१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवलपुरमा अम्रिसोले मूल्य पाएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:१८:oo

झट्ट हेर्दा इलामको चिया बगानजस्तै भएका छन् नवलपुरका अधिकांश डाँडा। नांगाे डाँडालाई हरियो बनाउन, भूक्षय, बाढीपहिरो रोक्न र स्थानीयलाई जीविकोपार्जनमा सहज होस् भनेर नवलपुरका पहाडी क्षेत्रमा गरिएको अम्रिसो खेती अहिले व्यापक विस्तार भएको छ।

गत वर्षसम्म राम्रो आम्दानी पाएर हौसिएका यहाँका बासिन्दाको मन यो वर्ष भने अमिलिएको छ। किनकि अहिले अम्रिसोले उचित मूल्य पाएको छैन। गत वर्षसम्म राम्रो बजारभाउ पाएको अम्रिसोको यस वर्ष बजारभाउ ह्वात्तै घट्दा पूर्वी नवलपरासीका किसान मारमा परेका हुन्।

गत वर्ष प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री भएको अम्रिसो अहिले घटेर प्रतिकिलो ७० रुपैयाँमा झरेको छ। नेपालमा अम्रिसो उत्पादन अत्यधिक भएको तथा यसको माग नेपाली बजारले थेक्न नसक्दा भारतीय बजारको भर पर्नुपर्दा मूल्य नपाएको हो।

पूर्वी नवलपरासीमा अहिले पहाडी क्षेत्रका नांगा डाँडाहरू कबुलियती वनमार्फत अम्रिसो खेती गरेर हराभरा भएको छ। पूर्वी नवलपरासीमा एक सय ६७ वटा कवुलियती वन बनाएर यहाँका स्थानीयले समूहमा अम्रिसो खेती गरेका छन्। ती कबुलियती वनबाट यहाँका बासिन्दाले गत वर्ष मात्रै तीन करोड १८ लाख ६५ हजार रुपैयाँको अम्रिसो बिक्री गरेका थिए।

वर्षमा तीन महिना खान पुर्‍याउनै धौधौ हुने गरेको स्थानीयलाई अम्रिसो खेती सुरु गरेपछि बाह्रै महिना घरखर्च धान्न सहज भएको स्थानीय बासिन्दा एवं अम्रिसो खेतीका सुपरभाइजर तुलबहादुर राना बताउँछन्। तर, यस वर्ष भने त्यो सहजता नहुने हो कि भन्ने आशंका बढेको छ। ‘बजारभाउ आए त यहाँको बासिन्दामा फेरि आशा जाग्ला, तर क्रमशः बजारभाउ घट्दै गयो भने यहाँका बासिन्दाले अब अर्को विकल्प खोज्न बाध्य हुनेछन्,’ उनले भने।

०७० सालबाट व्यावसायिक अम्रिसो खेती गरेका यहाँका बासिन्दालाई यस वर्ष एक्कासि गिरावट आएको बजारभाउले आशंका उब्जाइदिएको छ। अम्रिसोको उत्पादनअनुसार बजारीकरण हुन नसकेको स्थानीय आसबहादुर दराई मगरले गुनासो गरे।

संकलन केन्द्रमा जम्मा भएको अम्रिसो बुटबल, भैरहवा, नारायणगढ, काठमाडौं, पोखरासम्म पुग्ने गरेको स्थानीय उपभोक्ता सूर्यबहादुर सारूले जानकारी दिए। ती सहरहरूमा खपत भएर बढी भएको अम्रिसोको कुचो भारत निर्यात हुने गरेको उनले बताए।

यहाँ नांगाे डाँडालाई हरियो बनाउने डिभिजन वन कार्यालयले अम्रिसो खेती गर्नका लागि बिरुवा उपलब्ध गराउने, प्राविधिक सहयोग गर्नेलगायतका कार्य गर्दै आएको छ। गत वर्षसम्म अम्रिसो खेतीबाट राम्रो आम्दानी गरेका यहाँका किसान यस वर्ष भने बजारभाउ नआएकै कारण निराश भएका छन्।

डिभिजन वन कार्यालयले तरकारीमा मसलाको रूपमा प्रयोग गरिने तेजपत्ता, पिपला र अलैँचीका साथै अम्रिसो खेती गर्न पहाडका नांगा डाँडा स्थानीय बासिन्दालाई समूह बनाएर कबुलियती वनको रूपमा हस्तान्तरण गरेको छ। बौदीकाली र हुप्सेकोटमा अम्रिसो खेती भने अत्यधिक सफल भएको डिभिजन वन कार्यालय कावासोतीका वन अधिकृत शिशिर लम्सालले बताए।

पूर्वी नवलपरासीमा करिब १५ सय हेक्टर क्षेत्रफलमा कबुलियती वनमार्फत अम्रिसो खेती हुने गरेको छ। विशेषगरी यहाँको पहाडी भेगलाई लक्षित गरी डिभिजन वन कार्यालयले अम्रिसो खेती कार्यक्रम प्रोत्साहन गरेको हो।

नेपालमा उत्पादित अम्रिसो नेपाली बजारले धान्न नसकेको र भारतकै भर पर्नुपर्ने भएकाले यस वर्ष अम्रिसोले बजार भाउ पाउन नसकेको डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारीले बताए।

अम्रिसोको बजार भाउ नआएपछि निराश बनेका यहाँका किसानमध्ये कतिपयले घरखर्च चलाउनै गाह्रो भएकाले सस्तोमै भए पनि बिक्री गरिरहेका छन् भने कतिपयले बजार भाउ बढ्ने आशमा छन्। बाटो विस्तार र बजारीकरण भएमा अम्रिसो खेतीलाई थप विस्तार गर्न सकिने बौदीकाली– ४ का वडाध्यक्ष मानबहादुर सारू मगर बताउँछन्।

ad
ad