१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २१ शुक्रबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पुर्ख्यौली पेसा संकटमा परेपछि विकल्प खोज्दै माझी समुदाय

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२६:oo

सदियौँदेखि रामेछापको कोशी किनारमा बसोवास गर्दै आएको माझी समुदायको पेसा लोप हुन थालेपछि युवापुस्ता वैकल्पिक पेसाको खोजीमा जुट्न थालेको छ । कोशीमा डुंगा तार्ने, माछा मार्ने र घरमा पारेको स्थानीय मदिरा चौतारोमा लगेर बिक्री गर्ने पेसा अहिले लोप हुन लागेपछि युवापुस्ता वैकल्पिक पेसातर्फ उन्मुख भएको हो ।

परम्परादेखि गर्दै आएको पेसा लोप हुनुको मुख्य कारण सडक निर्माण भएसँगै कोशी नदी र विभिन्न खोलामा मोटरेबल पुल निर्माण हुनु हो । पछिल्लो समय करेन्ट लगाएर अन्य समुदायका मानिसले माछा मार्न थालेपछि उनीहरू आफ्नो पेसाबाट विस्थापित हुन पुगेको मन्थली नगरपालिका– १ की मञ्जु माझीले जानकारी दिइन् । ‘पुर्खादेखि गर्दै आएको पेसा अब एकादेशको कथाजस्तो बन्ने भयो । माझी समुदायको मुख्य पेसा भनेको माछा मार्ने, डुंगा तार्ने थियो । अहिले कोशीमा माछा पाउन छाडेको छ । कोशीको ठाउँठाउँमा पक्की र झोलुङे पुल बनेका छन् । त्यसैले पहिला गर्दै आएको पेसा अब नहुने भएपछि सबैले नयाँ पेसाको खोजी गरेर काम सुरु गर्न लागेका हुन्,’ उनले भनिन् ।

पछिल्लो समय जलवायु परिवर्तनसँगै एकातिर हिमालमा हिउँ पर्न छाडेको छ भने अर्कोतर्फ पानी कम पर्दा पानीको सतह कम हुन थालेपछि कोशीमा माछा कम हुँदै गएको छ । कोशी किनारमा जताजतै इनार खन्नु, कोशीमा ठुल्ठूला डोजर लगाएर बालुवा निकाल्ने, कोशीको धार परिवर्तन गर्ने गर्दा पानी धमिलो भएका कारण माछा कम हुँदै गएको र जालमा समेत माछा पर्न छाडेपछि माझी समुदाय अन्य पेसातर्फ लागेको स्थानीय शुक्रे माझी बताउँछन् । 

माझी समुदाय खासगरी रामेछापको तामाकोशी, सुनकोशी, लिखु नदीको किनारमा बसोवास गर्दै आएका छन् । पहिला सडक निर्माण नहुँदा मानिसहरू गोरेटो बाटो पैदल हिँड्ने गर्दथे । पैदल हिँड्ने मानिसले पार्टी–चौतारामा बिक्री गर्न राखिएको स्थानीय मदिरा किनेर खाने गर्दथे । तर, अहिले सडक निर्माण भएसँगै गोरेटो बाटो हिँड्ने मान्छे यातायातका साधनमा हिँड्न थालेपछि माझी समुदायले बनाएको स्थानीय मदिरा बिक्री हुन छाडेको छ ।

अहिले माझी समुदायका युवापुस्ता आफ्नो परम्परागत पेसा छाडेर गाईपालन, तरकारी खेती, होटेल तथा पसल सञ्चालन, वैदेशिक रोजगारी, नेपाली सेना, प्रहरी र सरकारी कार्यालयमा काम गर्न थालेको नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्रबहादुर माझीले जानकारी दिए । ‘अब परम्परादेखि गर्दै आएको पेसा जोगाउन गाह्रो भयो ।

माझीको पेसा जोगाउन सरकारले कोशीमा करेन्ट लगाएर माछा मार्ने व्यक्तिलाई हदैसम्मको कानुनी कारबाही गरेर रोक लगाउन सके माझी समुदाय उक्त पेसातर्फ लाग्थे । अहिले करेन्ट लगाएर माछा सबै मारिदिएपछि कोशीमा हुने विभिन्न प्रजातिको जीवजन्तुसमेत नष्ट भएका छन् । माझीले कोशीमा पुल नहुँदा डुंगा तारेर भए पनि आफ्नो जीविका चलाउँदै आएका थिए । तर, अहिले ठाउँठाउँमा पुल बनेको छ । यसले पनि माझी समुदायको पेसा संकटमा परेको हो,’ उनले भने ।

ad
ad