मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ५ बुधबार
  • Thursday, 26 December, 2024
लगानी सम्मेलनमा सोकेस गर्न लागिएको कालीगण्डकी–२ स्टोरेज हाइड्रोपावरको बाँध निर्माणस्थल ।
२o८१ बैशाख ५ बुधबार o६:o८:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लगानी सम्मेलनमा ‘सोकेस’ गरिँदै १४८ परियोजना

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ५ बुधबार o६:o८:oo

२० परियोजनामा आशयपत्र आह्वान, निजी क्षेत्रबाट ३१ आयोजना प्रस्ताव

१६ र १७ वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदर्शन (सोकेस) गर्न विभिन्न क्षेत्रका १४८ परियोजनाको सूची तय गरिएको छ । सम्मेलनको प्राविधिक समितिले ती परियोजनाको अन्तिम सूची तयार गरेर सोमबार कार्यान्वयन समितिमा पेस गरेको हो । जसमा अधिकांश जलविद्युत्सम्बन्धी परियोजना छन् । 

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले सम्मेलनमा प्रदर्शन गर्ने परियोजनाको अन्तिम सूची तयार भएको बताए । ‘सम्मेलनमा सोकेस (प्रदर्शन) गरिने परियोजनाको अन्तिम सूची तयार भयो । कार्यान्वयन समिति र निर्देशक समिति हुँदै ती परियोजना सम्मेलनमा सोकेस हुनेछन्,’ उनले भने, ‘त्यसपछि लगानीकर्ताले आफ्नो इच्छाअनुसारको परियोजनामा लगानी प्रस्ताव गर्न सक्नेछन् ।’

सम्मेलनमा १४८ मध्ये २० परियोजनामा आशयपत्र आह्वान गरिनेछ । जसमा १२ परियोजनाको आशयपत्र लगानी बोर्ड र आठ परियोजनाको तालुक मन्त्रालयबाट आह्वान हुनेछ । यी परियोजना बनाउन निश्चित अवधि राखेर आह्वान हुनेछ । तोकिएको अवधिभित्र परियोजना निर्माण गर्न इच्छुक लगानीकर्ताले प्रस्ताव पेस गर्न सक्नेछन् । प्रस्ताव गर्नेमध्येबाट छनोट भएका कम्पनीसँग पहिलो चरणमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने थप प्रक्रिया पूरा गरेर परियोजना विकास सम्झौता गरिनेछ । सम्मेलनमै लगानी समझदारी वा सम्झौता भने हुनेछैनन् । लगानी जुटेमा यी परियोजना तत्काल निर्माण गर्न सकिन्छ ।

अवधारणा विकासको चरणमा रहेका ३१ परियोजना पनि प्रदर्शन हुनेछन् । यसको सम्भाव्यताबारे जानकारी दिएर इच्छुक लगानीकर्तासँग आवश्यक समझदारी गर्ने योजना हो । समझदारीपछि लगानीकर्ताले थप अध्ययन गरेर परियोजना अघि बढाउन सक्ने लगानी बोर्डका प्रवक्ता उपाध्यायले बताए । 

त्यस्तै, वित्तीय व्यवस्थापनका लागि १८ परियोजना पेस गरिने भएको छ । लगानी जुट्न नसकेर निर्माणमा जान नसकेको परियोजनालाई यसअन्तर्गत राखिने बोर्डले जनाएको छ । ‘लगानी जुटेको अवस्थामा यी परियोजनाको निर्माण तत्काल अघि बढाउन सकिन्छ । तसर्थ, ऋण तथा सेयर दुवै माध्यमबाट लगानी जुटाउने गरी यी परियोजना सोकेस गरिनेछन्,’ उपाध्यायले भने ।

१४ परियोजनाका लागि भने निजी लगानी जुटाउन आह्वान गरिने भएको छ । निजी लगानीका लागि तोकेरै प्रदर्शन गर्न लागिएका परियोजनामा १२ खानीसम्बन्धी, एउटा केबलकार र अर्को एउटा जैविक मल उत्पादन तथा अनुसन्धान केन्द्र छन् । 

सरकारले पेस गर्ने परियोजनाबाहेक सम्मेलनमा निजी क्षेत्रले पनि ३१ परियोजना सोकेस गर्नेछन् । ती परियोजनामा लगानी गर्न निजी क्षेत्रले प्रस्ताव गर्नेछन् । त्यस्तै, कुनै वर्गीकरण नगरी खुला रूपमा २७ परियोजना सोकेस हुँदै छन् ।

सम्मेलनमा सोकेस गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको ‘मास्टरप्लान’

आशयपत्र आह्वान गरिने २० परियोजना
पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी, बबरमहल प्रशासनिक प्लाजा, नौमुरे बहुउद्देश्यीय जलविद्युत्, सुदूरपश्चिम सार्वजनिक यातायात, कालीगण्डकी– २ जलविद्युत्, भारभुङ जलविद्युत्, खिम्ती–ठोसे जलविद्युत्, दैजी औद्योगिक क्षेत्र, धौवदी फलाम खानी परियोजना, महादेव खोला जलाशययुक्त खानेपानी, कर्णाली चिसापानी वायु ऊर्जा, हुम्ला कर्णाली जलविद्युत्, अपर चमेलिया जलविद्युत्, पाँचखाल सेज, कबाडी खोला जलविद्युत्, टोम डोगर बुढीगण्डकी जलविद्युत् र सुपर बुढीगण्डकी जलविद्युत् परियोजना । यी परियोजना बनाउन निश्चित अवधि राखेर सम्मेलनमा आशयपत्र आह्वान हुनेछ । तोकिएको अवधिभित्र परियोजना निर्माण गर्न इच्छुक लगानीकर्ताले प्रस्ताव पेस गर्न सक्नेछन् ।

‘मार्केट साउन्डिङ’मा सात परियोजना
सिस्नेरी खानेपानी, मलेखु–लोथर सडक र सुरुङमार्ग, दाउन्ने सुरुङमार्ग, मिर्चैया–कटारी–घुर्मी सडक, धरान–लेउती सडक र सुरुङमार्ग, शक्तिखोर औद्योगिक विकास, खप्तड एकीकृत पर्यटन विकास परियोजना । सम्बन्धित परियोजनाको बजार देखाउने र बजार प्रतिक्रियाको मूल्यांकन गर्ने गरी यी परियोजनाको ‘मार्केट साउन्डिङ’ गरिने भएको हो । 

अवधारणा बन्दै गरेका ३१ परियोजना पनि प्रदर्शनमा
बागमारा मनोरञ्जनात्मक पार्क (चितवन), इलेक्ट्रिसिटी मोबिलिटी करिडोर विकास (लुम्बिनी), चियाको इअक्सन केन्द्र र गोदाम स्थापना तथा सञ्चालन, काँके–देउराली जलाशययुक्त खानेपानी, ठोस्ने खोला जलाशययुक्त पानी आपूर्ति, कम्प्रेस्ड बायोग्यास प्लान्ट, बडिमालिका पर्यटन विकास, काठमाडौं चक्रपथ द्रुत विद्युतीय बससेवा, चितवन–बुटवल द्रुतमार्ग, चितवन–पोखरा द्रुतमार्ग, फास्ट चार्जिङ स्टेसन, सिसा उत्पादन, ग्रेटर लुम्बिनी पर्यटक सर्किट यातायात, आइटी पार्क, मुदी पर्यटन विकास, दोलखा फिल्म सिटी, गौतमबुद्ध मातृत्व अस्पताल, ग्रेट हिमालयन ट्रायल पर्यटन, ताल–तलैया बहुदेशीय पर्यटन, सार्वजनिक यातायात (मधेश प्रदेश), सार्वजनिक विद्यालयको सुदृढ, पश्चिम सेती टाउनप्लानिङ, हेम्जा–नयाँ पुल सुरुङमार्ग, कोखाजोर जलविद्युत्, कन्काई जलविद्युत्, सिमरा सेजको ब्लक बी र सीको विस्तार, सिमरा सेजको ब्लक डी र ईको विकास, अन्डरग्राउन्ड पालिका बजार (लगनखेल), मल्टी लियर भर्टिकल पार्किङ (पाटन, ज्वालाखेर लामाचौर) र पोल सिजनिङ एन्ड ट्रिटमेन्ट प्लान्ट परियोजना पनि सम्मेलनमा सोकेस गरिनेछ । यी परियोजनाको सम्भाव्यताबारे जानकारी दिएर इच्छुक लगानीकर्तासँग आवश्यक समझदारी गर्ने योजना हो । समझदारीपछि लगानीकर्ताले थप अध्ययन गरेर परियोजना अघि बढाउन सक्छन् । 

वित्तीय व्यवस्थापनका लागि पेस गरिने १८ परियोजना
हाई एन्ड रिसोर्ट, सिम्बुवा खोला जलविद्युत्, किमाथांका अरुण जलविद्युत्, मुगु कर्णाली जलविद्युत्, वेतन कर्णाली जलविद्युत्, इनरुवा–अनारमनी प्रसारण लाइन, अरुण हब–इनरुवा प्रसारण लाइन, तिंगला–दुधकोशी–ढल्केवर प्रसारण, मातातीर्थ–ढुकुछाप प्रसारण लाइन, ढुकुछाप–टेकु प्रसारण लाइन, तिंगलाहब–सुनकोशी–ढल्केवर प्रसारण लाइन, बुढीगण्डकी करिडोर प्रसारण लाइन, दमौली–कुस्मा–बाफीकोट (मध्यपहाडी) प्रसारण लाइन, घुन्सा खोला जलविद्युत्, तमोर–ढुंगेसाँगु प्रसारण लाइन, हितार–शीतलपाटी प्रसारण लाइन, नलगढ स्टोरेज जलविद्युत् र सूर्यतारा सिमेन्ट परियोजना । आर्थिक अभावमा निर्माणमा जान नसकेका यी परियोजनामा लगानी जुट्न सके तत्काल निर्माण अघि बढाउन सकिनेछ । 

निजी लगानी आह्वान गर्न लागिएका १४ परियोजना
अर्घाखाँची, धादिङ र सल्यानमा तीन चुनढुंगा खानी, बैतडीको दोगडाकेदार र सानगाउँमा फोसफराइट खोजतलास परियोजना, चितवन र लुम्बिनीमा पेट्रोलियम अन्वेषण, खोटाङमा डोलोमाइट खानी, काभ्रेमा ग्रेनाइट खानी, रुकुम पूर्वमा फलाम र तामा खानी, रोल्पामा सुनको खोजतलास परियोजना, उदयपुरमा म्याग्नेसाइट खानी, काभ्रेमा बेथानचोक–नारायणथान दर्शन केबलकार र जैविक मल उत्पादन तथा अनुसन्धान केन्द्र । यी परियोजना निजी लगानीका लागि तोकेरै प्रदर्शन गर्न लागिएको हो । 

लगानीका लागि निजी क्षेत्रले पेस गर्ने ३१ परियोजना
महाकाली सेती क्यासकेड जलविद्युत्, सिक्लेस अन्नपूर्ण केबलकार, जाल्पादेवी केबलकार, भरतपुर आइसल्यान्ड रिसोर्ट, मध्य कालीगण्डकी जलविद्युत्, टिपल्याङ कालीगण्डकी जलविद्युत्, आइएमई सिमेन्ट, काठमाडौं टेक्निकल स्कुल, पोडवेमा आधारित चुनढुंगा उत्खनन तथा वितरण, हेप्पी ल्यान्ड फन पार्क एन्ड रिसोर्ट, नेचुरल एग्रिकल्चर फार्म, कम्पोस्ट मल परियोजना, रिभल्बिङ पार्किङ, अपर सानी भेरी जलविद्युत्, पेल्मा खोला अर्धजलाशय जलविद्युत्, दाना खोला जलविद्युत्, माथिल्लो बुढीगण्डकी जलविद्युत्, मुगु कर्णाली जलविद्युत्, ल्याद्रुक मोदी जलविद्युत्, बलेफी खोला जलविद्युत्, नरखोला जलविद्युत्, चुवा खोला क्यासकेड जलविद्युत्, अपर चुवा लुरुप्या जलविद्युत्, अपर अप्सुवा जलविद्युत्, अपर भेरी जलविद्युत्, सुर्के दुधकोशी जलविद्युत्, अपर मस्र्याङ्दी–१ जलविद्युत्, अप्सुवा खोला–१ जलविद्युत्, सगरमाथाको ट्रेलमा १० लक्जरी होटेल स्थापना र गोपीकृष्ण सेन्ट्रल प्लाजा परियोजना निजी क्षेत्रले सोकेस गर्नेछन् । 

खुला रूपमा थप २७ परियोजना सोकेस हुने 
सम्मेलनमा खुला रूपमा (वर्गीकरणविना) थप २७ परियोजना सोकेस हुनेछन् । एकीकृत माछापालन परियोजना, मासु प्रशोधन गृह निर्माण तथा सञ्चालन, छुर्पीको निर्यात प्रवद्र्धन तथा गुणस्तर सुधार, कागज कारखाना, हरित हाइड्रोजन तथा हरित अमोनिया प्लान्ट, सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक मेट्रोरेल, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्ट मेट्रोरेल र चाबहिल–स्वयम्भू–कोटेश्वर मेट्रोरेल रहेका छन् । त्यस्तै, रुद्रपुरगढी पर्यटन विकास, मुलाबारी–साउनेथुप पदमार्ग, अदुवा विकास परियोजना, डेटा सेन्टर परियोजना, नयाँ सहर विकास परियोजना (इशान) र नुनथर फिल्म सिटी परियोजना सम्मेलनमा खुला रूपमा सोकेस हुनेछन् । अलैँची विकास परियोजना, उच्च भूभागको आलु विकास परियोजना र टिमुर विकास परियोजना पनि सम्मेलनमा प्रस्तुत हुनेछन् । त्यस्तै, पोखरा महानगरपालिकामा आधुनिक टर्मिनलसहितको बसपार्क बनाउने परियोजना पनि सम्मेलनमा सोकेस गरिनेछ । पोखरा महानगरपालिकामै मासु प्रशोधन गृह सञ्चालन गर्ने परियोजना पनि सम्मेलनमा प्रस्तुत गरिनेछ । 

पोखरा महानगरपालिकाकै बेगनास–रूपाताल जल खेलकुद, गोदाम, पोडवे, प्रदर्शनी केन्द्र परियोजना, अटो भिलेजसम्बन्धी छुट्टाछुट्टै परियोजना पनि सम्मेलनमा सोकेस गरिनेछ । बुटवलको सेम्लार बजार विकास परियोजना, रबरमा आधारित कृषि वन परियोजना र चुरे क्षेत्रमा बिग्रेको जमिनको पुनस्र्थापनासम्बन्धी परियोजना सम्मेलनमा पेस हुनेछन् ।