१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हेटौँडाको गुन्द्रुकलाई बजारीकरणको अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:२३:oo

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का महिलाहरूले उत्पादन गरेको गुन्द्रुकले बिक्री–वितरणका लागि सरकारी मान्यता (अनुज्ञापत्र) पाएको छ । 

हेटौँडा–१२, घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगमा आबद्ध महिलाहरूले उत्पादन थालेको गुन्द्रुकले अनुज्ञापत्र पाएपछि हेटौँडालगायत विभिन्न सहरमा बिक्रीका लागि अनुमति पाएको हो ।

समूहकी अध्यक्ष चिनीमाया गुरुङले आफूहरूले उत्पादन गरेको गुन्द्रुकलाई करिब चार महिनासम्मको नियमित परीक्षण र निगरानीपछि बिक्री अनुमति दिएको जानकारी दिइन् । उपमहानगरपालिकाले उपलब्ध गराएको तालिम र एक लाख बिउपुँजीबाट सुरु गरेको गुन्द्रुक उत्पादनले बजारीकरणको अनुमति पाउँदा खुसी लागेको उनले बताइन् ।

उपमहानगरपालिकाको एक लाख रुपैयाँबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृत पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।

‘आय–आर्जनको खासै केही पेसा नभएको समयमा उपमहानगरपालिकाले तालिम र बिउपुँजीस्वरूप एक लाख दिने भएपछि गुन्द्रुक उत्पादन गरेका हौँ । उहाँहरूले बजारीकरणका लागि पनि पहल गर्ने वचन दिनुभएको छ,’ उनले भनिन् ।

उपमहानगरको एक लाख र सहकारीबाट ८० हजार रुपैयाँ ऋण लिएर भाडाको १५ कट्ठा जमिनमा आफैँले साग लगाई गुन्द्रुक उत्पादन थालेको अध्यक्ष गुरुङको भनाइ छ । अनुज्ञापत्र नहुँदा उत्पादन गरेको गुन्द्रुक बजारमा लैजान नपाएर करिब तीन लाख रुपैयाँबराबरको गुन्द्रुक स्टोर गरेर राखेको पनि अध्यक्ष गुरुङले जानकारी दिइन् ।

‘अब बजारीकरणको बाटो खुलेको छ । उपमहानगरपालिकासँगै सबैको सहयोगले समूहमा रहेका १२ जनाले गरेको कामले सार्थकता पाउँछ भन्नेमा विश्वास लागेको छ,’ अध्यक्ष गुरुङले भनिन् ।

उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उपमहानगरको सहयोगमा उत्पादित गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले पहिलो चरणमा हेटौँडाका होटेलहरूमा प्रवद्र्धनका लागि राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि पनि सहयोग गर्ने बताइन् ।

अनुज्ञापत्र हस्तान्तरण कार्यक्रममा होटेल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिसगोविन्द जोशी, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक अनिल बानियाँले स्थानीयस्तरमा उत्पादन भएको गुन्द्रुकले पहिलोपटक सरकारी मान्यता पाएको भन्दै बजारीकरणमा सबैले सहयोग गर्नुपर्ने बताए ।

ad
ad