१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o९:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अनुशासनको कारबाहीमा परेकालाई फुकुवा गर्ने कांग्रेसको तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:१८:oo

कांग्रेसले गत उपनिर्वाचनको मुखमा अनुशासनको कारबाहीमा परेका नेता/कार्यकर्ताको कारबाही फुकुवाको तयारी गरेको छ । १५ वैशाखमा इलाम २ र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले कारबाही फुकुवा गर्न लागेको हो । 

कांग्रेस अनुशासन समिति सदस्य सञ्जय गौतमले विगतका निर्वाचनमा बागी उम्मेदवार, पार्टीको आधिकारिक तथा गठबन्धनका उम्मेदवारलाई असहयोग गरेर कारबाहीमा परेकाहरूको विषयमा कारबाही फुकुवाका विषयमा समीक्षा भइरहेको जानकारी दिए । निर्वाचन प्रयोजनका लागि कांग्रेसले कारबाही फुकुवाका लागि छलफल चलाए पनि अहिलेसम्म टुंगोमा पुगिसकेको भने छैन । १५ चैतपछि बस्ने बैठकले यसबारेमा छलफल गर्ने गौतमको भनाइ छ ।

‘सत्तागठबन्धन फेरिएपछिको अवस्थामा पार्टी नेतृत्वसँगको समन्वयमा सबै विषयमा समीक्षा गरिरहेका छौँ,’ उनले नयाँ भने, ‘कारबाहीमा परेका साथीहरूलाई उपनिर्वाचन सच्चिने अवसर पनि हुनेछ ।’ दुई जिल्ला मात्रको कारबाहीको टुंगो लगाउने या देशभरको भन्ने विषय छलफलमै रहेको उनको भनाइ छ । अनुशासन समिति सचिव प्रेम केसीका अनुसार समितिमा देशैभरबाट परेका १३ सय उजुरी छानबिनका क्रममा छन् । जसमा केन्द्रीय सदस्यदेखि तल्लो तहसम्मका नेता कार्यकर्ता छन् । ‘समितिमा परेका उजुरी खोलेर हेरिसकिएको छ । प्रमाणमाथि छानबिन भइरहेका छन् । आवश्यक परेका प्रमाणका लागि सम्बन्धित जिल्ला कार्यसमितिमा लेखी पठाएका पनि छौँ,’ उनले भने । अनुशासन समितिले कारबाही सिफारिस गरेका केन्द्रीय सदस्यहरूमा काभ्रेका मधु आचार्य र गणेश लामा छन् । उनीहरूमाथि निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाही सिफारिस भएको छ, तर कारबाही भएको छैन ।

समितिका एक सदस्यका अनुसार कारबाही सिफारिस भएका केन्द्रीय नेताहरूको विषयमा प्रमाण पर्याप्त छैन । ‘उजुरी परेका कुनै पनि केन्द्रीयस्तरका नेताहरूको विषयमा प्रमाण पुगेको छैन । समिति बैठकले सोहीअनुसार निर्णय लिनेछ,’ ती सदस्यले भने । यसअघि कारबाहीमा परेका चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालालाई गत उपनिर्वाचनका क्रममा कारबाही फुकुवा गरिएको थियो । चितवन २, तनहुँ १ र बारा २ मा गत १० वैशाखमा उपनिर्वाचन भएको थियो । तत्कालीन समयमा कांग्रेसले तीन जिल्लाको मात्र कारबाही फुकुवाको निर्णय गरेको थियो । अनुशासन समितिको बैठक गत ७–१० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकपछि बस्न सकेको छैन । निर्वाचनको तयारी रहेको इलाम २ मा कांग्रेसबाट सातजनाको नाम सिफारिस भएको छ । 

ad
ad