिलेको जस्तो बनाउने कोसिस गर्नुपर्छ। आयातीत प्रजातिले यहाँको उर्वराशक्ति घटाउने हुँदा रुख रोप्दा स्थानीय प्रजाति छान्नुपर्छ,’ चुलाचुली १ का कार्यबाहक वडाध्यक्ष लालबहादुर चाम्लिङले भने।

वृक्षरोपण गरेर वन क्षेत्र बढाउँदै लाने योजना रहेको कमल सामुदायिक वनका अध्यक्ष संगीता थुलङले बताइन्। ‘वृक्षरोपण गरेर हामी वनलाई फेरि हराभरा बनाउन चाहन्छौँ। भविष्यमा यी बिरुवा हुर्काउने र अझै बिरुवा रोप्ने हाम्रो योजना छ,’ उनले भनिन्।

चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ। वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्यअन्तर्गत वृक्षरोपण गरिएको हो।

चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ। हाल कोशी प्रदेशमा आयोजनाका ७ वटा नर्सरी रहेका छन्, जसमा कुल ४ लाखभन्दा बढी बिरुवा रहेका छन्। रैथाने प्रजातिका बिरुवालाई प्राथमिकता दिइएको छ। बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गरिने जनाइएको छ।

ad
ad
ad
ad