भारतको मणिपुरमा खराब माैसमका कारण विद्यालय बन्द भएका छन्।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मंगलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन. बिरेनले जानकारी दिए।
राज्यमा विगत दुई दिनदेखि विशेष गरी आइतबारदेखि परेको अविरल वर्षाले स्थानीयवासीको जनजीवन प्रभावित भएको छ।
इम्फाल पश्चिम क्षेत्रको कान्चिपुर र तेरालगायत राज्यका विभिन्न भागमा असिनाले जस्ताको छानामा प्वाल परेकाले धेरै घर र सवारीसाधनमा क्षति पुगेको द हिन्दु अखबारले रिपोर्ट गरेको छ।
इम्फाल पश्चिम जिल्ला उत्तरपूर्वी भारतको मणिपुर राज्यको १६ जिल्लामध्ये एक हो।
राज्यमा विद्यमान मौसमी अवस्थाका कारण आज र भोलि सबै स्कुल र कलेजहरू बन्द रहनेछन्। वर्तमान मौसम अवस्थाले निम्त्याउने जोखिमविरुद्ध सावधानीका रूपमा यो निर्णय लिइएको मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनले सबैलाई अपडेट रहन र घरभित्र सुरक्षित रहन आग्रह गर्दै राज्य सरकारले जीवन र सम्पत्तिको रक्षा गर्न र प्रभावितलाई सहयोग गर्न सबै आवश्यक उपायहरू गरिरहेको बताए।
यसैबीच, भारतका केही भूभाग विशेष गरी पूर्वी, दक्षिणी र मध्यक्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ।