अमेरिकी सहर मेम्फिसको एउटा ब्लक पार्टीमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ। घटनामा अन्य ६ जना घाइते भएका स्थानीय प्रहरीले बताएको छ।
घटनास्थलमा दुईजना मृत फेला परेको र क्षेत्रीय अस्पतालमा उपचाररत घाइते ६ मध्ये एकजनाको अवस्था ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ।
यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्कनजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो।
अमेरिकामा बन्दुक हिंसा सामान्य भएको छ। बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ।
सामूहिक गोलीबारीलाई चार वा त्योभन्दा धेरै मानिस घाइते भएको वा मारिएको भनी परिभाषित गर्ने गैरसरकारी संगठन गन भायलेन्स अर्काइभका अनुसार यस वर्ष अमेरिकामा एक सय २० वटा सामूहिक गोलीबारी रेकर्ड गरिएका छन्। गत वर्ष कुल ६ सय ५६ यस्ता गोलीबारी भएका थिए।