१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तेक्वान्दो पारा खेलाडी पलेशा गोवर्धन ओलम्पिक दीप प्रज्वलन गर्दै । तस्बिर : राखेप
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्थानीयस्तरबाटै खेलाडी तयार गर्नुपर्छ : राष्ट्रपति पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१७:oo

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले मंगलबार दशरथ रंगशालामा १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन सकिने र त्यसका लागि स्थानीयस्तरबाटै खेलाडी तयार पार्नुपर्ने बताएका छन् । ‘खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय तह र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ । 

खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ,’ राष्ट्रपति पौडेलले भने । उनले गाउँ–गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत–साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले प्रतियोगिता बढ्दै जानु सन्तोषको विषय रहेको बताउँदै खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गर्न ध्यान दिनुपर्ने औँल्याए । ‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्, कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ ।’

गणेशको राष्ट्रिय कीर्तिमान
गण्डकी प्रदेशका गणेश विकले १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा जुनियरतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै लुम्बिनीका प्रभु थारूले बनाएको कीर्तिमान भंग गरेका हुन् । ०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभुले १.७७ मिटरमा यो कीर्तिमान बनाएका थिए । बागमती प्रदेशका अविनास सुनार १.७५ मिटर जम्प गर्दै दोस्रो तथा लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा १.७० मिटर जम्प गरेर तेस्रो भएका छन् । छात्रातर्फको जम्पमा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी १.४१ मिटरसहित पहिलो भइन् । गण्डकीकी सीमा श्रेष्ठ दोस्रो र लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा संयुक्र तेस्रो भएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलबार ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ । छात्र एक हजार पाँच सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । कर्णालीका अजय विक दोस्रो तथा सुदूरपश्चिमका विक्रम विक तेस्रो भए । छात्रातर्फमा कर्णालीकी कल्पना बुढा पहिला सुदूरपश्चिमकी देवकीकुमारी धामी दोस्रो र बागमतीकी अस्मिता भुजेल तेस्रो भए । 

छात्राको चार सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो, बागमतीका सन्तबहादुर दराई दोस्रो तथा कोशी प्रदेशका राकेश सार्की तेस्रो भएका छन् । छात्रातर्फ कर्णालीकी सरिता खड्का पहिलो, लुम्बिनीकी अनिशा थारू दोस्रो र कर्णालीकी भावना कर्साल तेस्रो भइन् । छात्रको एक सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादव पहिलो, बागमतीका प्रवीण रानामगर दोस्रो र सुदूरपश्चिमका चन्द्र बोहरा तेस्रो भए । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो, गण्डकीका एन्जल अधिकारी दोस्रो तथा निशा घर्ती तेस्रो भए ।

ad
ad