१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गिरीश ठगुन्ना
२o८१ बैशाख १८ मंगलबार o६:३२:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कक्षाकोठामा गणतन्त्र खोइ ?

गुरुले बोल्ने, विद्यार्थीले केवल सुन्ने, कापीमा टिप्ने र घर फर्किने पुरानो पद्धतिमा थप कुनै परिवर्तन देखिन्न हाम्रा कक्षाकोठामा

Read Time : > 4 मिनेट
गिरीश ठगुन्ना
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:३२:oo

देशमा गणतन्त्र आएको दुई दशक पुग्न आँट्यो । तर, हाम्रा विद्यालयको कक्षाकार्य र गृहकार्यको ढाँचा फेरिएको छैन । व्यवस्था परिवर्तनको पहिलो अनुभूति कलिला मस्तिष्कले गर्न पाउनुपथ्र्यो तर पाएका छैनन् । गाउँको स्कुलछेउमै रहेको बारीको तोरी फुलाइमा परिवर्तन आइसक्यो, त्यहीँ छेउछाउ उड्ने चरासमेत ‘स्मार्ट’ भइसकेको भान हुन्छ । तर, हाम्रा शिक्षालयमा ‘प्यारट पेडागोजी’रुपी दासप्रथा जारी छ । गणतन्त्रपूर्व र पश्चात्को अध्ययन अध्यापन पद्धतिमा तात्विक  भिन्नता देखिन्न । देशमा आए पनि कक्षाकोठामा भने अहिलेसम्म आएको छैन यो गणतन्त्र ।

कैयौँ शिक्षक निरंकुश राजाका प्रतिरूप भएका छन् । उनीहरू कक्षाबाट बाहिर निस्किँदा अधिकांश विद्यार्थी पनि सँगै हुरुरु बाहिर निस्किन्छन् । किनकि, कक्षाकोठा जेलजस्ता भएका छन् । धेरैतिरको अवस्था यही हो । पाठ्यक्रम तथा त्यसको अध्ययन अध्यापन शैलीमा परिष्कार आएको छैन । द्रोणले अर्जुनलाई रुचिकर ढंगले धनुर्विद्या सिकाएझैँ सिकाउने अध्यापक अति कम छन् । तर, एकलव्यको औँला काटेर गुरुदक्षिण लिनेहरूचाहिँ उल्लेख्य छन् । यसो हुनाले नै नेपाली युवाले निसानामा तीर हान्न सकिरहेका छैनन् । तिनको जिन्दगी पाण्डवको वनवासजस्तै भएको छ ! 

गुरुले बोल्ने, विद्यार्थीले केवल सुन्ने, कापीमा टिप्ने र घर जानेबाहेक थप केही परिवर्तन पाइन्न हाम्रा कक्षाकोठामा । विद्यार्थीका कान शिक्षकको बोलीले र पिठ्युँ पुस्तक भरिएको झोलाले थिचिएका छन् । दैलेखको दुल्लुदेखि काठमाडौंको डल्लुसम्मका कक्षाकोठाबीच अतिरिक्त भिन्नता छैन । चराका गुँडजस्ता कलात्मक होइनन् कि सर्पको दुलोजस्ता ज्योतिहीन छन् हाम्रा कक्षाकोठा । थप कुरा, गाउँका कक्षाकोठाका छानाबाट पानी छिर्छ, सहरका कक्षाकोठामा भने झ्यालबाट प्रकाश पनि छिर्दैन । कक्षाकोठासम्म पुग्न पनि उत्तिकै सकस छ । गाउँमा खोला र भीरको पिर, सहरमा साँघुरा गल्ली र महँगो शुल्कको विचल्ली ! गणतन्त्रमा यस्तो हुनु हुन्नथ्यो ।

प्राचीन समयमा पीपलका रुखमुनि बसेर ऋषिमुनीले दिने ज्ञानभन्दा आजका महँगा कक्षाकोठामा बाँडिने ज्ञान कुन अर्थमा बढी गुणवत्ता छ ? यो प्रश्न गणतन्त्र नेपालका नेतृत्वकर्तालाई हो । नेपालमा कक्षाकोठाको महत्व बढेन, मूल्य मात्र बढ्यो । काठमाडौंको भीमसेनगोलादेखि ताप्लेजुङको ओलाङचुङगोलासम्मका स्कुलको वास्तविकता यही हो । निजी शिक्षालयका सञ्चालक आफ्नो शरीरमा छर्कने महँगो अत्तरको सम्पूर्ण मूल्य विद्यार्थीबाटै असुल्छन् । यसकारण, हाम्रा कक्षाकोठामा बेग्लैखाले दुर्गन्ध आइरहन्छ । देश पनि यसरी नै दुर्गन्धित बनाइँदै छ । बाग्मती र धोबीखोलाको किनारमा खुलेका शिक्षालयको अवस्था पनि तिनैको जस्तै छ ।

राजालाई विस्थापित गर्दै प्रधानमन्त्री कुलपति हुने व्यवस्थाबाहेक परिणाममुखी कार्य के भएको छ त्रिविमा ? थोत्रा भवन, अव्यवस्थित प्रशासन, गन्जागोल कक्षाकोठा नै गणतन्त्रका प्रतिबिम्ब बनिरहेछन् । 
 

कक्षाकोठा र गणतन्त्रबीच कुनै ‘बेटर कनेक्सन’को अनुभूति गर्नै पाइएको छैन । राजतन्त्रमा पनि गृह मन्त्रालय नै सबैको रोजाइमा पथ्र्यो, गणतन्त्रमा पनि त्यही छ । सरकार गठन हुँदा शिक्षा मन्त्रालय हाम्रो दललाई चाहियो भन्दै योजनाबद्ध मागदाबी कुनै राजनीतिक दलले गरेको समाचार सुन्न पाइन्न । सबै दल र नेताले कलम होइन, बन्दुक नै रोज्छन् । मुख्य राजनीतिक दलका दस्ताबेजमा समाजवाद आफ्नो दलको अन्तिम गन्तव्य रहेको उल्लेख छ । तर, तिनको कार्यशैली र निर्णय प्रक्रियामा समाजवादका आधार निर्माणको न्यूनतम झल्को पनि अनुभूत गर्न पाइन्न । निजी शिक्षालयका सञ्चालक र शिक्षा क्षेत्रमा काम गर्ने एनजिओ वा आइएनजिओकर्मी नै शिक्षामन्त्रीको सशक्त दाबेदार हुने परिस्थिति विद्यमान छ ।

घडीको सुईको टिकटिक र नाफाको गणनासँगै गर्नेहरूले सेवामुखी कार्यशैलीसाथ शिक्षा मन्त्रालय चलाउन सक्दैनन् । 
व्यवस्था परिवर्तनको छनक प्रारम्भमा विश्वविद्यालयले महसुस गर्नुपथ्र्यो । तर, साक्षरता दर बढाउने मूल उद्देश्यसाथ राजतन्त्रकालमा खोलिएको त्रिवि झनै जीर्ण बन्दै गएको छ ।

राजालाई विस्थापित गर्दै प्रधानमन्त्री कुलपति हुने व्यवस्थाबाहेक परिणाममुखी कार्य के भएको छ त्रिविमा ? थोत्रा भवन, अव्यवस्थित प्रशासन, गन्जागोल कक्षाकोठा नै गणतन्त्रका प्रतिबिम्ब बनिरहेछन् । युद्धकालमा संस्कृत र नैतिक शिक्षाका पुस्तक च्यात्नेहरू आज आफ्ना सन्तानलाई विदेशका विलासी विश्वविद्यालयमा पढाइरहेछन् । पुस्तकभित्रबाट राजारानीको तस्बिर हटाउनेबाहेक गणतन्त्रमा खास प्रगतिचाहिँ के भयो ? भनेर प्रश्न गरिब जनताका छोराछोरीले गर्दै छन् । व्यवहारबाटै उत्तर दिने सामथ्र्य हामी गणतन्त्रवादीले देखाउन सकिरहेका छैनौँ ।

शिक्षाका कारण वर्गीय खाडल झन्झन् बढिरहेको छ । देशमा दुईखाले कक्षाकोठा छन् । अंग्रेजी पनि नेपालीमा पढाइने सरकारी कक्षा र नेपाली पनि अंग्रेजीमा पढाउन खोजिने निजी स्कुलका कक्षाअनुरूप नै अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दुईखाले लाइन देखिन्छन्– युरोप, अमेरिका जानेहरूको र खाडी जानेहरूको । कक्षाकोठाभित्रको विभेदका कारण नै यस्तो हुन गएको हो । राजतन्त्रको दरबार ढल्दैमा गणतन्त्रको भवन नठडिने रहेछ, यसका निम्ति प्ररम्भमै गुणस्तरीय शिक्षारुपी बलियो जग खन्नुपर्छ । गणतन्त्रवादीले बुझ्नुपर्ने मूलभूत कुरा यही हो । 

नेपालमा गणतन्त्रको आवाज प्रारम्भमा बुलन्द गर्ने ‘आधार क्षेत्रहरू’ शिक्षालय नै थिए । घन्टाघरअघि उभिएर दरबारमार्गतर्फ फर्किंदै विद्यार्थी नेताहरूको राजाविरुद्धको गर्जनले त्यतिवेला मात्र सार्थकता पाउने छ, जब सबै बालबालिका जीवनोपयोगी शिक्षा हासिल गर्न मुस्कुराउँदै स्कुल जानेछन् र आफ्ना सपना धितो राखेर हाम्रा युवाले महँगो मूल्य तिर्दै सस्तो मूल्यमा बेचिन विदेश उड्नुपर्नेछैन । कक्षाकोठाको मुस्कुराहटसँगै विद्यार्थीका ओठ मुस्कुराउनेछन् र उनीहरूको सिंगो जीवन मुस्कुराउनेछ । नेपाली युवाले खाडी र युरोपका गल्लीमा जागिर खोज्दै भौँतारिनुपर्नेछैन र स्तरीय रोजगारी स्वयंले नेपाली युवालाई खोज्दै आउनेछ ।

गणतान्त्रिक आन्दोलनको पूर्वसन्ध्यामा युगका कुरा गर्ने नेताहरू त्यही गणतन्त्र प्राप्तिपछि निर्वाचन र सत्तामा मात्र ध्यान दिइरहेका छन् । ‘सुस्ता’का भन्दा बढी ‘युवा पुस्ता’का कुरा गर्ने नेता अबको समय देशले खोजेको छ । नेपाली युवा सस्ता श्रमिकका रूपमा होइन, कौशलले भरिपूर्ण महँगा र दक्ष श्रमिकका रूपमा विश्व बजारले खोजी गर्ने परिस्थिति निर्माण गर्न राज्य लाग्नैपर्छ । ‘लिटो खाएका ठिटो’ले गर्न नसक्ने काम के नै पो होला र ! त्यसका निम्ति नेपाली शिक्षा क्षेत्रको जग नै बलियो बनाउँदै जानु जरुरी छ । शिक्षा क्षेत्रमा व्यापक सुधारका योजना कार्यान्वयन गर्दै कार्यमूलक अभ्यासमा आधारित पाठ्यक्रम र अध्ययन अध्यापन पद्धतिको अवलम्बन गर्दै विद्यार्थीमा सीप र ज्ञानको विकास गराउनुपर्छ । जसका कारण, ‘लर्निङ’ र ‘अर्निङ’ सँगसँगै हुन सकोस् ।

आज हाम्रा शिक्षालय ‘विद्यार्थी सेलेक्सन होइन, कलेक्सन’ गर्नुपर्ने बाध्यात्मक स्थतिमा पुगिसकेका छन् । अर्थात्, विद्यार्थीहरू बिदेसिने क्रम झन्–झन् बढ्दा नेपाली शिक्षालयले विद्यार्थी पाउनै मुस्किल हुँदै गएको छ । काठमाडौंका गल्लीगल्लीमा खुलेका कलेजको बिचल्ली भइरहेछ । जसका कारण, ‘हेल्मेट टिचर’हरूको चहलपहल पनि घट्दै गएको छ । हाम्रो शिक्षाले भात खान दिन्न भन्ने जमात बढ्दै गएको छ । यसकारण, अधिक युवाले नदीनालाको देश छाडेर समुद्रका देश रोज्दै छन् । तिनै युवाले पठाएको विप्रेषणबाट भाग छुट्याएर तलब खानमै नेताहरू रमाइरहेका छन् । कक्षाकोठामा गणतन्त्र ल्याउने अठोट उनीहरूमा देखिँदैन ! सार्वजिनिक शिक्षा सुधारका भाषण गर्नेले नै आफ्ना सन्तानलाई विदेशका महँगा शिक्षालयमा पढाउनु यसैको ज्वलन्त उदाहरण हो । 

दरबारको ‘फायर’सँग नडगमगाउँदै ‘टायर’ बाल्ने विद्यार्थी संगठनले विभेदी र थोत्रो शिक्षा पद्धतिको अन्त्य गराउँदै गणतान्त्रिक शिक्षा पद्धतिको प्रारम्भका निम्ति धाबा बोल्नैपर्छ । गुणस्तरीय शिक्षालाई भुइँ मान्छेको पहुँचमा पुर्‍याउन सक्दा मात्र गणतन्त्रको स्वामित्वले सर्वव्यापकता पाउनेछ । बालुवा चाल्ने र गिट्टी फुटाउनेका सन्तानको पहुँचमा स्तरीय र सर्वसुलभ शिक्षा नपुग्दासम्म हामीले गणतन्त्र प्राप्तिका लागि गरेको आन्दोलनले सार्थकता प्राप्त गर्दैन । नक्सालको डन्डाघर (प्रहरी हेडक्वार्टर) तिर मात्र ध्यान दिने नेतालाई कीर्तिपुरको घन्टाघर (त्रिवि) तिर ध्यान दिने परिस्थिति निर्माण गर्नुपर्ने दायित्व विद्यार्थी संगठनकै हो ।

असमान शिक्षा प्रदान गर्नु असमानता सिर्जनाको पहिलो आधार हो । राज्यले कसैलाई दीक्षा कसैलाई भिक्षा मात्र दिइरहेछ । गणतान्त्रिक समाजमा ‘पानी भेदभाव’ हट्यो तर ‘शिक्षा भेदभाव’ हटेको छैन । झन्–झन् बढेको छ । अघोषित ‘शमशेर’ र ‘वीर विक्रम’हरू थुप्रिँदै छन् । यदि, गणतन्त्रलाई दिगोपन प्रदान गर्ने हो भने शिक्षा क्षेत्रमा आयामिकता थप्नैपर्छ । संस्कृति, भूगोल, पर्यावरणमा विविधता भएको मुलुकको शिक्षा पद्धतिमा घरायसीपनसँगै विश्व परिवेश र प्रविधिको तादम्य मिलाई गुणस्तरीय र सर्वसुलभ शिक्षाको नीति अंगीकार गर्न राज्यले विलम्ब गर्नुहुँदैन ।

‘स्व’ र ‘विश्व’ जोड्ने शिक्षा आजको मूलभूत आवश्यकता हो । निजत्वको उजागर गराउँदै व्यक्तिलाई प्रतिस्पर्धात्मक क्षमताको आलोकमा पुर्‍याउने शिक्षा हामीलाई चाहिएको छ । नेपाली माटो र विश्व परिवेश सुहाउँदो सीपसहितको प्राज्ञिक शिक्षा आर्जन गर्न पाउँदा प्रत्येक नेपालीमा आत्मविश्वास बढ्छ । आत्मविश्वासले आत्मगौरव बढाउँछ, आत्मगौरवले राज्य र व्यवस्थाप्रतिको गौरव बढाउँछ । यसकारण, कक्षाकोठामा गणतन्त्र ल्याउन लागिपरौँ ।
(ठगुन्ना अनेरास्ववियु केन्द्रीय सदस्य हुन्)

ad
ad