मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १० शनिबार
  • Saturday, 12 July, 2025
२o८o चैत १० शनिबार १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जन्मोत्सवको अवसरमा कैदीबन्दीको निःशुल्क रक्त समूह पहिचान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १० शनिबार १५:१९:oo

गुल्मीका एक व्यक्तिले आफ्नो ३७औँ जन्मोत्सवको अवसरमा जिल्ला कारागारका कैदीबन्दीको निःशुल्क रक्त समूह परीक्षण गराएका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष धुर्व पाण्डेयले कारागारका १०२ कैदीबन्दीको निःशुल्क रक्त समूह परीक्षण गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कारागारका हिमालविक्रम खत्रीको रक्त समूह परीक्षण गरी कार्ड प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा शर्माले रक्त समूह पहिचानले प्राकृतिक विपतको वेला ठूलो काम दिने भएकाले जन्मोत्सवको अवसरमा आयोजित उक्त कामको प्रशंसा गरे।

पाण्डेय लामो समयदेखि नेपाल स्वयंसेवी रक्तदाता समाज र व्यक्तिगत रूपमा थुप्रै सामाजिक काममा सक्रिय छन्। उनी आफैँले पनि १२ पटक रक्तदान गरेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय सदस्यसमेत रहेका पाण्डेयले कारागारका थुप्रै कैदीबन्दीहरूको पनि रगत दान गर्ने चाहना भएकाले जन्मोत्सवको अवसरमा रक्त समूह परीक्षणको व्यवस्था गरेको बताए। रक्त समूह पहिचानको सबै व्यवस्थापकीय तथा प्राविधिक खर्च पाण्डेयले नै व्यहोरेका छन्।

उनले जन्मजात मलद्वार नभएका रेसुंगा नगरपालिका– १४ पराल्मीका आशिष विकको उपचारमा समेत सहयोग गरेका छन्। विकको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ। विकको उपचारको लागि शनिबार आयोजित कार्यक्रममा कैदीबन्दीले १० हजार १८५ रुपैयाँ सहयोग गरेका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका ०७६ सालमा स्थापना भएको थियो। समाजले जिल्लामा रक्तदान गर्न अभिप्रेरित गर्ने, रक्तदान अभियानहरू सञ्चालन तथा दुर्लभ रगत भएकाहरूको पहिचान र समन्वय गरेर अस्पतालसम्म लैजानेलगायतका काम गरिरहेको छ। समाजले अहिलेसम्म १५ भन्दा बढी रक्तदान शिविर गरेर गुल्मी, पाल्पा र बुटवलका अस्पताल तथा ब्लड बैंकहरूमा उपलब्ध गराएको संस्थाका गुल्मी अध्यक्ष पाण्डेयले बताए।