१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
दीपेश पछाई लुम्बिनी
२o८१ जेठ ३ बिहीबार o९:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्तिको आह्वान

Read Time : > 2 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:१२:oo

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा १९ देशका गैरआवासीय राजदूत र ४५ देशका महावाणिज्य दूतहरूबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शान्ति र अहिंसाको शिक्षालाई कूटनीतिक शक्तिका रूपमा ग्रहण गर्नुपर्ने सन्देश प्रवाह

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्तिको आह्वान गरिएको छ । परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्य दूतहरूको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसिएन)ले संयुक्त रूपमा आयोजना गरेको ‘लुम्बिनी कन्क्लेभ’मा सहभागीले विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि गौतम बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रूपमा ग्रहण गर्नुपर्ने सन्देश दिएका हुन् ।  

लुम्बिनीमा दुई दिनसम्म चलेको सम्मेलनको अन्तिम दिन शुक्रबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा विश्वका १९ देशका नेपालका लागि गैरआवासीय राजदूत र ४५ देशका लागि नेपालका महावाणिज्य दूतहरूले शान्तिविना समृद्धि सम्भव नहुने भन्दै सबै देशलाई शान्तिका लागि आग्रह गरे । विभिन्न देशबाट नेपाल आएका राजदूतहरूले लुम्बिनीपरिसरमा विश्वशान्तिका लागि प्रार्थनासमेत गरे । 

कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले विश्वशान्तिका लागि बुद्धभूमि लुम्बिनीबाट पहल गर्न सकिने बताए । उनले बुद्वको शिक्षा वैज्ञानिक र व्यावहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनबाट विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल भएको बताए । ‘बुद्वले आफैँलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा र सन्देशको महत्व आजको विश्वमा झन् बढेर गएको छ,’ उनले भने, ‘भगवान् बुद्धको उपदेश बुद्धधर्म मान्नेका लागि मात्र होइन, सबै धर्म मान्नेका लागि उत्तिकै उपयोगी छ ।’ 

बुद्ध दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेसन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । उनले खुसी, शान्ति र सन्तुष्टिका साथ बाँच्नका लागि बुद्धको शिक्षा महत्वपूर्ण हुने बताए । बुद्धले ‘जबसम्म परीक्षण गरेर सत्य स्थापित हुँदैन, तबसम्म विश्वास नगर’ भनेको सन्दर्भ उल्लेख गर्दै उनले बुद्ध जन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा खुसी लागेको बताए ।

पर्यटनमन्त्री हितबहादुर तामाङले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र सन्देश फैलाउने विश्वास लिए । उनले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताए  ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान दिने बताए । विश्वमा देखिएको द्वन्द्व समाधान गरी सहिष्णुता बढाउन बौद्ध दर्शनले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो । उनले भने, ‘बुद्धको शिक्षा र सन्देश विश्वभर फैलाउन सकेमा शान्ति, करुणा, सद्भाव कायम गर्न सकिने विश्वास छ ।’

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनबारे प्रकाश पारे । पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावनाबारे आफ्नो विचार राखेका थिए । बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वमा बढ्दै गएको द्वन्द्व र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपाल (एचसिसिएन)का डिन विष्णुकुमार अग्रवालले बताए । उनले भने, ‘यहाँहरूको उपस्थिति र योगदानले बुद्धलाई सम्मान मात्र गरेको छैन, शान्तिपूर्ण र समृद्ध विश्व बनाउन पहलकदमी पनि भएको छ ।’ एचसिसिएनले सरकार र सम्बन्धित देशबीच पुलका रूपमा काम गर्नुका साथै प्रविधि स्थानान्तरण, व्यापार–व्यवसाय विस्तारलाई विस्तार गर्न भूमिका निर्वाह गर्दै आएको छ । 

सम्मेलनमा सहभागी नेपालका लागि गैरआवासीय राजदूत
सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मौरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका थिए ।

बिहीबार दिउँसो लुम्बिनी आएका उनीहरू बुटवलमा रहेको लुम्बिनी केबलकारको भ्रमण र शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनी आएर सम्मेलनमा सहभागी भएका हुन् । नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायत विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सहसंयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । 

ad
ad