१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
पालिका अपडेट डिजिटल संस्करण

बान्नीगढी जयगढका विद्यालयहरू २३६ दिन सञ्चालन गर्नुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:३६:oo

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि अछामको बान्नीगढी जयगढ गाउँपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ। विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालय सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले गाउँपालिकाले सम्झौता गरेको हो।

संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात गरी गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ४३ बुँदामा सम्झौता गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर रावलले बताए। गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद, उपाध्यक्ष विन्दु रावल र सम्बन्धित वडाका वडाध्यक्षहरूको रोहबरमा गाउँपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत रावल र विद्यालयका प्रध्यानाध्यापकले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार आधारभूत तहमा विद्यार्थीको भर्ना र टिकाउ दरमा वृद्धि, शैक्षिक सत्रभर दुई सय ३६ दिन विद्यालय सञ्चालनसहित शिक्षण सिकाइ, परीक्षा र अतिरिक्त क्रियाकलाप भएको सुनिश्चितता गराई विद्यालयको वार्षिक कायपात्रोअनुसार शिक्षक र अन्य कर्मचारी अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ।

यसैगरी, सबै प्रधानाध्यापकले विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक गर्दा शैक्षिक गुणस्तरसम्बन्धी कार्ययोजना र रणनीति अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। विद्यार्थीलाई किताबकेन्द्रित सिकाइभन्दा पनि परियोजनात्मक कार्यमा आधारित शिक्षण सिकाइका क्रियाकलाप सञ्चालन, शिक्षक विद्यार्थी उपस्थिति दर, विषयगत र कक्षागत सिकाइ उपलब्धि, कक्षा छोड्ने दर, कक्षामा विद्यार्थी दोहोरिने दर, उत्तीर्ण दर, अनुत्तीर्ण दर, शिक्षक विद्यार्थी अनुपात, भर्ना दर, कक्षागत छात्रछात्रा अनुपात र शिक्षकको लैंगिक अनुपात सूचक अध्यावधिक गर्नुपर्नेछ।

करारनामा गर्ने प्रधानाध्यापकले आयव्याय, जिन्सी, छात्रवृत्ति विवरण, पाठ्यपुस्तक खरिद र वितरण तथा नतिजासँग सम्बन्धित अभिलेखलगायत अन्य अभिलेखहरू पारदर्शी ढंगबाट व्यवस्थापन गरी सुरक्षित साथ राख्ने र शैक्षिक सत्रको अन्तमा त्यसको सम्पूर्ण विवरण गाउँपालिकाको शिक्षा शाखामा पेस गर्नेलगायतका विभिन्न ४३ बुँदामा प्रतिबद्धतासहित सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रत्येक तीन महिनामा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायतसँग विद्यार्थीको नियमितता, सक्रियता, सहभागिता, कक्षाभित्र र बाहिरका समस्यालगायतका विषय सुधारका लागि प्रअहरूसँग गरिएको कार्यसम्पादन सम्झौताले सामुदायिक विद्यालयको गुणस्तरमा व्यापक सुधार हुने गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले विश्वास व्यक्त गरे। शिक्षाको सुधारका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै उनले शिक्षक, विद्यार्थी र अभिभावहरूको सल्लाहका आधारमा शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयहरूमा लगानी बढाएर हौसला प्रदान गरिने बताए।

सम्झौता गरिएका ४३ बुँदा कार्यान्वयन तथा त्यसको प्रभावकारिताका लागि शिक्षक र विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहितासमेत निर्माण गर्ने गरी दोहोरो सम्झौता गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रावलले बताए। उनका अनुसार सरोकारवालाहरूसँगको परामर्शपछि औपचारिक छलफल गरेर शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरूसँग सम्झौता गरिएको हो। बान्नीगढी जयगढ गाउँपालिकामा १३ आधारभूत, दुई निम्न माध्यममिक र ६ वटा माध्यामिक तहका विद्यालय छन्।

ad
ad