१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पाटन मल्टिपल क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:३४:oo

पाटन मल्टिपल क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ। बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुई दिनसम्म चल्नेछ।

सम्मेलनको नेतृत्व क्याम्पसको अर्थशास्त्र विभागले गर्दै छ। आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्नुपर्ने महसुस गरिसकेकाले सोही आवश्यकता सम्बोधन गर्न अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको अर्थशास्त्र विभाग प्रमुख डा. रघुवीर विष्टले जानकारी दिए। 

अर्थशास्त्रको नयाँ पुस्ता, नीति निर्माण तहमा रहेको वर्ग, प्राज्ञिक र बौद्धिक वर्ग एउटा मञ्चमा उपस्थित भएर प्राज्ञिक सोध तथा अनुसन्धानबाट आर्जित ज्ञान सेयर गर्न सम्मेलन आयोजना गर्न लागिएको उनकाे भनाइ छ।

‘अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासनजस्ता नयाँ विषय जोडिएका छन्। कोभिड महामारी, क्षेत्रीय दण्द्वजस्ता गतिविधिले अध्ययनको नयाँ शिरालाई जन्म दिएका छन्,’ उनले भने, ‘यी घटनाले ठूला र साना अर्थतन्त्रमा गैरपरम्परागत प्रभाव पार्न थालेको छ। उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको छ।’

नेपालजस्तो जटिल र पृथक भूराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न सहज रहेको उनको भनाइ छ। स्थापनाको ६९ वर्षमा क्याम्पसले पहिलोपल्ट अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आयोजना गर्न लागेको हो।

सम्मेलन बिहीबार र शुक्रबार ललितपुर पुल्चोकमा अवस्थित होटेल स्क्वायरमा आयोजना हुँदै छ। जसमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहनेछ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आंगिक-सम्बन्धन प्राप्त क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहनेछ। 

सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन्, जुन दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रस्तुत हुनेछन्। सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफलमार्फत सहभागीले ज्ञान आर्जन गर्न सक्नेछन्। सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ।

सम्मेलनले विकासका नयाँ मुद्दामाथि गहन छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ। विकासको एजेन्डालाई नवसिर्जित मुद्दासँग अंगीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ।

विभागले जारी गरिएको प्रेस नोटमा भनिएको छ, ‘सघन छलफलको साझा मञ्च तयार पार्ने एउटा प्रयासको नेतृत्व गर्न पाउँदा यस पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभाग गौरवान्वित छ। संयुक्त राष्ट्र संघ खाद्य एवं कृषि संगठनको प्रमुख सहकार्यमा आयोजना हुने सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, नबिल बैंक, सानिमा बैंक तथा राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन्।’

ad
ad