१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग: आमा जिराफको लात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o५:oo

कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झाडीबीच रोकियो । सबै उत्सुकतापूर्वक सो दृश्य हेर्न लागे । पोथी जिराफ निकै अग्लो थियो । जन्म लिँदै गर्दा उसको बच्चा लगभग १० फिटको उचाइबाट जमिनमा फ्यात्त खस्यो ।

खस्नासाथ उसले आफू आमाको काखमै भएजस्तो गरी आफ्ना खुट्टा खुम्च्यायो । बच्चालाई जन्म दिइसकेपछि आमा जिराफ बच्चालाई हेर्न थाल्यो । विद्यार्थीहरू पनि बडो उत्सुकतापूर्वक त्यतै हेर्दै थिए । अचानक आमा जिराफले बच्चालाई जोडले एक लात हिर्कायो । बच्चा जिराफ बसिरहेको स्थानबाट एक बल्ढ्याङ पल्टियो । 

सो दृश्यले विद्यार्थी झस्किए । उनीहरूले शिक्षकसित अनुरोध गरे– सर, तपाईं त्यो आमा जिराफलाई रोक्नुहोस् न । नत्र त त्यसले बच्चालाई मार्छ । शिक्षक केही बोलेनन् । उनले विद्यार्थीलाई शान्त रहेर हेरिरहन संकेत गरे र आफू पनि हेर्न थाले । बच्चा जमिनमा राम्ररी बस्न पनि सकिरहेको थिएन, आमा जिराफले फेरि उसैगरी अर्को लात हिर्कायो । आमाको दोस्रो लातपछि बच्चा जसोतसो अडिएर चार खुट्टाले उभियो । बिस्तारै यताउता गर्दागर्दै ऊ हिँड्न थाल्यो र एकैछिनमा आमासितै झाडीमा हरायो । 

विद्यार्थीले शिक्षकलाई पुनः प्रश्न गरे– सर, आमा जिराफले किन त्यसरी लात हान्यो ? बच्चालाई जे पनि त हुन सक्थ्यो नि ? शिक्षकले भने– जंगलमा सिंह, चितुवा, बाघजस्ता हिंस्रक जनावरको कमी छैन । यहाँ कुनै पनि जनावरको बच्चा कति छिटो आफ्नो खुट्टामा उभिएर दौडिन सक्छ, उसको जीवन त्यसैमा निर्भर हुन्छ । आमा जिराफले लात नहानेको भए सायद बच्चा अझै भुइँमै लडिरहेको हुने थियो र कुनै हिंस्रक जनावरको सिकार पनि हुन सक्थ्यो । 

भाइबहिनीहरू, यसैगरी बाबाआमाले पनि तपाईंहरूलाई हप्काउनुहुन्छ, सम्झाउनुहुन्छ र कहिलेकाहीँ पिट्नु पनि हुन्छ होला । तपाईंहरूलाई नराम्रो पनि लाग्छ होला । तर, उहाँहरूले तपाईंहरूलाई जीवनमा सक्षम बनाउन त्यसो गरिरहनुभएको हुन्छ । त्यसबाट तपाईंहरू निराश हुनुको साटो उत्साहित भएर अघि बढ्नुहोस् । सफलता तपाईंहरूको हातमा हुनेछ ।

ad
ad