१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
समाचार डिजिटल संस्करण

२५ वर्ष एउटैले नेतृत्व गरेको इलाम अब परिवर्तन चाहन्छ : महामन्त्री शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५६:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम– २ को उपनिर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। १५ वैशाखमा इलाम २ मा हुने उपवनिर्वाचनलाई लक्षित गरेर कांग्रेसले शनिबार इलाम सदरमुकाममा गरेको चुनावी सभामा शर्माले चुनावी आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्नुपर्ने बताएका हुन्। 

उनले प्रचारप्रसारको क्रममा कसैलाई पनि गाली नगर्न कार्यकर्तालाई आग्रह गरे। सबै राजनीतिक दलले निर्वाचनको परिणामपछि इलामको विकासका लागि एक हुने संकल्प गर्नुपर्ने शर्माको भनाइ छ।

‘इलामको मुहार फेर्ने मुद्दामा बहस गरौँ। केही भएन भन्नुभन्दा विगतमा भएको काम किन ढिला भयो भन्ने प्रश्न गरौँ।  विगतमा इलामका लागि के गर्‍यौँ, देशका लागि के गर्‍र्यौँ भनेर कुरा राखौँ। भएन,बिग्रियो,सकियो भनेर मात्र निरासाजनक कुरा नगरौँ,’ उनले भने, ‘कामहरू भइरहेको छ। तर, किन ढिला भइरहेको छ भन्नेमा प्रश्न गरौँ। आफ्नो पार्टीलाई भोट माग्दा तथ्यमा टेकेर मत मागौँ। केही भएको छैन भन्ने कुरा तथ्यमा आधारित होइन।’

महामन्त्री शर्माले इलामको निर्वाचनमा परिवर्तन, पहिचान र प्रगतिको मुद्दा लिएर अघि बढ्ने बताए। ‘इलामले सधैँ एउटै स्वाद लियो। अब इलाम परिवर्तन चाहन्छ। परिवर्तनको नेतृत्व कांग्रेसले गर्छ। विगतमा २५ वर्ष एउटैले नेतृत्व गर्नुभयो। सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्ष बनेर जानुभयो। संविधान दिएर जानुभयो,’ उनले भने, ‘उहाँले गरेका कामलाई अनुसरण गर्दै जानुपर्छ। तर, अब इलामले नयाँ काम खोजेको छ।’

हिजो राजनीति परिवर्तन भयो अब राजनीतिमा परिवर्तन गर्नुपर्ने महामन्त्री शर्माको तर्क छ। बहुदलपछि कांग्रेसको नेतृत्वमा देशले विकास निर्माणमा फड्को मारेको उनको दाबी छ। इलाममा स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि बहुदलअघि भन्दा बहुदलपछि विकास भएको उनले जिकिर गरे।

विगतका घटनाले निर्वाचनमा हुने गठबन्धन गलत भन्ने पुष्टि भइसकेकाले नै कांग्रेस एक्लै निर्वाचनमा खडा भएको महामन्त्री शर्माको भनाइ छ। विगतको निर्वाचनमा पनि इलाममा माओवादी कार्यकर्ताले मत दिएको उल्लेख गर्दै उनले इलाम–२ मा माओवादीको उम्मेदवार नभएकाले यसपटक पनि कांग्रेसलाई नै मत दिन आग्रह गरे।

ad
ad