१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विदेशी लगानीकर्तालक्षित २१ परियोजना तयार, आठ खर्ब ९१ अर्ब १५ करोड अनुमानित लागत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:११:oo

आगामी १६ र १७ वैशाखका लागि तय भएको लगानी सम्मेलनमा २१ परियोजनाको विकास निर्माणका लागि आशयपत्र नै आह्वान गरिने भएको छ । लगानी जुटेको अवस्थामा तत्काल निर्माणमा जान सक्ने (रेडी टु गो) अवस्थाका उक्त २१ परियोजनामा विदेशी लगानीकर्ता आकर्षण गर्ने सरकारी योजना छ । 

तेस्रोपटक हुन लागेको लगानी सम्मेलनमा प्रस्तुत गर्न हालसम्म एक सय ३२ आयोजनाको मूल्यांकन भइरहेको छ । त्यसमध्ये २१ आयोजनामा आशयपत्र नै आह्वान गर्न सकिने भएकाले तयार अवस्थामा राखिएको लगानी बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले बताए । ‘हामी अझै पनि प्रस्तावित अन्य आयोजनाको मूल्यांकन तथा वर्गीकरण गरिरहेका छौँ । तसर्थ, यो संख्या थप बढ्न सक्छ,’ उनले भने । 

प्रद्युम्नप्रसाद उपाध्याय सहसचिव, लगानी बोर्ड
हामी अझै पनि प्रस्तावित अन्य आयोजनाको मूल्यांकन तथा वर्गीकरण गरिरहेका छौँ । तसर्थ, यो संख्या थप बढ्न सक्छ ।

आयोजना विकासका क्रममा परियोजनाको पहिचान, पूर्व सम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लगायत पूर्वतयारीको काम गर्नुपर्छ । २१ परियोजना सबै पूर्वतयारीका काम सकेर राखिएका छन् । यी परियोजनाको अनुमानित लागत आठ खर्ब ९१ अर्ब १५ करोड रुपैयाँ रहेको छ । 

लगानी जुटेको अवस्थामा ती आयोजना तत्कालै निर्माणमा जान सक्ने बोर्डका प्रवक्तासमेत रहेका उपाध्यायले बताए । यद्यपि, आयोजना प्रभावित क्षेत्रमा जग्गा तथा सम्पत्तिको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण र वितरण भने सम्झौतापछि हुनेछ । रुख कटानीको स्वीकृत पनि त्यसपछि नै लिनुपर्ने बोर्डको भनाइ छ । 

सरकारले लगानी सम्मेलनमा निश्चित अवधि राखेर ती परियोजना बनाउन आशयपत्र आह्वान गर्नेछ । त्यसपछि सोही अवधिभित्र इच्छुक लगानीकर्ताले प्रस्ताव पेस गर्न सक्नेछन् । त्यसपछि उनीहरूमध्येबाट छनोट भएका कम्पनीसँग पहिलो चरणमा समझदारीपत्रमा हस्ताक्षर गरिनेछ । त्यसपछि थप प्रक्रिया पूरा गरेर परियोजना विकास सम्झौता गरिनेछ । 

‘सम्मेलन दुई दिनको मात्रै छ । तर, आशयपत्रको म्याद बढी हुन्छ । लगानी सम्मेलनका अवसरमा यी आयोजनाहरू आशयपत्रसहित प्रदर्शनी हुन्छन् । त्यस क्रममा लगानीकर्ताले तोकिएको प्रक्रियामा आवेदन दिनुपर्ने हुन्छ,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर छनोट गर्ने काम हुन्छ ।’

एक खर्ब ७४ अर्ब ४९ करोडबराबरका चार परियोजना कार्यान्वयनका लागि अन्तिम सम्झौता गर्ने पक्का
सम्मेलनमा चार परियोजनाको विकासका लागि अन्तिम सम्झौता नै हुँदै छ । डाबर नेपालसँग थप लगानी सम्झौता हुँदै छ । डाबर नेपालले क्षमता विस्तार परियोजनामा भारतबाट नौ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ लगानी ल्याउँदै छ ।

यसैगरी, ३२७ मेगावाट अपर मस्र्याङ्दी–२, चीन–नेपाल मैत्री औद्योगिक पार्क र ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाटको सोलार प्लान्टको भने परियोजना विकास सम्झौता (पिडिए) गर्ने तयारी गरिएको हो ।

लमजुङ र मनाङमा बन्ने ३२७ मेगावाटको अपर मस्र्याङ्दी–२ मा ७८ अर्ब ३० करोड ६४ लाख रुपैयाँ, दमकको औद्योगिक पार्कमा ६४ अर्ब ९० करोड रुपैयाँ र बाँके तथा कपिलवस्तुमा बन्ने समान १२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा २१ अर्ब ६० करोड रुपैयाँ विदेशी लगानी आउँदै छ । यसरी लगानी सम्मेलनमा एक खर्ब ७४ अर्ब ४९ करोडबराबरका चार परियोजना कार्यान्वयनका लागि अन्तिम सम्झौता गर्ने पक्का भइसकेको छ । 

ad
ad