७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन्। बदामको व्यापार गरेर महिनामा रु. १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन्।
४५ वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन्।
‘आफूले सकेको काम गर्नुपर्छ। धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ। गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु। बदाम बिक्रीबाट महिनामा रु. १५ दखि २० हजारसम्म आम्दानी हुन्छ,’ उनी भन्छिन्।
जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले बताइन्।
किसानबाट एक वर्षमा रु. चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताइन्। भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उनले बदाम बेच्दै आएकी छिन्। वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनीले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरिन्।
विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव छ।
गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका– ६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताए। पछिल्लो समय बदामको स्थानीय रैथाने बिउ मासिँदै गएको उनले बताए।