काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार बिहान चितवनबाट पक्राउ गरेको हो। लामालाई आजै काठमाडौं ल्याई प्रहरी वृत्त बानेश्वरमा बुझाइने एसएसपी सानुराम भट्टराईले जानकारी दिए।
यसअघि नै लामासहित ११ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिसकेको छ। संस्थाका आठ सय ५२ सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी सहकारी ठगीको मुद्दा गत चैतमा दायर भएको हो। मुद्दा दायर भएपछि पनि थप उजुरीहरू प्रहरीमा परेका छन्।
प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी मुद्दा चलाएकोमा अन्य १० जना फरार थिए। सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन्।
हाल पुर्पक्षका लागि जेलमा रहेका अध्यक्ष ठकुरीले बयानको क्रममा संस्थाको पैसा सिबी लामाले नै दुरुपयोग गरेको बताएका छन्। सो सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ।
सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ फसेको छ। थोरै बचतकर्ताले मात्र हाल प्रहरीमा जाहेरी दिएका छन्। सञ्चालकहरूले नियमविपरीत संस्थाको पैसा निजी व्यवसायमा लगाएर फिर्ता गर्न नसकेका हुन्। अस्पताल, रिसोर्ट तथा घरजग्गामा सञ्चालकले करोडौँ लगानी गरेका छन्।
सो संस्थाका पूर्वअध्यक्ष सिबी लामा सञ्चालक रहेको पशुपति सहकारीले पनि सर्वसाधारणको पैसा फिर्ता गर्न सकेको छैन। काभ्रे घर भएका लामा नेपाली कांग्रेसका जिल्ला नेतासमेत हुन्।