१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
प्याट्रिक बारखम
२o८१ बैशाख १९ बुधबार १o:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मेरुदण्डविहीन जीव : मानवजीवनको आधार 

Read Time : > 2 मिनेट
प्याट्रिक बारखम
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५४:oo

अहिले जीव प्रजातिको छैटौँ महाविनाश चलिरहेको छ र यसको आर्किटेक्ट हामी हौँ । यसले अन्ततः होमोसेपियन्सलाई नै निल्नेछ ।

हामी आफू र आफूजस्ता जीवप्रति बढी नै अनुरक्त हुन्छौँ । तर, पृथ्वीको अधिकांश जीवन हाम्रो जस्तो छैन । सम्पूर्ण ज्ञात जीवमध्ये मुस्किलले पाँच प्रतिशत मेरुदण्डयुक्त (भर्टिबेट) होलान् । बाँकी ९५ प्रतिशत अर्थात् कम्तीमा १३ लाख प्रजाति र पत्ता लाग्न बाँकी अझ धेरै जीव प्रजातिहरू मेरुदण्डविहीन (इन्भर्टिबेट) छन् ।

आश्चर्यजनक रूपले विविधतापूर्ण छन्, यस ग्रहका मेरुदण्डविहीन जीवहरू । तिनका वासस्थान अद्वितीय छन् । तिनका बाँच्ने तरिका रोचक र नवप्रवर्तनात्मक लाग्छन् । यी जीवमा कीटपतङ्ग (कम्तीमा एक लाख प्रजाति), अराक्निड (माकुरा आदि), शंखेकिरा, क्रस्टेसियन (कनसुत्ला आदि), कोरल, जेलिफिस, परजीवी र इचिनोडर्म (स्टारफिस, सी कुकुम्बर) आदि पर्छन् ।

संख्यात्मक लाभ, मौलिकता र आश्चर्यजनक शक्ति (करिज्मा)का बाबजुद मेरुदण्डविहीन जीवहरू हामीले सहानुभूति वा एन्थ्रोपोमोर्फाइज गर्न सक्ने हामीसँग मिल्दाजुल्दा वा दुई आत्मीय आँखा, ठूला आकार र धिमा गतिमा हिँड्ने प्रजातिप्रतिको अनुग्रहका कारण हाम्रो उपेक्षामा छन् । पग्लँदो हिमनदीमा फसेको धु्रवीय भालु (पोलार वियर) वा खण्डित जंगलको लोपोन्मुख पान्डालाई बचाउन हामी भरमार पैसा खर्च गर्छाैं । किनकि हामी उनीहरूको पीडा महसुस गर्छाैं । तर, हामी गड्यौलाले दुखाइ महसुस गर्छन् कि गर्दैनन् भन्नेमा पनि निश्चिन्त छैनौँ ।

एउटा सानो मेरुदण्डयुक्त जीव पनि हाम्रो राडारमा हुन्छ । किनकि उनीहरू हाम्रो दैनिक जीवनमा देखिन्छन् । उदाहरणका लागि राता पाटे पुतली अथवा घरमाकुरा वा भनाैँ माहुरीहरू । तर, निकै ठूलो संख्यमा रहेका बहुमत जीवहरू हाम्रो जानकारी वा ज्ञानको सीमाबाहिर बस्छन्– मानव प्रशंसा वा वैज्ञानिक अध्ययनबाट एकदमै पर । यी जीवलाई पक्कै पनि हाम्रो प्रशंसाको खाँचो पर्दैन । उनीहरू हाम्रो दायराभन्दा बाहिर नै ठीक छन् । दुर्भाग्य, यस एन्थ्रोपोसिन (मानव प्रधान) युगले कुनै पनि प्रजातिलाई एक्लै छोड्दैन । धेरै जीव हामीलाई थाहै नदिई समाप्त भइरहेका छन् । अहिले जीव प्रजातिहरूको छैटौँ महाविनाश चलिरहेको छ र यसको आर्किटेक्ट हामी हौँ । 

हामीले विलोपीकरणको यो संकटलाई कम गर्न कदम चाल्नुपर्छ । किनकि महाविनाशको यो लहरले अन्ततः होमो सेपियन्सलाई नै निल्नेछ । अमेरिकी जीववैज्ञानिक इओ विल्सनले सन् १९८७ मा नै चेतावनी दिएका थिए, ‘सच्चाइ के हो भने हामीलाई इन्भर्टिबेटहरू चाहिन्छन्, तर उनीहरूलाई भने हाम्रो खाँचो छैन ।’ उनले मेरुदण्डयुक्त जीवविना मानवजाति केही महिना पनि टिक्न नसक्ने भविष्यवाणी गरेका छन् । यदि हामीले परागकण सेचकहरू, अक्सिजनेटरहरू, खाद्य आपूर्तिकर्ताहरू, हाइजिनिस्ट (सफाइकर्ता किरा) र हामीलाई अनगिन्ती फाइदा प्रदान गर्ने सबै इन्भर्टिबेटलाई नष्ट गर्यौं भने हामी यो संसारमा लामो समय टिक्नेछैनौँ ।

संसारभर नै उड्ने किराहरूको प्रचुरता घट्दै गएको प्रमाण छ । तथापि, अधिकांश इन्भर्टिबेट हामीभन्दा बढी लचिल देखिएका छन् । डायनासोर लोप भइसकेको करोडाैँ वर्षपछि पनि किराफट्यांग्राहरू अस्तित्वमा छन् । यी पहिलेका पाँचवटा सामूहिक महाविनाशबाट बचेका छन् । हरेक इन्भर्टिबेट जीवलाई नष्ट गर्नुअघि नै हामी आफैँ सखाप हुने सम्भावना बढी छ । तर, हाम्रो अस्तित्व रहँदासम्म पृथ्वीको जीवनलाई सकेसम्म हामीसँगै फस्टाउन दिनु हाम्रो नैतिक दायित्व हुन्छ ।

बेलायतमा विश्वव्यापी महाविनाशको संकट सूक्ष्म जगत्मा प्रकट भइरहेको छ । मानव कब्जाको दीर्घ इतिहास, अन्तभन्दा छिटो भएको औद्योगीकरण, उच्च जनसंख्या र प्रकृतिबाट टुटेको संस्कृतिको कारण, बेलायत पृथ्वीको सबैभन्दा प्रकृति–ह्रास भएको देशमध्ये एक हो । तथापि, यहाँका द्वीपसमूहवरपर नियमित रूपमा देखा पर्ने भलै सानो संख्यामा किन नहुन्, एक सय सात प्रकारका जल, थल र आकाशीय स्तनपायी जीवका साथै हाम्रा जल र जमिनमा अझै पनि कम्तीमा ४० हजार इन्भर्टिबेटहरू छन् । संरक्षणविदका अनुमानअनुसार बेलायतमा प्रत्येक ६ प्रजातिमध्ये एक लोप हुने खतरामा छ ।

यसै हप्ता हामी बेलायतमा पाइने इन्भर्टिबेट जीवनका विविधताको उत्सव मनाउन एक प्रतियोगिता सुरु गर्दै छौँ । इन्भर्टिबेट जगत्, तिनको बाँच्ने नवीन तौरतरिका र तिनको महत्वलाई उजागर गर्दा उनीहरूको गुम्दो प्रचुरता र विविधताबारे र यसमा हामीले के गर्न सक्छौँ भन्नेबारे जागरुकता बढाउन सकिने हाम्रो अपेक्षा छ ।

हामीले ‘ब्रिटिस इन्भर्टिबेट अफ द इअर २०२४’का लागि १० प्रजातिको सूची छनोट गरेका छौँ । सूचीको संख्या निराशाजनक रूपमा अपर्याप्त छ । हामीले विभिन्न ‘फाइला’ र ‘क्लास’हरूबाट सुपरिचित र कम ज्ञात इन्भर्टिबेटहरूको मिश्रित नाम चयन गरेका छौँ । मनोनीत प्रत्येक जीव प्रजातिले जीवनको एक उल्लेखनीय तरिकाको कथा बताउँछ । मनोनीत जीवको कुनै नामले आशाको सन्देश बोक्छ भने कुनैले चेतावनीको । केहीचाहिँ विश्वव्यापी तापमानको यस युगमा पनि फस्टाउँदै छन् । (बदलिँदो जलवायु र विश्वको चरमतासँग अनुकूलन गर्ने ती साना जीवको क्षमतालाई कहिल्यै कम नआँकौँ ।) केहीचाहिँ घट्दो क्रममा छन् । यहाँनेर यी प्रजाति हामीलाई बदलिन र पहलकदमी लिन घचघच्याउने गैरमानव दूत एवं अभियन्ता हुन् । 

यदि तपाईं एक समुद्री जीववैज्ञानिक, कीटवैज्ञानिक वा सौखिन प्रकृतिवादी हुनुहुन्छ भने पनि वा तपाईं अन्य जीवबारे धेरै ज्ञान राख्नुहुन्न भने पनि तपाईंले निश्चिय नै हाम्रो सर्टलिस्टमा स्पष्ट कमी पाउनुहुनेछ । यसर्थ, कृपया, तपाईं पनि कारणसहित आफ्नो ‘वर्ष इन्भर्टिबेट’ मनोनीत गरिदिनुस् । सर्टलिस्टमा हामी सबैभन्दा उत्तम एकलाई थप्नेछौँ । जसले जित्छ, त्यो महत्वपूर्ण हुनेछ । किनकि हामीले नोटिसमा लिन थाल्यौँ भने हामीले तिनलाई ध्यान दिनेछौँ, हाम्रो ग्रहमा हाम्रो साथमा फस्टाउने अनुमति दिनेछौँ । 

(बारखम गार्जियनमा प्राकृतिक इतिहासबारे लेख्छन्) 

ad
ad