१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डमा सडक निर्माण हुँदै । गुल्मीमा अहिले ४१ किलोमिटर सडक निर्माणको काम भैरहेको छ । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीमा सवा तीन अर्बको काम हुँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:१४:oo

तम्घास पश्चिममा चार पुल र सडकको काम सुस्त

मदन भण्डारी राजमार्गको ८९ किलोमिटर खण्ड पर्ने गुल्मीमा अहिले दुई खण्डमा ४१ किलोमिटर सडक र चार पक्की पुल निर्माणको काम हुँदै छन् । रिडी–तम्घास खण्ड र सिमलटारी–प्युठान खण्डमा दुई अर्ब ९३ करोड लगानीमा सडक निर्माणको काम भइरहेको छ । त्यस्तै, तम्घास–सिमलटारी खण्डमा १९ करोड २६ लाखभन्दा बढीका चार पुल निर्माणाधीन छन् । तर, निर्माण सम्झौता भएको लामो समय बित्दा पनि रिडी–तम्घास सडक खण्डबाहेकको काम सुस्त छ । 

जिल्लाको रुरु, छत्रकोट र मदाने गाउँपालिका क्षेत्रमा सडक निर्माणको काम अगाडि बढेको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका अनुसार पहिलो खण्ड रिडी–तम्घासअन्तर्गत रिडीदेखि छत्रकोट गाउँपालिको भोड्कासम्मको २५ किलोमिटर सडक निर्माण कार्य अगाडि बढेको छ । ०७९ फागुनमा समानान्तर–एलाइट जेभीले एक अर्ब ५० करोडको लागतमा निर्माण सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीकी सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन् । 

यो खण्डमा तीन वर्षभित्र कटिङ, नाली, स्ट्रक्चर, ग्राभेल र कालोपत्रेलगायतका काम गरिनुपर्ने सम्झौतामा उल्लेख छ । एक वर्षमा समानन्तर–एलाइट जेभीले २५ प्रतिशत काम गरेको छ । सूचना अधिकारी शर्माका अनुसार गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छीसम्मको ३० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ । 

यो खण्डको ३० किलोमिटरमध्ये गुल्मीमा सौतामारेसम्म १६ किलोमिटर पर्छ । श्रेष्ठ सक्षम जेभीले ०७९ कात्तिक महिनादेखि तीन वर्षमा काम सक्ने गरेर एक अर्ब ४३ करोडमा निर्माण कार्यको सम्झौता गरेका छन् । तर, अहिलेसम्म १७ प्रतिशत काम गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालय निर्माण व्यवसायीको कामबाट सन्तुष्ट छैन् । धेरैपटक पत्र पठाएर दबाब दिएपछि निर्माणस्थलमा काम भएको छैन ।

मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी खण्डमा चारवटा पक्की पुल निर्माण भइरहेका छन् । सम्झौताअनुसार निर्माण व्यवसायीले चारवटै पुल १८ देखि २० महिनाभित्र निर्माण गर्नुपर्थ्यो । तर, थपिएकै समयमा पनि काम हुने अवस्था नदेखिएपछि आयोजना कार्यालय र निर्माण व्यवसायीलाई चौतर्फी दबाब पर्न थालेको छ । सुनील–समीर निर्माण सेवाले २७ जेठ ०७९ मा हुलाके र धनार्जी खोलामा २५ मिटर लामो पुल निर्माणको ठेक्का पाएको छ ।

निर्माण कम्पनीले हुलाके खोला पुल पाँच करोड ७९ लाख र धनार्जी खोला पुल सात करोडमा निर्माणको सम्झौता गरेको छ । सम्झौताअनुसार हुलाके पुल २० महिनामा सम्पन्न गर्नुपर्ने हो । तर, गत २६ मंसिरमै पहिलो सम्झौता सकिए पनि बल्ल ३० प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति देखिएको मदनभण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । अहिले पुनः २७ जेठ ०८० सम्म म्याद थप भएको छ । 

त्यस्तै, धनार्जी पुल १८ महिनामा सक्नुपर्थ्यो । यो पुल ३५ मिटर लामो छ । पैसा पनि धेरै छ । तर, सोचेअनुसारको काम भएको छैन । यो पुलको गत २७ माघमा म्याद सकिएको छ । काम नसकिएपछि फेरि ७ कात्तिक ०८१ सम्म पुनः म्याद थप भएको छ । यो पुलको पनि ३० प्रतिशत भौतिक र २१ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्माण व्यवसायी बाबुराम थापाले कार्यालयले कामको भुक्तानी समयमै गरे आफूहरूले बर्खाअगाडि काम सक्ने बताए । तर, कामको अवस्थामा हेर्दा चित्तबुझ्दो नभएको स्थानीयको गुनासो छ । 

चार पुलमध्ये पन्थ निर्माण सेवाले फूलबारी र घमिर खोला पुलमा दुई पुल निर्माण गरिरहेको छ । निर्माण व्यवसायीले ११ जेठ ०७८ मा फूलबारी र घमिर खोला पुल निर्माणको सम्झौता गरेको छ  । आयोजना कार्यालय र निर्माण व्यवसायीबीच २० मिटर लामो फूलबारी खोला पुल तीन करोड ३२ लाख र १५ मिटरको घमिर खोला पुल तीन करोड १३ लाखमा निर्माण गर्ने सम्झौता छ  । 

दुवै पुल सम्झौता भएको मितिले १८ महिनामा काम सक्नुपर्थ्यो । तर, दुईपटक थपिएका म्याद सकिँदासम्म बल्ल ६५ प्रतिशत भौतिक र ३४ प्रतिशत वित्तीय प्रगति भएको मदन भण्डारी आयोजना कार्यालय गुल्मीका प्रमुख इन्जिनियर युवराज पोखरेलले जानकारी दिए । 

ad
ad