लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुदृढ बनाउँदै आर्थिक वर्ष ०७९/८० सम्मको सवारीसाधन कर्जा तथा आवासीय कर्जाअन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ।
बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पिसिएएफ)सँग २०२१ देखि आबद्व हुँदै आएको छ। पिसिएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरूमार्फत उत्सर्जन हुने हरितगृह ग्यासको मूल्यांकन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्दछ।
लक्ष्मी सनराइजको प्रकाशित विवरणले बैंकको सवारीसाधन कर्जा र आवासीय कर्जामार्फत गत आर्थिक वर्ष (१६ जुलाई २०२३) सम्म कुल १५ हजार ९६५.११ टनबराबर कार्बनडाइअक्साइड उत्सर्जन गरेको देखाएको छ। जसमध्ये सवारीसाधन कर्जामार्फत तीन हजार ६४४.५१ टन र आवासीय कर्जामार्फत १२ हजार ३२०.६० टन कार्बन उत्सर्जन भएको छ।
आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनकाे असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाएको बैंकले जनाएको छ। विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुदृढ बनाउने, पूर्ण रूपमा डिजिटल बचत खाताहरूको सञ्चालन गर्ने र ग्राहकहरूलाई दिगो अभ्यासहरू गर्न प्रेरित गर्नेलगायतका कार्यहरू गर्दै आएको बैंकको भनाइ छ।