
लागुऔषध गाँजासहित सातजना पक्राउ परेका छन्। नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको संयुक्त गस्ती टोलीले पर्सा राष्ट्रिय निकुञ्जको बाटो भएर वीरगन्जतर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका– ४ का २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, वर्ष २७ का हरिकुमार प्रजा, मनहरी गाउँपालिका– ५ का ३६ वर्षीय दीपक थापामगर, वडा नम्बर ३ का ४४ वर्षीय रामहरि लुइँटेल र राक्सिराङ गाउँपालिका– ७ का १९ वर्षीय टीकाराम प्रजा छन् । एकजना नाबालक पनि पक्राउ गरेका छन्।
प्रहरीका अनुसार बुधबार पक्राउ परेका उनीहरूको साथबाट एक सय ३० किलो १५० ग्राम गाँजा बरामद गरिएको छ। उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा रहेको मसिने क्षेत्रको मध्यवर्ती सामुदायिक वनबाट पर्साको वीरगन्जतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
निकुञ्ज र सेनाको टोलीले फेला पारेको लागुऔषध गाँजाका विषयमा प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश सिंखडा र इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक रामशरण दुलालको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी भण्डारीले जानकारी दिए।